असारे खर्चको परम्परा कायमै, आर्थिक वर्षको अन्तिम महिनामै २ खर्ब १८ अर्बभन्दा बढी बजेट खर्च
जलसरोकार
काठमाडौं : आर्थिक वर्षको अन्तिम समयमा बजेट खर्च गर्ने पुरानो प्रवृत्ति यस वर्ष पनि दोहोरिएको छ। चालु आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको झण्डै ११ प्रतिशत खर्च असार महिनामा मात्र भएको तथ्याङ्कले देखाएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजित १९ खर्ब ६४ अर्ब ४१ करोड रुपैयाँमध्ये हालसम्म १२ खर्ब १२ अर्ब ८ करोड ८७ लाख रुपैयाँ अर्थात् ७९.०४ प्रतिशत बजेट खर्च भएको छ। यस अवधिमा तीन जना अर्थमन्त्रीले बजेट कार्यान्वयनको जिम्मेवारी सम्हाले पनि खर्चको परम्परागत ढाँचा भने परिवर्तन हुन सकेन।
सरकारले आर्थिक वर्षको अन्तिम सातामा बजेट खर्च गर्न नपाइने व्यवस्था गरेपछि महालेखा नियन्त्रक कार्यालयले बिहीबारदेखि नयाँ भुक्तानी रोक लगाएको छ। यससँगै सरकारी खाता एक साताका लागि बन्द भएको छ।
चालु आर्थिक वर्षमा पुँजीगत खर्चको अवस्था भने कमजोर देखिएको छ। कुल ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ पुँजीगत बजेटमध्ये १ खर्ब ८१ अर्ब ५६ करोड ४१ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल विनियोजनको ४४.५१ प्रतिशत हो।
यता चालुतर्फ भने ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएकोमा १० खर्ब ४२ अर्ब ८४ करोड ८९ लाख रुपैयाँ खर्च भएको छ। यो कुल चालु बजेटको ८८.३० प्रतिशत हो।
त्यस्तै वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ विनियोजन गरिएकामा ३ खर्ब ४० अर्ब ७२ करोड ३९ लाख रुपैयाँ अर्थात् ९०.८० प्रतिशत खर्च भएको छ।
असारमै २ खर्ब १८ अर्ब खर्च
तथ्याङ्कअनुसार जेठ मसान्तसम्म कुल बजेटको ६९.५६ प्रतिशत मात्र खर्च भएको थियो। तर असार महिनामा मात्रै २ खर्ब १८ अर्ब ४८ करोड ३० लाख रुपैयाँ खर्च भएसँगै कुल खर्च ७९.०४ प्रतिशत पुगेको हो। अर्थात् एक महिनामै कुल बजेटको ११.१३ प्रतिशत खर्च गरिएको छ।
पुँजीगत खर्चतर्फ असारे खर्च अझ बढी देखिएको छ। जेठ मसान्तसम्म १ खर्ब ३२ अर्ब ६६ करोड ७७ लाख रुपैयाँ अर्थात् २३.५३ प्रतिशत मात्र पुँजीगत खर्च भएको थियो। असार महिनामा मात्रै थप ४८ अर्ब ८९ करोड ६४ लाख रुपैयाँ खर्च हुँदा पुँजीगत खर्चको हिस्सा उल्लेख्य रूपमा बढेको छ।
चालुतर्फ पनि असार महिनामा १ खर्ब ३४ अर्ब ५८ करोड ८ लाख रुपैयाँ खर्च भएको छ। जेठ मसान्तसम्म चालुतर्फ ९ खर्ब ८ अर्ब २६ करोड ८१ लाख रुपैयाँ खर्च भएको थियो।
अन्तिम दिनमै ३३ अर्बभन्दा बढी खर्च
सरकारी खाता सञ्चालन हुने अन्तिम दिन बिहीबार मात्रै ३३ अर्ब १६ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ। यसमध्ये १८ अर्ब ३९ करोड ७ लाख रुपैयाँ पुँजीगततर्फ, १२ अर्ब ४२ करोड ५ लाख रुपैयाँ चालुतर्फ र २ अर्ब ३४ करोड ४२ लाख रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
सरकारले वर्षको अन्त्यमा हुने असारे खर्च नियन्त्रणका लागि विभिन्न नीतिगत व्यवस्था गरे पनि आर्थिक वर्षको अन्तिम समयमा ठूलो परिमाणमा बजेट खर्च हुने प्रवृत्ति अझै कायम रहेको देखिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से सामान्य अंकले घट्यो, कारोबार रकम ६ अर्ब ८६ करोड नाघ्यो
-
ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह
-
असारे खर्चको परम्परा कायमै, आर्थिक वर्षको अन्तिम महिनामै २ खर्ब १८ अर्बभन्दा बढी बजेट खर्च
-
विद्युत सेवा सुधार र ग्राहक सन्तुष्टिमा ध्यान दिन ऊर्जा मन्त्री श्रेष्ठको निर्देशन
-
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
अपर म्याग्दी–१ जलविद्युत् आयोजनाको माटो थुपार्दा नदी कटान र पहिरो बढेको स्थानीयको गुनासो