सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का ग्लोबल आइएमई बैंक नेपाल विद्युत प्राधिकरण नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

महाकाली पुल र बस्ती बचाउन तटबन्धकाे काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

जलसरोकार
बिहीबार, पुस ०३, २०८२ | १०:१८:४१ बजे

 

कञ्चनपुर : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको महाकाली पुल र त्यस आसपासको बस्तीलाई जोगाउन नदी किनार संरक्षणको काम तत्काल अगाडि बढाउनुपर्ने बताए ।

महाकाली पुल र नदीले कटान गरेको क्षेत्रको स्थलगत अवलोकनका क्रममा मन्त्री घिसिङले तटबन्ध निर्माणसम्बन्धी हाल देखिएको अन्यौल तत्काल निरुपण गरी काम अघि बढाउन निर्देशन दिए । आगामी वर्षायामअघि काम सम्पन्न गर्न नसकिए महाकाली नदीमा आउने बाढीबाट पुल तथा नदीको बायाँ किनारतर्फको बस्ती जोखिममा पर्ने सम्भावना रहेको उनले उल्लेख गरे ।

मन्त्री घिसिङले तटबन्ध व्यवस्थापनको काम तत्काल सुरु गर्न सडक विभाग र महाकाली पुल योजना व्यवस्थापनलाई निर्देशन दिएका छन् । महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भई सञ्चालनमा आइसकेको छ, जसले दोधारा–चाँदनी नगरपालिकालाई सडक सञ्जालसँग जोड्नुका साथै निर्माणाधीन सुख्खा बन्दरगाहलाई समेत लक्षित गरेको छ ।

बाढीबाट पुललाई जोगाउन मन्त्रिपरिषद्को २०८२ जेठ ६ गतेको निर्णयअनुसार महाकाली पुल आसपास नदीको बीच भागमा जम्मा भएको नदीजन्य पदार्थ हटाई व्यवस्थापन तथा बाढीजन्य विपद् न्यूनीकरणका लागि अस्थायी नदी नियन्त्रणको काम नेपाली सेनामार्फत गराइएको थियो । त्यस क्रममा निर्माण गरिएका संरचना अस्थायी प्रकृतिका भएकाले थप सवलीकरण आवश्यक रहेको जनाइएको छ ।

पुलबाट माथिल्लो तटीय बायाँ किनारमा सेनाले करिब तीन सय मिटर क्षेत्रमा निर्माण गरेको अस्थायी संरचनाको सवलीकरण गर्नुपर्ने भएकाले त्यस कार्यलाई तत्काल अघि बढाउन मन्त्री घिसिङले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । महाकाली पुल योजना व्यवस्थापनले सवलीकरण कार्यको डिजाइनसमेत तयार गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : बिहीबार, पुस ०३, २०८२ | १०:१८:४१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया