जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

विद्युत्‌ले फेरेको बिच्छ्याँको मुहार

धर्मलाल सुनार
शुक्रबार, वैशाख १२, २०८२ | १२:२८:०४ बजे

 

काठमाडौं: ‘झरो बाल्दाबाल्दै जीवन बित्यो,‘ बाजुराको दुर्गम गाउँ बिच्छ्याँका ६५ वर्षीय दिपलाल बुढा भन्छन्, ‘अब बल्ल बल्ल गाउँमा बिजुली बल्यो ।’

दिपलाल, बाजुराको सुदूर हिमाली गाउँ बिच्छ्याँका हुन् । यो गाउँका स्थानीयले पुस्तौंदेखि झरोको धुवाँमा आँखा पोल्ने, दमले सास फेर्न गाह्रो हुने जीवन चलाउँदै आएका थिए ।

तर अहिले गाउँ झिलिमिली छ । अन्धकारको लामो यात्रापछि पहिलोपटक बिच्छ्याँ गाउँमा विद्युत पुगेपछि दिपलालजस्ता स्थानीयहरु खुसी छन् ।

बिच्छ्याँ भन्नेबित्तिकै कहिल्यै सेवा नपुग्ने, अवसर नपुग्ने र सरकारबाट बिर्सिएको भूगोल सम्झिन्थे सबैले । तर अहिले, त्यही गाउँका ६ सय ८२ घरधुरीमा पहिलोपटक विद्युतको उज्यालो छरेको छ ।

धिरकला सुनारको अनुहारमा चमक छ । उनी भन्छिन्, ‘अब साँझ परेपछि झरो बटुल्नुपर्दैन, मोबाइल चार्ज गर्न पनि सहज भयो ।’

विद्युत् पुगेसँगै गाउँलेहरूको दिनचर्या मात्रै बदलिएको छैन, जीवनका प्राथमिकता र सपना पनि फेरिएको छ ।

२०८० मंसिर ५ गते निर्माण सुरु गरिएको एक सय किलोवाट क्षमताको ‘नातीखोला लघु जलविद्युत् आयोजना’ अहिले गाउँको परिवर्तनको मुख्य सूत्र बनेको छ ।
हालसालै सम्पन्न यस आयोजनाबाट बिच्छ्याँ मात्र होइन, हिमाली गाउँपालिका–१, २, र ३ का बासिन्दा लाभान्वित भएका छन् ।

इन्जिनियर देवेन्द्र श्रेष्ठका अनुसार यस आयोजना निर्माणमा कुल १४ करोड ३१ लाख रुपैयाँ लागत लागेको हो । स्थानीय उपभोक्ताहरूको योगदान ७४ लाख ५६ हजार रुपैयाँ छ ।

उज्यालोले ल्याएको आशा

दुर्गम भूगोलका कारण आयोजनाका सामग्री हुम्लाको जिबानाबाट हेलिकप्टरमार्फत ढुवानी गरिएको थियो । जहाँ सडक छैन, जहाँ सामान्य सेवा पनि पर्खाइमा हुन्छ, त्यहाँ बिजुली पुगेको कुरा आफैमा एक चमत्कारजस्तै हो ।

बिजुली पुगेपछि वडा कार्यालयको सेवा, विद्यालयको पठनपाठन, स्वास्थ्य चौकीको सेवा सबैमा सुधार आउने विश्वास स्थानीयको छ ।

वडा अध्यक्ष जोखबहादुर भण्डारी भन्छन्, ‘पहिला घाम नलागे सोलार बत्ती पनि चल्दैनथ्यो । अबचाहिँ वडा कार्यालयमै सेवा दिन सकिन्छ ।’

वडा नं ३ का अध्यक्ष मंगल बुढा भन्छन्, ‘हामीले अझै गुम्बाजस्ता दुर्गम बस्तीमा पनि छिट्टै बत्ती पुर्याउने लक्ष्य राखेका छौं ।’

बिच्छ्याँका लागि बिजुली केवल उज्यालोको नाम मात्र होइन, विकासको पहिलो ढोका हो । अब उनीहरूले सडकको सपना देख्न थालेका छन् ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्ल भन्छन्, ‘बिच्छ्याँमा बिजुली बाल्न दुई कार्यकालको प्रयास सफल भएको छ । अब एक वर्षभित्र सडक ल्याउने तयारी पनि पूरा हुँदैछ ।’

आयोजनामा गाउँपालिकाको लगानी नभए पनि अबका दिनमा बजेट विनियोजन गरेर थप सहयोग गरिने उनको भनाइ छ ।

कादुरी एग्रीकल्चरल एण्ड एशोसियसन ब्रिटिश गोर्खाज नेपालले आयोजना निर्माणमा सहयोग पुर्याएको हो ।

झिलिमिली छन्, सपना पनि

२०७८ सालदेखि सुरु भएको यो प्रयास अहिले गाउँलेहरूको जीवनमा उज्यालो मात्र होइन, आशा पनि बोकेर आएको धेरैले बताएका छन् ।

दशैंभित्रै हिमाली गाउँपालिका–५ को क्युडी गाउँका १२० घरमा पनि बत्ती बल्ने योजना छ । बिच्छ्याँ अब झिलिमिली छ । अन्धकारको लहर पार गरिसकेपछि त्यो उज्यालोमा अब गाउँलेहरूले आफ्ना नयाँ सपना कोर्न थालेका छन् ।

प्रकाशित मिति : शुक्रबार, वैशाख १२, २०८२ | १२:२८:०४ बजे

लेखकको बारेमा

प्रतिक्रिया