देशभरका यी सडक वर्षाका कारण प्रभावित
जलसरोकार
काठमाडौं : लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् भने केही सडकखण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालयले आज बिहान ९ बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट, रोल्पा, पाल्पा र मकवानपुरका विभिन्न सडकखण्ड वर्षाका कारण प्रभावित भएका छन्।
काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको छ।
मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेक अन्य सार्वजनिक तथा निजी सवारीसाधनको राति १० बजेदेखि बिहान ५ बजेसम्म आवागमन बन्द गरिएको छ।
इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जमेर मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको जनाइएको छ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेको तथा सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ। गोसाइँकुण्ड गाउँपालिका–२ स्याउपार्किङमा पहिरो खसेपछि पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, रोल्पाको थवाङ गाउँपालिका–२ लाद्रेमा आज बिहान पहिरो खसेपछि सहिद राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरीका अनुसार सडक अवरुद्ध भएका स्थानमा अझै पहिरो तथा बाढीको जोखिम कायम रहेकाले यात्रुले अवस्था बुझेर मात्र यात्रा गर्नुपर्नेछ। प्रहरीले आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न तथा जोखिमयुक्त सडकखण्डमा सावधानी अपनाउन आग्रह गरेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा २८ सय बढ्यो, चाँदी १० रुपैयाँले घट्यो
-
नागरिकलाई भार पर्ने गरी लगाएको करविरुद्ध देशभर हस्ताक्षर अभियान चलाउने कुलमान घिसिङको घोषणा
-
देशभरका यी सडक वर्षाका कारण प्रभावित
-
सुनसरी–मोरङ सिँचाइ प्रणालीको दीर्घकालीन समाधान खोज्न मन्त्री श्रेष्ठको निर्देशन
-
लालुपाते हाइड्रोपावर कम्पनीद्वारा विद्यार्थीलाई ट्र्याक सुट वितरण
-
आजको मौसम : देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान