सानिगाड हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
जलसरोकार
काठमाडौं : सानिगाड हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि शेयर निष्काशन गरेको हो।
कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ। यसमध्ये २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दा तथा ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकिएको छ।
त्यसैगरी, १ लाख ७१ हजार कित्ता शेयर कर्मचारीका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
हाल कम्पनीले सर्वसाधारणका लागि बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको छ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका यी शेयरको कुल निष्काशन रकम ४६ करोड ७४ लाख रुपैयाँ बराबर रहेको छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
कम्पनीलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ‘इक्रा एनपी इश्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।
सानिगाड हाइड्रोले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार आयोजनाको विद्युत् उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष तथा डिस्काउन्टेड पेब्याक अवधि १४.६९ वर्ष रहेको छ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै