जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऊर्जा उत्पादकहरुलाई प्रधानमन्त्री भने – संरक्षण, समन्वय, सहजीकरण र सहायता गर्न सरकार तयार छ, लगानी गर्नुस्

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ

जलसरोकार
शुक्रबार, जेठ ०४, २०८१ | ११:११:१९ बजे

 

काठमाडौं– हाइड्रो एक्स्पो र लगानी सम्मेलनले नेपालमा लगानीको वातावरण बनेको भन्दै लगानीकर्ता ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आग्रह गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल, (इप्पान)को २२ औं वार्षिक साधारण सभाका अवसरमा बोल्दै दाहालले  सरकारले संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागिड प्रतिबद्ध रहेको बताए । 

कुनै बेला दैनिक १६ घण्टाको चरम लोडसेडिङको अवस्थामा रहेको मुलुकमा अहिले वर्षायाममा विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको छ, यसमा पनि निजी क्षेत्रको भूमिका प्रशंसनीय भन्दै नेपाल समृद्धिको यात्रामा अघि बढेको बताए । ‘नेपाल सरकारको तर्फबाट म प्रष्ट पार्न चाहन्छु, तपाईहरू ढुक्क भएर ऊर्जा आयोजनामा लगानी गर्नुस्, तपाईहरूका लागि संरक्षण, समन्वय, सहजीकरण र सहायताका लागि सरकारले सम्भव भएसम्म सहयोग गर्नेछ ’ उनले भने । 

नेपालमा ऊर्जा उत्पादन सुरू भएको ११३ वर्ष पुगेको छ । १९६८ साल जेठ ९ गते पहिलोपटक फर्पिङ जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन भएको थियो । यस अवधिमा ३२ सय मेगावाट ऊर्जा उत्पादन भएको छ, यसमध्ये निजी क्षेत्रबाट  २४ सय मेगावाट ऊर्जा उत्पादन भएको छ । देशको विकास र समृद्धिको यात्रामा यो निकै ठूलो उपलब्धी रहेको भन्दै यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । 

अहिले निजी क्षेत्रले ३ हजार मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको र करिब २० हजार मेगावाट बराबरका आयोजना निर्माणको विभिन्न चरणमा रहेका छन्, यसले समेत निजी क्षेत्रको ऊर्जा विकासको भूमिका र महत्वलाई दर्शाएको दाहालले बताए ।  

‘हामीले छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ । त्यसैगरि भारतको ग्रीडलाइन हुँदै बंगलादेशसँग विद्युत् व्यापार गर्ने सम्झौतामा समेत हस्ताक्षर भएको छ,’ उनले भने, ‘मेरो कार्यकालमा यति महत्वपूर्ण सम्झौता गर्ने अवसर मिलेको छ । यो नेपालको जलविद्युत् क्षेत्रको इतिहासमा मात्र नभएर समृद्धिको यात्रा सङ्कल्प र अभियानका दृष्टिले समेत ऐतिहासिक सफलता हो, ऐतिहासिक उपलब्धी पनि हो ।’ 

बिजुली निर्यातको दीर्घकालीन सम्झौता ऊर्जा विकासका लागि कोशेढुंगा सावित हुने यसले ऊर्जा विकासका लागि ढोका खुलेको दाहालको भनाइ छ । छिमेकी मुलुक भारत मात्र होइन, अर्को छिमेकी मुलुक बंगलादेशले समेत नेपालको बिजुली आयात गर्ने गरी प्रक्रिया बढाइसकेको उनले बताए । ‘छिमेकी मुलुकहरूमा बिजुली निर्यातका लागि मात्र होइन, स्वदेशभित्रै विद्युत् खपतका लागि समेत धेरै योजना र कार्यक्रम अघि बढाइरहेका छौँ । 

पेट्रोलियम पदार्थको आयात घटाउँदै जाने र विद्युतीय उपकरण र सवारीसाधनलाई प्रोत्साहन गरी विद्युत्को खपत बढाउँदै जाने सरकारको योजना छ,’ दाहालले भने, ‘तसर्थ, देशको विकास र समृद्धिका निम्ति सबैभन्दा महत्वपूर्ण र सम्भावनायुक्त क्षेत्र विद्युत् नै हो भन्ने वैचारिक स्पष्टताका साथ सरकारले काम गरिरहेको छ ।’ 

लगानी प्रवर्धनमा बाधक देखिएका ऐनहरू अध्यादेशमार्फत् संशोधन गरिएका कारण पनि अब लगानीका लागि दुविधा राख्नुपर्ने परिस्थितिको अन्त्य भएको उनको भनाइ छ । यस क्रममा निजी क्षेत्रले उठाउँदै आएका कतिपय मागहरू सम्बोधन भएका छन् । बाँकी मागहरूलाई समेत क्रमशः सम्बोधन गरिँदै दाहालले बताए । 

‘तपाईहरूले वर्षामा बिजुली खेर जाने समस्याबारे कुरा उठाउनुभएको छ । विष्फोटक पदार्थको समस्या पनि राख्नुभएको छ । बाढी पहिरो प्रभावितलाई सहुलियतमा भएको ढिलाइबारे पनि कुरा गर्नुभएको छ । विभिन्न कारणले आयोजनाको व्यापारिक उत्पादन मिति पछाडि सरेको र यसको म्याद थपबारे पनि कुरा राख्नुभएको छ,’ दाहालले भने,‘निजी क्षेत्रलाई बिजुली व्यापारमा संलग्न गराउने कुरा पनि कुरा उठाउनुभएको छ । यी अधिकांश कुरा मेरो स्मरण र नोटिसमा छन् । मैले यसलाई गम्भीर रूपमा लिएको छु । 

सम्बन्धित निकायहरूसँग आवश्यक परामर्श गरी के–कति सम्बोधन गर्न सकिन्छ, नेपाल सरकारको तर्फबाट त्यसका लागि पहल गरिने विश्वास पनि दिलाउन चाहन्छु ।’
सरकार नीतिगत, कानुनी, संस्थागत, संरचनागत र कार्यशैलीमा देखिएका समस्या समाधान गर्ने काममा सरकार लागेको र भर्खरै मात्र प्रस्तुत भएको नेपाल सरकारको नीति तथा कार्यक्रममा समेत निजी क्षेत्रलाई पर्याप्त सम्बोधन गर्ने दाहालले बताए ।

 

प्रकाशित मिति : शुक्रबार, जेठ ०४, २०८१ | ११:११:१९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया