सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नेपाल विद्युत प्राधिकरण ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

शीतलहरले दाउन्ने खण्ड अझै असहज, तीन दिनदेखि नारायणगढ–बुटवल सडकमा सवारी जाम

जलसरोकार
बुधबार, पुस १६, २०८२ | १३:१४:२३ बजे

 

काठमाडौं  : गत सोमबारदेखि अवरुद्ध रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र अझै सहज रूपमा सञ्चालन हुन सकेको छैन । शीतलहरका कारण सडक चिप्लो र हिलाम्य बनेपछि सवारीसाधन सञ्चालनमा समस्या देखिँदा यो खण्डमा आवागमन प्रभावित भएको हो ।

दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि यो खण्ड अस्तव्यस्त बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

“दाउन्नेको पश्चिम खण्डमा शीतलहरका कारण सडक चिप्लो र हिलो हुँदा सवारीसाधन उकालो चढ्न तथा ओरालो झर्न नसक्ने अवस्था आएको छ,” उनले भने, “विस्तारै सवारी पास गराउने प्रयास भइरहे पनि तीन दिनदेखि रोकिएका सवारीसाधन व्यवस्थापन गर्न कठिन भइरहेको छ ।”

दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारी सञ्चालनमा अत्यधिक कठिनाइ भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीले बताए । “अहिले पनि दुम्कीवास बजारदेखि नै सवारीसाधनको लामो जाम रहेको छ,” उनले भने,“सडक निर्माणका कारण राजमार्ग एकतर्फी रहेकाले जाम खुलाउन झनै समस्या भइरहेको छ ।”

नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव कायम रहेकाले पश्चिम खण्डमा सवारी चाप अत्यधिक बढेको बताए । “हाल खुर्सानी खोला क्षेत्रमा ग्राभेल हाल्ने काम भइरहेको छ,” उनले भने,“अवस्था पूर्ण रूपमा सहज नहुँदासम्म मालवाहक सवारीसाधनलाई बर्दघाट र भुताहा क्षेत्रमा रोकेर राखिएको छ ।”

तीन दिनदेखि जारी सवारी जामका कारण सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड)ले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

आयोजनाका अनुसार दाउन्ने खण्डमा एकातर्फ सडक निर्माण तथा मर्मतको काम र अर्कोतर्फ शीतलहरका कारण सडक हिलाम्य बनेपछि सवारीसाधन सञ्चालनमा गम्भीर समस्या देखिएको हो ।

प्रकाशित मिति : बुधबार, पुस १६, २०८२ | १३:१४:२३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया