नेपालमा पछिल्लो समय उद्योग स्थापना त परै जाओस् भएका उद्योगहरु समेत बन्द भएका उदाहारणहरु कयौं छन् । राजनीतिक अस्थिरता, कोरोना महामारी, आर्थिक मन्दी आदि कारणले उद्योगीहरु उद्योग खोल्न होइन, भएका उद्योगहरु पनि कसरी हुन्छ बेचेर पलायन हुने अवस्थामा व्यापारीहरु पुगेका छन् । मुख्यतः नेपालमा राजनीतिक अस्थिरताकाबीच उद्योग सञ्चालन गर्नु, यसबाट नाफा कमाउनु र यसबाट रोजगारी सिर्जना गर्नु नेपालको हकमा निकै चुनौतीको विषय हो । यिनै चुनौतीको बीचमा पनि एउटा त्यस्तो उद्योग पनि छ जुन यस्ता कयौ समस्याहरुसँग जुध्दै करिब ४ हजार नेपालीलाई रोजगारी प्रदान गरी उत्पादित सामान विश्वका ठूला देशहरुमा बिक्री गर्दै आइरहेको छ ।
सुनसरीको खनार १२ मा करिब २५ बिघा जग्गामा फैलिएको रिलायान्स स्पिनिङ मिल्स नेपालको त्यस्तो उद्योग हो जुन नेपालमा मात्रै होइन विदेशमा समेत विश्वस्तरीय धागो तथा कपडा मार्फत आफ्नो बलियो उपस्थिति जनाइरहेको छ । रिलायन्सका उत्पादन भारत, बंगलादेश, टर्किए लगायतका आधा दर्जन देशहरुमा निर्यात हुँदै आएको छ ।
२०५१ सालमा दर्ता भइ २०५४ सालबाट उत्पादन सुरु गरेको उद्योगले बीचमा धेरै उतारचढाव भोग्यो ।
नेपालको राजनीतिक अस्थिरता छँदै थियो त्यसमाथि भर्खरै सुरु भएको माओवादीको सशस्त्र द्वन्द्व, जनशक्ति अभाव, बिजुली लगायतका समस्या प्रमुख थियो ।
माओवादी द्वन्द्वबीच उद्योग सञ्चालन गर्नु खोज्नु तत्कालीन समयमा मूर्खता नै थियो । आफूले सुरु गरेको सशस्त्र युद्धमा सहयोग गर्न माओवादीले उद्योगीहरुलाई अनिवार्य नै गरेको थियो, चन्दा नदिए भौतिक कारबाहीमा परिने डरले पनि कतिले त उद्योग बेचे हिँडे भने कति त्यसै छाडेर पलायन भए । तर, यस्तो जटिल परिस्थितिमा समेत रिलायन्स भने टिकिरह्यो अर्थात रिलायन्सको धागो चुँडिएन, क्रमशः लामो हुँदै गयो र लम्बिरहेको छ ।
रिलायन्स आज ३० वर्षको भयो र हजारौ परिवारको पेट पालिरहेको छ । रिलायन्सकै तथ्यांक हेर्दा आज ३ हजार ८२८ जना कामदारले ३ सिफ्टमा काम गर्छन । जसमा १५०० जना महिला छन् । नेपालीहरुको बढ्दो विदेश मोहले उद्योगमा कामदारको अभाव भने भइरहन्छ । कामदार अभाव हुन नदिन रिलायन्सले सीटीइभीटीसँगको सहकार्यमा ३ महिने कोर्षसमेत बनाएर तालिम दिँदै आएको छ ।
‘पछिल्लो समय नेपालमा मान्छे बस्नै नचाहने अवस्था आएको र यसले रिलायन्समा समेत कामदारको अभाव हुन थालेपछि यसको समाधानको लागि हामीले यही तालिमको व्यवस्था गरेका हौं’ रिलायन्स स्पिनिङ मिल्सका जनशक्ति व्यवस्थापन प्रमुख एवं उपाध्यक्ष महेश पोखरेल भने ।
रिलायन्समा विभिन्न स्रोतबाट तालिममा आएका श्रमिकहरु आएकै दिनदेखि तलब, बस्ने ठाउँ आदिको व्यवस्था हुन्छ । तीन महिनाको तालिम सकिएपछि आफूले तालिम लिएको काम गर्न सकिन्छ । ८ घण्टाको सिफ्ट सकिएपछि उद्योगसँगै जोडिएको साढे २ बिघा जग्गामा रहेको रिलायन्सको मनोरञ्जन गर्ने व्यवस्था समेत छ । ‘काम सँगै अतिरिक्त क्रियाकलाप पनि गर्नुपर्छ भनेर हामीले साढे २ बिघा जग्गा लिएर खेलकुद गर्ने व्यवस्था मिलाएका छौं,’ पोखरेल भन्छन्, ‘कामसँगै मनोरञ्जन हाम्रो लागि अत्यावश्यक कुरा हो । यसले श्रमिकमा थप ऊर्जा पैदा गर्छ ।’
बच्चा भएका आमाहरु काममा गएको बेला बच्चा हेर्ने ‘चाइल्ड केयर सेन्टर’को समेत व्यवस्था गरेको छ । ‘काममा भएको बेला बच्चा कहाँ राख्ने यसको व्यवस्थापनको लागि हामीले चाइल्ड केयर सेन्टरको व्यवस्था गरेका हौं’ पोखरेलले भने । काम गर्दा कोही श्रमिक साधारण बिरामी परेमा तत्काल रिलायान्समै रहेका डाक्टर उपस्थित हुन्छन् । ‘उद्योगमा काम गर्ने जनशक्ति धेरै छन् त्यसकारण दुर्घटना वा बिरामी परेका श्रमिकलाई तत्काल उपचार होस् भनेर डाक्टर उपलब्ध गराएका हौं,’ पोखरेलले भने, ‘महिनाबारीको समस्यामा परेका महिलाहरुको लागि हामीले ‘फ्रि स्यानिटरी भेण्डिङ मेसिन’ राखेका छौं । ’
उद्योगमा काम गर्ने श्रमिक एवं कामदारका छोराछोरी इटहरी, विराटनगर जुनसुकै स्थानमा रहेको विद्यालयमा पढ्न चाहे सोही स्थानसम्मको लागि बसको समेत व्यवस्था गरेको रिलायन्सको दाबी छ । बाहिर र भित्रबाट हेर्दा निकै फरक लाग्छ रिलायन्स । बाहिरबाट हेर्दा अग्लो पर्खाल र फलामे गेटले जेल जस्तो देखिने उद्योग भित्रको वातावरण हेरेपछि प्रायले नेपालमा यस्तो उद्योग पनि छ है भन्ने आभाष दिलाउँछ । वातावरण मैत्री उद्योग, कर्मचारीको लागि छुट्टै आवास, बगैचा, क्यान्टिन, सफा शुद्घ पानी, बैंक लगायतका सुविधा रिलायन्स स्पिनिङ मिल्समा पाउन सकिन्छ ।
सर्वसाधारणलाई सेयर बिक्री गर्दै
रिलयान्सले सर्वसाधरणमा समेत आफ्नो सेयर जारी गर्न लागेको छ । कम्पनीले ११ लाख ५५ हजार ९६० कित्ता सेयर प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा निर्धारण गरी ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँको सेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । असार २७ गतेदेखि वैदेशिक लगानीमा गएकाहरुको लागि खुला गर्ने भनिएपनि हाल लेखा समितिले आईपीओमा कैफियत देखाएपछि धितोपत्र बोर्डले हाललाई प्रक्रिया स्थगित गरेको छ । आईपीओ निकाल्नुअघि कम्पनीको बारेमा विभिन्न नकारात्मक समाचारहरु बनेपनि त्यस्तो नरहेको पोखरेल बताउँछन् । ‘हाम्रो कम्पनीको ९ महिनाको विवरण हेरेर समाचारहरु बनेका छन् । यसको मूख्य कारण भनेको विद्युत् बिजुली कटौती हो,’ उनी भन्छन्, ‘पुषदेखी असारसम्म झण्डै २७ प्रतिशत समय कटौती भएको छ । यो भनेको १०० किलो उत्पादन हुने ठाउँमा ७३ किलो मात्रै उत्पादन हुनु हो ।’
वर्षायामसँगै बिजुली उत्पादन नियमित हुँदा अब डिजेलको प्रयोग घट्दै जाने हुँदा अबको तीन/चार महिना कम्पनीको उत्पादन निकै बढ्ने पोखरेल दाबी गर्छन ।
छतमा ९.२ मेगावाटको सोलार राख्दै
बिजुली कटौतीले उत्पादनमै समस्या गरेपछि रिलायन्सले त्यसको विकल्प खोजेको छ । कम्पनीले उद्योगको छतमा सोलार प्यानल जडान गरी त्यसबाट उत्पादित ऊर्जाका माध्यमबाट उद्योग सञ्चालनको तयारी गरेको छ । ‘बिजुलीको समस्या उच्च भएपछि हामीले त्यसको विकल्पको रुपमा सोलारको प्रयोग गर्ने गरी काम सुरु गरेका छौं,’ पोखरेलले भने, ‘अबको तीनदेखि ६ महिनाभित्र ९.२ मेगावाट सौर्य ऊर्जा उत्पादन गरी त्यसलाई उद्योग सञ्चालनमा लगाइने छ ।’
समस्या
रिलायन्सको मूख्य समस्या भनेको बिजुली हो । हाल औषतमा २७ प्रतिशत बिजुलीको कटौती हुँदा यसले उत्पादनमा ठूलो समस्या सिर्जना गरेको छ । पूर्वी क्षेत्रमा प्रसारण लाइनको समस्याका कारण हिउँद लाग्नसाथ बिजुली कटौतीको मार उद्योगहरुले खप्नुपरेको पोखरेल बताउँछन् । हाल उद्योगमा १४ मेगावाट बिजुली जडान गरिएको छ तर नेपाल विद्युत् प्राधिकरणले नियमित बिजुली दिन सकेको छैन । विशेषगरी हिउँद सुरु हुने बित्तिकै बिजुलीको समस्या हुने गरेको छ । बिजुली ट्रिपिङको समस्या त छँदैछ त्यसमाथि कामदारको अभाव हुँदा उद्योगले भनेजति उत्पादन गर्न सकेको छैन । रिलायन्सले आफ्नै उद्योगमा तालिम दिएर काममा लगाएपनि कतिपयले बीचमै छाडेर जाने गरेका छन् । ‘धेरैको विदेश मोहले गर्दा काम गर्ने मान्छेको अभाव छ । हामीले आफैले तालिम दिएर काममा लगाएपनि कतिपयले बीचमै छाड्दा समस्या हुने गरेका छन्’ पोखरेलले भने ।
तस्वीर : दिपेन्द्र श्रेष्ठ/जलसरोकार
किन सोधे ऊर्जामन्त्रीले कुलमानलाई १५ बुँदे प्रष्टीकरण ? (भिडियो)
सरकारको एकसय दिन : विद्युत् बिक्री सम्झौतादेखि निर्माणाधीन आयोजनालाई गति दिने प्रयास
“केन्द्रीय लाइनको विद्युत् सुविधाले सुगम बन्दै गाउँ
ऊर्जामन्त्रीले बोलाएको बैठक विना निष्कर्ष टुंगियो, कुलमान र उद्योगीहरूको अडान कायमै
२७ वर्षदेखि खानेपानी योजना अधुरै
सौर्य विद्युत् परियोजनामा कर्जा लगानीसम्बन्धी सम्झौता