तिर्न थाले उद्योगले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता
जलसरोकार
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणको पटकपटकको ताकेतापछि उद्योगहरूले डेडिकेटेड तथा ट्रङ्कलाइनको विद्युत् महसुल बक्यौता तिर्न सुरु गरेका छन् । शुक्रबारदेखि पाँचवटा उद्योगले किस्ताबापत बक्यौता रकम बुझाउन थालेका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार आज हामा आइरन एण्ड स्टिल इन्डस्ट्रिजले डेडिकेटेड ट्रङ्कलाइनबापतको कुल पाँच करोड ८५ लाख रुपैयाँमध्ये पहिलो किस्ताको रूपमा २० लाख ९० हजार रुपैयाँ बुझाएको छ ।
त्यस्तै, यसअघि किस्ता तिर्न सुरु गरेर बीचमा रोकिएको परासीस्थित लक्ष्मी स्टिलले पनि किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको जानकारी दिए ।
सिलवालका अनुसार सर्वोत्तम सिमेन्टले पनि बीचमा रोकिएको किस्ता तिर्न पुनः सुरु गर्दै ४० लाख रुपैयाँ बुझाएको छ । त्यस्तै, बाराको सिमरामा सञ्चालित हुलास स्टिल इन्डस्ट्रिजले डेडिकेटेड तथा ट्रङ्कलाइन प्रयोगबापतको प्रिमियम महसुल किस्तामा तिर्न थालेको छ ।
हुलास स्टिलले २०७२ माघदेखि २०७५ वैशाखसम्मको कुल १४ करोड १२ लाख रुपैयाँ बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँका दरले २८ किस्तामा बुझाउने सहमति प्राधिकरणसँग गरेको छ । शुक्रबार उद्योगले पहिलो किस्ता बुझाएको हो ।
त्यस्तै, सिमराकै अर्को उद्योग अशोक स्टिलले पनि १७ करोड ५८ लाख रुपैयाँ बक्यौता रकम किस्तामा बुझाउने सहमति गरी पहिलो किस्ताबापत ६३ लाख रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले लामो समयदेखि डेडिकेटेड र ट्रङ्कलाइनमार्फत विद्युत् उपयोग गर्ने उद्योगहरूलाई बक्यौता बुझाउन पटकपटक आग्रह गर्दै आएको थियो । आजदेखि उद्योगहरूले बक्यौता तिर्न थालेपछि प्राधिकरणले यसलाई सकारात्मक संकेतका रूपमा लिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
विद्युत प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा विद्युतीय तार भूमिगत काम अगाडि बढाइने
-
लगातार पाँचौं दिन पनि घट्यो सेयर बजार, २३.५० अंकले घट्यो नेप्से
-
अपर म्याग्दी जलविद्युत् आयोजनाको क्षमता बढेर ४६.२५ मेगावाट पुग्यो
-
सरकार–निजी क्षेत्र सँगै नहिँडे अर्थतन्त्रले गति लिँदैन : अध्यक्ष ढकाल
-
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा
-
पश्चिमी वायुको आंशिक प्रभाव, देशभर आंशिक बदली