सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

जलसरोकार
आइतबार, चैत १५, २०८२ | ०९:४५:५७ बजे

 

काठमाडौँ : बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज (चैत १५) अन्तिम दिन रहेको छ । कम्पनीले चैत १ गतेदेखि उक्त आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले जारी पूँजी १ अर्ब ४ करोड रुपैयाँको २० प्रतिशत अर्थात २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको छ। त्यसमध्ये १० करोड ४० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ दरका १० लाख ४० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको हो ।

उक्त शेयरमध्ये ५ लाख २० हजार कित्ता शेयर आयोजनाको अति प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का स्थायी बासिन्दालाई वितरण गरिनेछ । त्यस्तै ३ लाख १२ हजार कित्ता वडा नं. ५, ६, ७ र ११ का बासिन्दालाई तथा २ लाख ८ हजार कित्ता सोलुखुम्बु जिल्ला का अन्य क्षेत्रका स्थायी बासिन्दामा बाँडफाँट गरिने व्यवस्था छ ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीलाई जारीकर्ता रेटिङ्ग प्रदान गर्दै इक्रा नेपाल ले ‘इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस’ दिएको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीले सञ्चालन गरेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलुखोला जलविद्युत आयोजना को कुल अनुमानित लागत ३ अर्ब ८५ करोड ५१ लाख ७५ हजार २७ रुपैयाँ २० पैसा रहेको छ । आयोजनाको प्रतिमेगावाट लागत करिब १९ करोड ४७ लाख रुपैयाँ रहेको छ। आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अझै २४ वर्ष बाँकी रहेको जनाइएको छ ।

कम्पनीका अनुसार उक्त आयोजनामा लगानी फिर्ता हुने साधारण अवधि ५.७८ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ८.१५ वर्ष रहेको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्ड बाट सि–आस्बा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। साथै एनएमबि बैंक को सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंक को सल्लेरी शाखा, ग्लोबल आइएमई बैंक को सोलुखुम्बु शाखा तथा प्राइम कमर्सियल बैंक को नेचा सल्यान शाखाबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले शेयर खरिदका लागि दरखास्त फाराम लिन २ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : आइतबार, चैत १५, २०८२ | ०९:४५:५७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया