सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारण सभा आजदेखि, नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु

जलसरोकार
सोमबार, वैशाख २१, २०८३ | ०९:५४:१७ बजे

 

काठमाडौँ : नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम आजदेखि सुरु हुँदैछ। लामो समयदेखि देखिएका कानुनी उल्झन, आन्तरिक विवाद र अदालतको स्थगन आदेशपछि तय भएको यो साधारण सभाले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ।

आज ललितपुरको ग्वार्कोस्थित होटल रोयल टुलिपमा भव्य उद्घाटन सत्र आयोजना गरिँदैछ, जहाँ देशभरका उद्योगी–व्यवसायी, सरकारी उच्च अधिकारी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहनेछ। मतदान प्रक्रिया भने भोलि वैशाख २२ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रज्ञा भवन) मा सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ।

महासंघको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ आगामी अध्यक्ष बन्ने निश्चित भएको छ। उनी वर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल पछि नेतृत्व सम्हाल्ने तयारीमा छन्। यद्यपि संशोधित विधानअनुसार अब अध्यक्ष पदमा पनि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएकाले श्रेष्ठ स्वतः अध्यक्ष बन्ने अन्तिम व्यक्ति हुन सक्ने विश्लेषण गरिएको छ। शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने र निजी क्षेत्रका समस्यामा सरकारलाई दबाब दिने चुनौती उनको काँधमा रहनेछ।

यस पटकको निर्वाचनमा ७३ सदस्यीय कार्यसमितिका लागि कुल १३७ जनाले उम्मेदवारी दिएका छन् भने २,१५३ मतदाताले मतदान गर्नेछन्। विशेषगरी वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा देखिएको छ भने जिल्ला–नगर उपाध्यक्ष पदमा मात्रै पाँच जनाको उम्मेदवारी परेकाले चुनावी माहोल तातेको छ। विभिन्न समूहका व्यवसायीहरू प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

यसअघि चैत २९ र ३० गतेका लागि तय भएको साधारण सभा सदस्यता विवादका कारण स्थगित भएको थियो। १८ वटा वस्तुगत संघको सदस्यता र मताधिकार सम्बन्धी विवाद उच्च अदालत पाटनसम्म पुगेपछि अदालतले रोक लगाएको थियो। पछि ती संघलाई सदस्यता दिने तर तीन वर्षपछि मात्र मताधिकार दिने सहमति भएपछि वैशाख ९ गतेको केन्द्रीय कार्यकारिणी बैठकले मार्ग प्रशस्त गरेको हो।

निर्वाचन प्रक्रिया यस पटक झनै खर्चिलो बनेको छ। उपाध्यक्ष पदका लागि ४३ लाख रुपैयाँ र सदस्य पदका लागि १ लाख रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ, जसले निजी क्षेत्रभित्रै बहस सिर्जना गरेको छ। साथै नयाँ विधानले दुई वरिष्ठ उपाध्यक्ष र एक महिला उपाध्यक्षको व्यवस्था थप गर्दै समावेशी प्रतिनिधित्व बढाउने प्रयास गरेको छ।

निर्वाचनमा मुख्यतः दुई प्यानलबीच प्रतिस्पर्धा देखिएको छ । एकतर्फ वर्तमान नेतृत्व नजिकको समूह र अर्कोतर्फ हेमराज ढकाल पक्षीय समूह। यद्यपि अध्यक्ष ढकालले औपचारिक रूपमा कुनै पक्ष नलिएको बताएका छन्।

अर्थतन्त्र मन्दी, उच्च ब्याजदर, सहकारी संकट र न्यून पुँजीगत खर्चका कारण निजी क्षेत्र दबाबमा रहेका बेला महासंघको नयाँ नेतृत्वप्रति व्यवसायीहरूको ठूलो अपेक्षा छ। नयाँ कार्यसमितिले नीतिगत सुधार, लगानी प्रवर्द्धन र निजी क्षेत्र–सरकार सहकार्यलाई कसरी अघि बढाउँछ भन्ने चासो बढेको छ।

लामो विवादपछि सुरु भएको यो साधारण सभा केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई निजी क्षेत्रको एकता र दिशा तय गर्ने महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। भोलिको मतदानपछि आउने नयाँ नेतृत्वले महासंघको आगामी कार्यदिशा निर्धारण गर्नेछ।

प्रकाशित मिति : सोमबार, वैशाख २१, २०८३ | ०९:५४:१७ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया