लगानी सहजीकरण र सुरक्षित गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री


नवलपरासी – नेपालमा उद्योग स्थापना गर्दा स्वदेशी विद्युत् खपत एवं विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक सहयोग पुग्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ले बताएका छन् । उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध भन्दै दाहालले उद्योग स्थापना गरेर विद्युत् खपत समेत बढाउन सकिने बताए। आर्थिक विकास गरेर देशलाई अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको दाहालले बताए । नवलपरासीमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने भन्दै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
‘निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सबल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्,’ प्रधानमन्त्री दाहालले भने, ‘देशभित्र लगानीको वातावरण निर्माण गर्न, निजी क्षेत्रलाई प्रवर्द्धन गर्न, लगानीका क्षेत्रहरूको सुरक्षा र सहजीकरणका निम्ति सरकार हरदम साथमा छ ।’
नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कूल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ ।
‘हाम्रा वित्तीय र मौद्रिक नीतिहरू नियन्त्रणमुखी होइन, प्रवर्द्धनमुखी हुनुपर्दछ’ प्रधानमन्त्रीले भने, ‘ती नीति–नियमहरूले उत्पादन र रोजगारी प्रवर्द्धनमा योगदान गर्न सक्नुपर्दछ ।’ उनले सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गरे ।
‘भर्खरै मात्र तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । लगानीको पूर्वसन्ध्यामा अध्यादेश नै ल्याएर सरकारले महत्त्वपूर्ण ऐनहरू संशोधन गरेको छ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले लगानीका क्षेत्रहरूमा देखिएका समस्याहरू सम्बोधन गर्दै आन्तरिक एवं बाह्य लगानीलाई प्रोत्साहित र प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ ।’
लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने सङ्केत गरेको दाहालको भनाइ छ ।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
प्राधिकरणमा गाडीको चरम दुरुपयोग, सञ्चालकलाई अनधिकृत र पाँच तहकी आफ्नी पीएलाई पनि गाडी
-
ग्लोबल आइएमई क्यापिटलको ‘समुन्नत योजना २’ म्युचुअल फन्ड असार २२ गतेदेखि निष्कासनमा
-
‘ऊर्जा सम्मेलन २०२५’ आगामी असोज १ र २ मा
-
ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह
-
मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना
-
सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो