रसुवागढीको बाढी चेतावनी हो: हिमतालको जोखिम र अनुसन्धानको खाँचो


मेरो लेखको सुरुवात डा. रञ्जनकुमार दहालका पङ्क्ति सापटी लिँदै “हाम्रा हिमाली नदी किनार सुरक्षित छैनन्, सजग बन्नु बाहेक हामीसँग अर्को उचित विकल्प छैन” बाट गर्न चाहन्छु । यो वास्तविकता हो । तर, यस वास्तविकताभित्र केही अक्षम प्रश्नहरू जस्तै— हाम्रा हिमाली नदी किनारहरू कत्तिको असुरक्षित छन्, असुरक्षाका प्रमुख कारणहरू के-के हुन् वा हुन सक्छन्, र तिनीहरूबाट सुरक्षित हुने उपायहरू के-के हुन् त भन्ने आउँछन् । प्रश्न सुन्दा साधारण लाग्न सक्छन् तर तिनीहरूका उत्तर दिनुभन्दा पहिले ती क्षेत्रहरूको गहन अध्ययन हुन जरुरी छ । त्यसैले प्रश्न साधारण लागे पनि तिनीहरूका उत्तर त्यति सजिलो छैन ।
सामाजिक सञ्जालबाट नै हामीलाई ज्ञात भइसकेको छ कि यस जटिल समस्याको केन्द्रबिन्दुमा हिमनदीहरू र तिनीहरूका कारणले निर्माण भएका हिमतालहरू छन् । हिमतालहरूको विस्फोटन एक साधारण प्राकृतिक प्रक्रिया हो, पृथ्वी तात्दै जाँदा यो प्रक्रियामा वृद्धि हुनु पनि साधारण प्राकृतिक नियम नै हो । झन्, जलवायु परिवर्तनका कारण हिमनदीहरूको पग्लिने क्रममा वृद्धि हुनु, हिमतालहरूको क्षेत्रफलका साथै तिनीहरूमा पानीको परिमाणमा वृद्धि हुनु, र यसबाट हिमताल फुट्ने जोखिममा नाटकीय रुपमा वृद्धि हुनु सामान्य कुरा नै हो । तर, यसभित्रको विज्ञान हिमालय क्षेत्रको लागि एक गहन अनुसन्धानको विषय बन्नुपर्दछ । आजसम्म विभिन्न प्राविधिक व्यक्ति वा संस्थाहरूले यी हिमाली श्रृङ्खलाहरूको भ्रमण गरे पनि यसको राम्रो जानकारीका लागि आवश्यक अध्ययन अनुसन्धान केवल नक्साङ्कन, रेखाङ्कन र अनुमानमा मात्र सीमित रहेको बुझिन्छ । र गुणस्तरीय प्राविधिक अनुसन्धान विना हिमतालहरूले हामीलाई बेला-बेलामा छक्याइराख्ने पक्का छ जस्तो लाग्छ मलाई ।
हिमतालहरूको आकार र साइजमा व्यापक वृद्धि भएर हिमनदीहरूले थुपारेको मोरेनको बाँधमाथिबाट पानी बग्न थालेपछि, वा हिमतालहरू माथि रहेका भीषण चट्टानहरू अकस्मात् हिमतालमा खस्दा आउने तरङ्गहरूका कारण हिमतालको पानी छचल्किएर मोरेनमाथिबाट बग्दा हुन सक्ने हिमतालहरूको विस्फोटन सामान्य रूपमा बुझ्न गाह्रो हुँदैन । तर सुप्राग्लेशियल तालहरू आफैंमा अलि जटिल हुन्छन् र तिनीहरूको साइजमा मौसम अनुसार तलमाथि हुनु, वा गर्मीको मौसममा जमिनमाथि प्रकट हुनु वा जाडोको मौसममा विलिन हुनु साधारण भौगोलिक प्रक्रिया भए पनि तिनीहरूको विस्फोट पनि अलि जटिल भौगोलिक प्रक्रिया हुन्छ । यस्तो जटिल भौगोलिक प्रक्रियाको अध्ययन इञ्जिनियरिङ जियोक्लायोलोजीको आधारमा गर्दा तथ्यको नजिक पुग्न अलि सजिलो हुन्छ जस्तो लाग्छ मलाई । किनभने सुप्राग्लेशियल हिमतालहरू हिमनदीको सबैभन्दा चिसो रहने माथिल्लो भागमा अवस्थित हुन्छन् भने गर्मीको मौसममा तातो वायुसँग एकातर्फ करिब-करिब शून्य तापक्रममा रहेको हिमतालको पानीको सतह र शून्यभन्दा केही कम तापक्रम रहेको हिमतालको वरिपरिको हिमपर्खाल (बाँध)— बाँधको पोखरीपट्टिको भागमा— एकआपसमा जोडिएका हुन्छन् । हिमतालको पानी र तुलनात्मक रूपमा तातो वायुले हिमपर्खाल पगाल्ने कोसिस गर्छन् भने हिमतालको पानीको करिब-करिब शून्य डिग्री सेल्सियसमा भएका कारण हिउँ पगाल्न खर्च हुने लेटेन्ट ऊर्जा (ताप) प्रदान गर्न वायुको तातोपनाले मात्र प्रदान गर्दा हिमपर्खालको स्खलन एकदमै धीमा गतिमा भइरहेका हुन्छन् । वायुको तातोपनाको सम्पर्क हिमतालको पानीसँग पूरै हिमतालको क्षेत्रफलमा हुने भएकाले हिमतालको माथिल्लो भागको पानी केही तातो हुन जान्छ, र यो सतहको तातो पानीले गर्दा सतहको नजिकको हिमपर्खाल केही स्खलित भए पनि पूर्ण स्खलित हुने सम्भावना न्यून हुन्छ । तर, यो प्रक्रियाले हिमपोखरीको सतहभन्दा माथिको हिमपर्खाल तातो वायु र तातो पानीका कारण पग्लिन जाँदा हिमपोखरीको क्षेत्रफलमा नाटकीय रूपमा वृद्धि हुन सक्छ ।
त्यसैले, यस्तो सुप्राग्लेशियल तालको विस्फोट हुन तालको पानीको सतह मुनि विद्यमान हुन सक्ने छिद्रहरू, वा अघिल्ला गर्मी महिनामा नै पग्लिएर जाडोमा जमेका (वा हिमपर्खालसँग जोडिएको पानीको भाग जम्नाले सतही रूपमा इम्परमिएबल अवस्थामा रहेका छिद्रहरू) बाट हिमतालको पानी बग्न सके, पानीको वहावका कारण पाइपिङ समेत हुन सक्ने वा पाइपिङका कारण ठूला-ठूला क्याभिटीहरूसमेत बन्न सक्ने भएकाले सुरुमा तालको पानीको साधारण वहावबाट सुरु भई अन्त्यमा ठूलो भेल बग्दा सो भेलका कारणले हिमताल विस्फोट हुन सक्ने देखिन्छ । तर, तालको पानीको सतहमुनि तालको पानी चिसो हुने भएकाले तालको पानीले नै हिमपर्खाललाई स्खलन हुनबाट जोगाएको हुन्छ । तर, प्रत्येक वर्ष स्खलन हुने र जाडोको याममा फेरि जोडिने प्रक्रिया धेरै पटक दोहोरिँदा हिमपर्खाल कमजोर हुँदै जान्छ र अन्त्यमा यो स्खलनको बिन्दुमा पुग्दछ । यो त भयो सुप्राग्लेशियल हिमतालबाट पानी निकास हुने प्रक्रिया ।
यसरी सुप्राग्लेशियल हिमताल विस्फोट भई हिमनदीमाथिबाट वा हिमनदीको छेउबाट अत्यन्त ठूलो वेगमा पानी बग्दा सो पानीले हिमतालको हिउँ तथा सो हिमतालको नजिक रहेका मोरेन प्रकारका ग्राभेल-ड्रिफ्ट (गेग्र्यान)हरूलाई स्खलन गराई तलबाट बग्ने नदीमा प्रवाहित हुँदा तल बग्ने नदीमा भीषण बाढी आउन सक्छ । अझ मोरेन प्रकारका ग्राभेलहरूभित्र साविकमा हुने बरफ पग्लेर धेरै छिद्र सहितको मोरेनको क्षयशक्ति अत्यधिक हुने भएकाले त्यसबाट पानी वहँदा सो मोरेन अत्यधिक रूपमा स्खलन हुन्छ, र सो ग्राभेलले हिमनदीबाट तल बगेको पानीको भू-स्खलन गर्ने शक्ति अत्यधिक रूपमा बढाउँछ र त्यसले जतितल गयो उति बढी भू-स्खलन गराउँछ । जस्तै, ४०० मिटर माथि अवस्थित सुप्राग्लेशियल हिमताल विस्फोटन भई ४०० मिटर तल रहेको नदीमा पुग्दा सो पानीको गति करिब ९० मिटर प्रतिसेकेन्ड वा करिब ३२० किलोमिटर प्रतिघण्टासम्म हुन सक्छ । यस्तो वेगले बहने पानीको भू-स्खलन गर्न सक्ने क्षमता अत्यधिक हुने भएकाले यस्ता नदीबाट सर्वसाधारणले टाढै रहनु उचित हुन्छ ।
तर, यस्ता सुप्राग्लेशियल तालहरूको संख्या नेपाल हिमालय तथा नेपालभित्र आउन सक्ने चीनमा अवस्थित तालहरूको संख्या अत्यधिक रहेको, यस्ता सुप्राग्लेशियल तालहरूमा पानीको आयतन, क्षेत्रफल गर्मीको याममा अत्यधिक बढ्ने गरेको मात्र नभई सुप्राग्लेशियल तालहरूको संख्यामा नै वृद्धि हुने गरेकोले यस्ता सुप्राग्लेशियल तालहरूबाट हुन सक्ने जोखिममा असिमित वृद्धि भएको अनुमान गर्न सकिन्छ । तर, यस्ता जोखिमपूर्ण सुप्राग्लेशियल तालहरूको अध्ययन नेपालमा केवल भौगोलिक पहिचान, संख्या तथा तिनीहरूले ओगटेको भूभागमा मात्र सीमित हुने गरेको भन्ने जानकारी सामाजिक सञ्जालमा उपलब्ध सामग्रीहरूबाट प्राप्त भएकोले यसमा थप वैज्ञानिक अध्ययन अनुसन्धान गर्न राज्य तथा समाज चनाखो हुनुपर्ने मेरो धारणा छ । यस कार्यमा नेपाल सरकार र चीन सरकार वा चीन सरकारको स्वामित्वको चिनियाँ वैज्ञानिक प्रतिष्ठानहरू (Chinese Academy of Sciences) तथा नेपालका विश्वविद्यालयहरूले चिनियाँ विश्वविद्यालयहरूसँग सहकार्य गरी आवश्यक अध्ययन अनुसन्धान गर्न जरुरी देख्छु । हिमतालहरूको अध्ययनमा ICIMOD ले गरेको कार्य सराहनीय भएको भए पनि माथि उल्लेख गरिएका वैज्ञानिक अध्ययन अनुसन्धान र सो अध्ययन अनुसन्धानबाट प्राप्त हुन सक्ने उपलब्धिहरूले हिमतालहरूबाट हुने जोखिम कम गर्न सक्ने भएकाले यस्ता विषयहरूमा समेत आगामी दिनहरूमा ICIMOD सक्रिय हुनेछ भन्ने मेरो विश्वास छ ।
अन्त्यमा, डा. दहालको माथि उद्धृत गरिएको निष्कर्षलाई पुनः दोहोर्याउँदै आगामी दिनहरूमा गरिने वैज्ञानिक अनुसन्धानहरूले नेपाल र तमाम हिमाली क्षेत्रका बासिन्दाहरूले भोगेको हिमतालहरूबाट हुने जोखिम तात्विक रूपमा कम गर्न मद्दत मिल्नेछ भन्ने विश्वास लिएको छु ।
जय नेपाल, जय विज्ञान...
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
ठूला पूर्वाधार निर्माणका लागि वैकल्पिक वित्त परिचालन गरिने : अर्थमन्त्री पौडेल
-
बाढीबाट अवरुद्ध ९० मेगावाट जलविद्युत् आयोजना पुनः सञ्चालनमा : मन्त्री खड्का
-
पूर्व प्रधानमन्त्री देउवा भन्छन् ‘ऊर्जा विकासका लागि निजी क्षेत्र अपरिहार्य, सहजीकरणमा सरकार दृढ’
-
सेवन्तक पोखरेलले लिए बीमा प्राधिकरणको अध्यक्ष पदको शपथ
-
‘इप्पान ऊर्जा ज्योति सम्मान-२०८२’ बाट ऊर्जा विज्ञ प्रबल अधिकारी सम्मानित
-
सेयर बजारमा सबै सूचक हरियाली, नेप्से ३४ अंकले उकालो