याम्बालिङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
जलसरोकार
काठमाडौं : याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले वैशाख १६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (वैशाख २२ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको सेयर बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ खुला गरेको हो।
कम्पनीले जारी पूँजी ७० करोड रुपैयाँको ४० प्रतिशत बराबर २८ लाख कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये ७ लाख कित्ता स्थानीय बासिन्दा र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँट गरिसकेको छ। त्यस्तै, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोष र ४२ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो।
हाल कम्पनीले दोस्रो चरणमा १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको हो। यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।
आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयरएनपी डबल बी माइनस” इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरेको ७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत् आयोजनाको कुल अनुमानित लागत १ अर्ब ८७ करोड रुपैयाँभन्दा बढी रहेको छ। प्रतिमेगावाट लागत २५ करोड रुपैयाँभन्दा बढी रहेको यस आयोजनाको विद्युत् अनुमतिपत्र अझै २५ वर्ष ६ महिना बाँकी रहेको छ।
आयोजनाको साधारण लगानी फिर्ता अवधि १०.७६ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १९.८७ वर्ष रहेको छ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखामार्फत ‘सी–आस्बा’ प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य