तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावितलाई क्षतिपूर्ति वितरण
जलसरोकार
दमौली: तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको संरचना निर्माणका क्रममा विस्फोट गर्दा क्षति भएकामध्ये ९४ प्रतिशत परिवारलाई क्षतिपूर्ति वितरण गरिएको छ ।
चरण–१ अन्तर्गतका संरचना निर्माणका क्रममा विस्फोट गर्दा आयोजना आसपासका क्षेत्रमा पुगेको असर तथा क्षति पुगेका परिवारलाई आयोजनाले क्षतिपूर्ति रकम वितरण गरेको हो ।
ऋषिङ–१ र व्यास नगरपालिका–५ का गरी एक सय ४७ परिवारका घर तथा संरचनाको क्षति निर्धारण गरेपश्चात एक सय ३९ परिवारलाई रकम वितरण गरिएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । उनका अनुसार बाँकी परिवारको रकम वितरणको प्रक्रियामा छ ।
भण्डारीले क्षति भएका घरको अनुगमन पश्चात अधिकतम रु तीन लाख र न्यूनतम रु दश हजार क्षतिपूर्ति बापत रकम तोकिएको जानकारी दिए । उनले भने, “जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले निर्धारण गरेबापतको रकम वितरण गरिएको छ । छ प्रतिशत परिवारले मात्रै रकम बुझ्न बाँकी छ ।”
संरचना निर्माण गर्दा घरमा क्षति पुगेको भन्दै स्थानीयबाट निवेदन आएपछि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा पूर्वाधार विकास कार्यालयका इञ्जिनियर, आयोजनाका इञ्जिनियरलगायत सदस्य हुनुहुन्छ ।
आयोजनाको चरण–१ अन्तर्गत बाँधलगायत संरचना निर्माण भइरहेको छ । यस चरणअन्तर्गतका संरचनाको निर्माण सोङ्दा कालिका जेभीले गरिरहेको छ । हालसम्म ४२ दशमलव पाँच प्रतिशत प्रगति भएको प्रमुख भण्डारीले उल्लेख गरे । यसअन्तर्गत एक सय ४० मिटर अग्लो बाँध निर्माण गर्न पूर्वतयारीका कार्य भइरहेका छन् ।
भण्डारीका अनुसार बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने, टावर क्रेन जडानलगायत कार्य सम्पन्न गरिएको छ । उनले भने,“बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्रमा सफा गर्न, ड्रिलिङ, कङ्क्रिटिङ र माथिल्लो तटीय क्षेत्रमा ड्रिलिङ, ग्राउटिङलगायत काम जारी छ ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो