स्नो रिभर्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
जलसरोकार
काठमाडौं : स्नो रिभर्स लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख २९ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो ।
स्नो रिभर्सले जारी पूँजी ९३ करोड ७५ लाख रुपैयाँको २० प्रतिशत बराबर १८ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये ९ लाख ३७ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीयलाई तथा ९३ हजार ७५० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकिएको छ ।
यस्तै, ४६ हजार ८७५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र १८ हजार ७५० कित्ता शेयर कर्मचारीका लागि छुट्याएर बाँडफाँट गरिसकेको कम्पनीले जनाएको छ ।
अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ७ लाख ७८ हजार १२५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम १० कित्ता र अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
कम्पनीलाई इक्रा नेपालले ‘आईक्रा एनपी जारीकर्ता मूल्याङ्कन डबल बी प्लस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने जनाइएको छ ।
स्नो रिभर्सले १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला ‘ए’ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाको कुल लागत २ अर्ब ७१ करोड ९० लाख ८५ हजार रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २० करोड १४ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै ३१ वर्ष २ महिना बाँकी छ । साधारण लगानी फिर्ता हुने अवधि ८.१७ वर्ष तथा डिस्काउन्ट गरिएको लगानी फिर्ता अवधि १५.७७ वर्ष रहेको उल्लेख गरिएको छ ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य