सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार नीति तथा कार्यक्रम
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

जलसरोकार
सोमबार, वैशाख २८, २०८३ | ०९:३५:२९ बजे

 

काठमाडौं : बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड (बीएनएचसी) ले निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (बैशाख २८ गते) अन्तिम दिन रहेको छ। कम्पनीले चैत २२ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत अर्थात १ कित्ता शेयर बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता शेयरमार्फत कुल ४० करोड रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा ल्याइएको छ।

हकप्रद निष्काशन प्रयोजनका लागि कम्पनीले फागुन १ गते बुकक्लोज गरेको थियो। त्यसअनुसार माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

हकप्रद निष्काशनका लागि गरिएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल ले कम्पनीलाई ‘आईआरएन डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालयसहित कम्पनीको पानीपोखरी, महाराजगञ्जस्थित कार्यालय, नुवाकोटको थप्रेकस्थित जलविद्युत् गृह तथा एनआईसी एशिया बैंकका विराटनगर, वीरगञ्ज, नारायणघाट, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखाबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत तथा मेरो शेयर प्रणाली प्रयोग गरेर अनलाइनमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ४० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ।

हकप्रदबाट संकलित रकम आयोजना सञ्चालनका लागि लिइएको बैंक ऋणको आंशिक भुक्तानीमा प्रयोग गरिने कम्पनीले जनाएको छ। हाल कम्पनीको सिद्धार्थ बैंक, माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक र कुमारी बैंक मा गरी कुल ९६ करोड ९० लाख ९१ हजार ६०९ रुपैयाँ ऋण बाँकी रहेको छ। हकप्रदबाट प्राप्त रकम प्रयोगपछि उक्त ऋण घटेर ५६ करोड ९० लाख ९१ हजार ६०९ रुपैयाँमा झर्नेछ।

 

प्रकाशित मिति : सोमबार, वैशाख २८, २०८३ | ०९:३५:२९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया