शीतलहरले दाउन्ने खण्ड अझै असहज, तीन दिनदेखि नारायणगढ–बुटवल सडकमा सवारी जाम
जलसरोकार
काठमाडौं : गत सोमबारदेखि अवरुद्ध रहेको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्र अझै सहज रूपमा सञ्चालन हुन सकेको छैन । शीतलहरका कारण सडक चिप्लो र हिलाम्य बनेपछि सवारीसाधन सञ्चालनमा समस्या देखिँदा यो खण्डमा आवागमन प्रभावित भएको हो ।
दाउन्नेस्थित खुर्सानी खोला आसपासको सडकमा सवारीसाधन चिप्लिने र उकालो चढ्न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि यो खण्ड अस्तव्यस्त बनेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
“दाउन्नेको पश्चिम खण्डमा शीतलहरका कारण सडक चिप्लो र हिलो हुँदा सवारीसाधन उकालो चढ्न तथा ओरालो झर्न नसक्ने अवस्था आएको छ,” उनले भने, “विस्तारै सवारी पास गराउने प्रयास भइरहे पनि तीन दिनदेखि रोकिएका सवारीसाधन व्यवस्थापन गर्न कठिन भइरहेको छ ।”
दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु र चिप्लो सडकका कारण सवारी सञ्चालनमा अत्यधिक कठिनाइ भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक विनोद जोशीले बताए । “अहिले पनि दुम्कीवास बजारदेखि नै सवारीसाधनको लामो जाम रहेको छ,” उनले भने,“सडक निर्माणका कारण राजमार्ग एकतर्फी रहेकाले जाम खुलाउन झनै समस्या भइरहेको छ ।”
नारायणगढ–बुटवल सडक योजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर विकास खनालले निर्माणाधीन क्षेत्रमा शीतलहरको प्रभाव कायम रहेकाले पश्चिम खण्डमा सवारी चाप अत्यधिक बढेको बताए । “हाल खुर्सानी खोला क्षेत्रमा ग्राभेल हाल्ने काम भइरहेको छ,” उनले भने,“अवस्था पूर्ण रूपमा सहज नहुँदासम्म मालवाहक सवारीसाधनलाई बर्दघाट र भुताहा क्षेत्रमा रोकेर राखिएको छ ।”
तीन दिनदेखि जारी सवारी जामका कारण सयौँ यात्रु बाटोमै अलपत्र परेका छन् । नारायणगढ–बुटवल सडक योजना (पश्चिम खण्ड)ले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
आयोजनाका अनुसार दाउन्ने खण्डमा एकातर्फ सडक निर्माण तथा मर्मतको काम र अर्कोतर्फ शीतलहरका कारण सडक हिलाम्य बनेपछि सवारीसाधन सञ्चालनमा गम्भीर समस्या देखिएको हो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
कालंगा हाइड्रोको आईपीओ ४९ लाख शेयर सर्वसाधारणका लागि जारी
-
विद्युत् प्राधिकरणमा वर्षौंदेखि थन्किएको २४ लाखभन्दा बढी धरौटी रकम लिन ३५ दिने समयसीमा
-
देशभित्र बिजुली खपत बढाउने कुरा नारा होइन, राज्य-क्षमताको परीक्षा हो
-
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढ्यो
-
विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण
-
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी