हाइड्रोपावर समूहको बलियो साथ पाएपछि दोहोरो अंकले बढ्यो शेयर बजार
जलसरोकार
काठमाडौँ : अघिल्लो दिन १०५ अंकले घटेर दबाबमा परेको नेपाली शेयर बजार सोमबार भने उल्लेख्य रूपमा उकालो लागेको छ। दोस्रो बजार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ८३.३३ अंकले बढेर २,७६० अंकमा पुगेको छ।
कारोबारका क्रममा दिउँसो २ः३३ बजे नेप्से ९८ अंकसम्म बढ्दै २,७७५ अंक सम्म पुगेको थियो, जुन आजको कारोबार अवधिको उच्चतम बिन्दु रह्यो।
अघिल्लो दिन बजार उच्च अंकले घटेपछि आज बिहान स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीसँग भेटवार्ता गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले बजारमा अनावश्यक त्रास फैलाइएको बताएका थिए। उनले आगामी बजेट रुपान्तरणकारी हुने र बजारलाई थप पारदर्शी बनाउने दिशामा सरकार अघि बढिरहेको भन्दै लगानीकर्तालाई आत्तिनु नपर्ने संकेत दिएका थिए।
आजको कारोबार रकम भने केही घटेको छ। अघिल्लो दिन १२ अर्ब ३८ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १० अर्ब ९२ करोड रुपैयाँको कारोबार भएको छ।
कारोबार भएका कम्पनीमध्ये २६४ कम्पनीको शेयर मूल्य बढेको, ४ कम्पनीको घटेको र १ कम्पनीको मूल्य स्थिर रहेको छ।
सबै उपसमूहका सूचक उकालो लागेका छन्। हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.५९ प्रतिशत बढेको छ भने फाइनान्स ४.०३ प्रतिशत ले वृद्धि भएको छ। त्यस्तै बैंकिङ ३.१८, विकास बैंक ३.६३, होटल तथा पर्यटन ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन तथा प्रशोधन १.५३, माइक्रोफाइनान्स २.४३, निर्जीवन बीमा २.९४, अन्य २.३६ तथा व्यापार समूह २.४० प्रतिशतले बढेका छन्।
आज ८ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ। ती कम्पनीमा उपकार लघुवित्त, रिडी पावर, नेसनल हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेस्ट इन रहेका छन्।
त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक को शेयर मूल्य ९.८८ प्रतिशत, शिवश्री हाइड्रोपावर ९.५५ प्रतिशत र हिमाल दोलखा हाइड्रोपावर ९.१८ प्रतिशतले बढेको छ।
अघिल्लो दिन १० प्रतिशतले बढेको रिलायन्स स्पिनिङ मिल्स मा भने आज बिक्री चाप बढेको छ र कम्पनीको शेयर मूल्य १.६० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपी पावर र रिडी पावर रहेका छन्।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य