निजी क्षेत्रलाई सशक्त बनाउँदै आर्थिक रूपान्तरणको नेतृत्व गर्नुपर्ने : अध्यक्ष ढकाल
जलसरोकार
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक रूपान्तरणका लागि निजी क्षेत्रलाई सशक्त बनाउँदै नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले महासंघको ६० वर्षे यात्रा केवल समयको गणना नभई देशको आर्थिक इतिहासमा संघर्ष, सहकार्य र दृढ संकल्पका रूपमा स्थापित भएको उल्लेख गरे।
उनले महासंघले विगतका राजनीतिक अस्थिरता, प्राकृतिक विपत्ति तथा विभिन्न आर्थिक चुनौतीहरूबीच पनि निजी क्षेत्रको आवाज बुलन्द बनाउँदै उद्योग, व्यापार र लगानी प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। महासंघले साना, मझौला र ठूला व्यवसायीलाई एउटै मञ्चमा जोड्दै सामूहिक समृद्धिको मार्ग निर्माण गरेको उनको भनाइ थियो।
अध्यक्ष ढकालले वर्तमान अवस्थामा मुलुकसामु अभूतपूर्व अवसर रहेको उल्लेख गर्दै स्थायी सरकारको अवस्थालाई विकास र नीतिगत स्थायित्वका लागि सदुपयोग गर्नुपर्ने बताए। उनले सरकारले निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षण रणनीति (PSPP) पारित गरी कार्यान्वयनमा ल्याएकोप्रति स्वागत व्यक्त गर्दै यसले निजी क्षेत्रलाई भौतिक तथा नीतिगत सुरक्षा प्रदान गर्ने विश्वास व्यक्त गरे।
उनका अनुसार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिस कार्यान्वयनले दोस्रो चरणको आर्थिक सुधारलाई गति दिनेछ। महासंघले यसअघि नै कानुन संशोधन, परिमार्जन र खारेजीमार्फत लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गर्दै आएको उनले बताए।
ढकालले देशभित्र रोजगारी सिर्जना प्रमुख चुनौती रहेको उल्लेख गर्दै हरेक वर्ष ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा जानु चिन्ताजनक भएको बताए। उच्च ज्यालासहितको मर्यादित रोजगारी सिर्जना नगरेसम्म निराशा हटाउन नसकिने उनको भनाइ थियो।
उनले विगत तीन दशकमा नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत मात्रै रहेको र वैदेशिक लगानी अपेक्षाअनुसार आकर्षित हुन नसकेको बताए। छिमेकी तथा समान अवस्थाबाट अघि बढेका देशहरू बंगलादेश, भियतनाम, क्याम्बोडिया, तीव्र विकासतर्फ उन्मुख हुँदा नेपाल पछि परेको उनले उल्लेख गरे।
अध्यक्ष ढकालले सुशासन, प्रविधिको प्रयोग र सदाचारलाई आर्थिक विकासको आधारका रूपमा अघि सार्दै व्यवसाय दर्तादेखि सेवा प्रवाहसम्म डिजिटल प्रणाली लागू गर्न सरकारसँग आग्रह गरे।
उनले स्वदेशी पूँजी परिचालनका लागि १० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको लगानी कम्पनी स्थापना भइसकेको जानकारी दिँदै यसबाट ४०-५० अर्ब रुपैयाँसम्मका ठूला आयोजना अघि बढाउन सकिने बताए। साथै, विभिन्न देशमा आयोजना गरिएका बिजनेस समिटमार्फत विदेशी लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको पनि उनले जानकारी दिए।
ढकालले सरकार र निजी क्षेत्र दुवै लगानीका मुख्य आधार रहेको उल्लेख गर्दै अत्यधिक नियमनले लगानी वातावरणमा असर परेको बताए। लगानीमैत्री नीति, स्थिर कानुनी संरचना र निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोण आवश्यक रहेको उनले जोड दिए।
उनले निजी क्षेत्रले अब सरकारको मात्र मुख ताक्ने प्रवृत्ति अन्त्य गर्दै स्वयं पहल गर्नुपर्ने धारणा राखे। स्थानीय र प्रदेश सरकारसँग सहकार्य गरी नयाँ अवसर सिर्जना गर्नुपर्नेमा पनि उनले जोड दिए।
अन्त्यमा अध्यक्ष ढकालले चुनौतीहरूलाई अवसरमा रूपान्तरण गर्दै सकारात्मक सोचका साथ अघि बढ्न व्यवसायीहरूलाई आह्वान गरे। “निजी क्षेत्रको सम्मान नै समृद्धिको आधार हो,” भन्दै उनले मुलुकको आर्थिक भविष्य अझ उज्ज्वल हुने विश्वास व्यक्त गरे।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
साताको पहिलो दिन नेप्से ३४.६३ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
झापा इनर्जी लिमिटेडकाे नाफा १ करोड ६० लाख, आम्दानी बढ्दा वित्तीय सुधार
-
विश्व बैंकको ५२ मिलियन डलर ऋण र ५ मिलियन अनुदान स्वीकार गर्ने मन्त्रिपरिषद्काे निर्णय
-
निजी क्षेत्रलाई सशक्त बनाउँदै आर्थिक रूपान्तरणको नेतृत्व गर्नुपर्ने : अध्यक्ष ढकाल
-
आँखुखोला जलविद्युत्काे १७औँ र १८औँ वार्षिक साधारण सभा जेठ १५ मा हुने
-
सुनको मूल्य घट्दा चाँदी बढ्याे, आज कतिमा हुँदैछ बजारमा कारोबार ?