सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम नबिल बैंक पूर्वाधार
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

सोलु हाइड्रोपावरको नाफा ८५ करोड ८१ लाख रुपैयाँ, विद्युत् उत्पादन बढेसँगै आम्दानी २ अर्ब नाघ्यो

जलसरोकार
बुधबार, वैशाख ३०, २०८३ | ०९:५९:०२ बजे

 

काठमाडौं : सोलु हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ८५ करोड ८१ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चैत मसान्तसम्म कम्पनीले ८५ करोड ८१ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

दोस्रो त्रैमाससम्म कम्पनीको नाफा ७२ करोड २६ लाख रुपैयाँ रहेको थियो । विद्युत् उत्पादन तथा बिक्रीबाट आम्दानी बढेसँगै कम्पनीको नाफामा सुधार देखिएको हो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २ अर्ब ११ करोड २४ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म यस्तो आम्दानी १ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ रहेको थियो । कम्पनीको उत्पादन खर्च १ अर्ब ५ करोड ५१ लाख रुपैयाँ रहेको छ । यसपछि कम्पनीले १ अर्ब ५ करोड ६८ लाख रुपैयाँ कुल नाफा आर्जन गरेको देखिन्छ ।

कम्पनीको प्रशासनिक खर्च ५ करोड १४ लाख रुपैयाँ रहेको छ भने मूल्यह्रास तथा अमोर्टाइजेशन खर्च १० लाख रुपैयाँभन्दा बढी रहेको छ । यी खर्च कटाएपछि कम्पनीको सञ्चालन नाफा १ अर्ब ४० लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी कम्पनीको वित्तीय लागत १५ करोड ३ लाख रुपैयाँ रहेको छ । वित्तीय खर्च कटाउँदा करअघिको नाफा ८५ करोड ९४ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले १३ लाख ५९ हजार रुपैयाँ कर खर्च छुट्याएको छ ।

चैत मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ, जुन पुस मसान्तसम्म ९ अर्ब १८ करोड रुपैयाँ थियो । कम्पनीको जगेडा तथा सञ्चित नाफा ३ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ रहेको छ । यससँगै कम्पनीको कुल इक्विटी १३ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल सम्पत्ति ३३ अर्ब २९ करोड ७० लाख रुपैयाँ रहेको छ । कम्पनीसँग ४५ करोड ७८ लाख रुपैयाँ नगद तथा नगद सरह मौज्दात रहेको छ ।

त्यसैगरी कम्पनीको दीर्घकालीन दिगो कर्जा ७ अर्ब २३ करोड २९ लाख रुपैयाँ तथा अदिगो दीर्घकालीन कर्जा १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ रहेको छ । चालु दायित्वतर्फ कम्पनीको अल्पकालीन कर्जा ५७ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

वित्तीय विवरणअनुसार कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ५८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ६ पैसा रहेको छ । कम्पनीको वर्तमान अनुपात १.४७ गुणा रहेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष विद्युत् उत्पादनको पहिलो पूर्ण वर्ष भएकाले आम्दानी र नाफामा उल्लेख्य सुधार आएको जनाएको छ । साथै, जलवायु परिवर्तन, प्राकृतिक विपत्ति तथा दक्ष जनशक्ति व्यवस्थापनलाई कम्पनीका प्रमुख चुनौतीका रूपमा उल्लेख गरिएको छ ।

 

 

 

 

 

प्रकाशित मिति : बुधबार, वैशाख ३०, २०८३ | ०९:५९:०२ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया