सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

प्रतिनिधिसभा निर्वाचनको समीक्षा गर्दै उज्यालो नेपालले संगठन विस्तार र आगामी चुनावी तयारी तीव्र बनाउने

जलसरोकार
आइतबार, चैत ०१, २०८२ | १४:५९:०३ बजे

काठमाडौं : उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचन-२०८२ को समग्र समीक्षा गर्दै अब संगठन विस्तार, सदस्यता अभिवृद्धि, डिजिटल अभियान र आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनको तयारीलाई तीव्र बनाउने निर्णय गरेको छ।

पार्टीले फागुन २९ र ३० गते केन्द्रीय कार्यालयमा दुई दिने विशेष समीक्षा कार्यक्रम आयोजना गरी निर्वाचनको अनुभव, आगामी राजनीतिक कार्यदिशा र संगठनात्मक पुनर्संरचनाबारे विस्तृत छलफल गरेको जनाएको छ। 

पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार, प्रदेश तथा जिल्ला संयोजकसहित विभिन्न तहका नेता-कार्यकर्ताको सहभागिता रहेको थियो।

पार्टीका अनुसार पहिलो दिन उम्मेदवार, प्रदेश संयोजक र जिल्ला संयोजकबीच भएको छलफलमा निर्वाचनका क्रममा प्राप्त अनुभव, मतदाताको मनोविज्ञान, जनसम्पर्कको स्वरूप, प्रचारप्रसारका चुनौती, संगठन विस्तारका सम्भावना तथा छोटो समयमा निर्माण भएको राष्ट्रिय उपस्थितिबारे समीक्षा गरिएको थियो। सहभागीहरूले सीमित समय, न्यून स्रोतसाधन र प्रारम्भिक संगठनात्मक अवस्थाका बाबजुद पार्टीले देशव्यापी रूपमा सम्मानजनक मत प्राप्त गरेको भन्दै त्यसलाई भविष्यको राजनीतिक आधारका रूपमा लिनुपर्ने धारणा राखेका थिए।

दोस्रो दिन केन्द्रीय समिति सदस्यहरूबीच भएको छलफलमा पहिलो दिनका निष्कर्ष प्रस्तुत गर्दै पार्टीलाई थप व्यवस्थित, वैचारिक रूपमा स्पष्ट, संगठनात्मक रूपमा सुदृढ र जनतासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय मूलधारको शक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो। बैठकले सचिवालय, विभाग, आयोग, सल्लाहकार समिति, प्रवास समिति तथा प्रदेशदेखि स्थानीय तहसम्मका संरचनालाई दिगो, कार्यमुखी र व्यवस्थित बनाउने दिशामा काम अघि बढाउने निष्कर्ष निकालेको छ।

बैठकमा प्रशिक्षण, वैचारिक एकरूपता, साझा सन्देश प्रवाह, डिजिटल उपस्थिति सुदृढीकरण, मिडिया परिचालन, युवा तथा महिला सहभागिता वृद्धि, समावेशी प्रतिनिधित्व, सदस्यता विस्तार, आर्थिक सुदृढीकरण तथा जनआधारित अभियानलाई तीव्रता दिने विषयमा पनि सहमति जुटेको पार्टीले जनाएको छ। सहभागीहरूले उज्यालो नेपाल पार्टीलाई केवल चुनावी शक्तिका रूपमा मात्र नभई जनविश्वास, सुशासन, समृद्धि र सामाजिक न्यायको दीर्घकालीन राजनीतिक अभियानका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष कुलमान घिसिङले प्राप्त जनमतलाई हारका रूपमा नभई भविष्यको राजनीतिक यात्राको आधारका रूपमा लिनुपर्ने बताएका छन्। चुनौतीपूर्ण परिस्थितिमा पनि पार्टीले देशभर उल्लेखनीय सद्भाव, विश्वास र जनसमर्थन प्राप्त गरेको उल्लेख गर्दै उनले अब यही आधारमा संगठन विस्तार, सदस्यता वृद्धि, डिजिटल अभियान र स्थानीय जनसम्पर्कलाई तीव्र पारिने बताएका छन्।

घिसिङले उज्यालो नेपाल पार्टी कुनै जाति, क्षेत्र वा समूह विशेषको नभई सम्पूर्ण नेपाली जनताको साझा, समावेशी र जिम्मेवार राजनीतिक विकल्प भएको दाबी गरे। उनले पार्टीप्रति विश्वास राखी मतदान गर्ने मतदाता, उम्मेदवार, नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त, अनुशासित, जनमुखी र परिणाममुखी ढंगले अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन्।

बैठकले समीक्षा कार्यक्रमबाट प्राप्त सुझाव र निष्कर्षका आधारमा देशव्यापी संगठन सुदृढीकरण, जनतासँग निरन्तर संवाद, विकासमुखी एजेन्डा निर्माण, रचनात्मक खबरदारी तथा मूलधारको राष्ट्रिय राजनीतिक शक्ति निर्माणतर्फ अघि बढ्ने निर्णय गरेको छ। साथै, निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गराउन भूमिका निर्वाह गरेको वर्तमान सरकारलाई धन्यवाद दिने, राष्ट्रिय स्वतन्त्र पार्टीलाई ऐतिहासिक सफलताका लागि बधाई दिने तथा आगामी सरकारलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्ने निर्णय पनि गरेको पार्टीले जनाएको छ।

प्रकाशित मिति : आइतबार, चैत ०१, २०८२ | १४:५९:०३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया