सुनको मूल्य कुलमान घिसिङ सेयर बजार नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अवरुद्ध कागबेनी-मुक्तिनाथ सडकको हिउँ पन्छाउन सुरु

जलसरोकार
बिहीबार, माघ १५, २०८२ | १६:१७:४८ बजे

 

काठमाडौं: भारी हिमपातका कारण अवरुद्ध बनेको कागबेनी-मुक्तिनाथ सडक खुलाउन पहल सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजनाको डोजर परिचालन गरी सडकको हिउँ पन्छाउने काम सुरु गरिएको हो ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ का वडाध्यक्ष कर्माघ्याचो गुरुङको उपस्थितिमा कागबेनी-मुक्तिनाथ सडकखण्डको हिउँ सफा गर्ने कार्य सुरु गरिएको छ । आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार बाक्लो हिउँ जमेको सडक खुलाउन आयोजनाको डोजर कागबेनी-मुक्तिनाथ सडकतर्फ परिचालन भइसकेको छ ।

कागबेनी-मुक्तिनाथ सडकखण्ड गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयको क्षेत्राधिकारभित्र पर्ने भए पनि मुक्तिनाथ दर्शनका लागि जाने श्रद्धालुहरूको समस्यालाई मध्यनजर गर्दै कालीगण्डकी करिडोर आयोजनाले सहयोगस्वरूप डोजर पठाएको आयोजना प्रमुख शर्माले बताए ।

मङ्गलबार परेको भारी हिमपातका कारण अवरुद्ध सडकमा कागबेनीको पहिलो मोडदेखि नै हिउँ पन्छाउने काम सुरु गरिएको वडाध्यक्ष कर्माघ्याचो गुरुङले जानकारी दिए । उनका अनुसार कागबेनीदेखि मुक्तिनाथ रानीपौवा बसपार्कसम्म सडकमा बाक्लो हिउँ जमेकाले साँझसम्ममा सडक खुलाउने लक्ष्य राखिएको छ ।

यसअघि बुधबार बिहान सशस्त्र प्रहरी बल नेपालको टोलीले हिउँ सफा गर्ने प्रयास गरे पनि निरन्तर हिमपातका कारण कार्य स्थगित गरिएको थियो । सुरक्षाकर्मीको जनशक्तिबाट मात्र हिउँ पन्छाउन लामो समय लाग्ने देखिएपछि सडक विभागको डोजर परिचालन गरिएको वारागुङ मुक्तिक्षेत्र-१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।

सडक अवरुद्ध हुँदा सयौँ दर्शनार्थी बुधबार बिहानदेखि कागबेनीमा अलपत्र परेका छन्। सडक खुल्ने आशामा कतिपय श्रद्धालु कागबेनीमै रोकिएका छन् भने केही दर्शनार्थी घोडा चढेर मुक्तिनाथ पुगेका छन्।

हिमपातका कारण सडक अवरुद्ध भएपछि मुक्तिनाथ क्षेत्र सुनसान बनेको छ। दर्शनार्थीको आवागमन ठप्प हुँदा मुक्तिनाथ मन्दिरमा दैनिक गतिविधि नियमित पूजापाठमा मात्र सीमित भएको छ ।

प्रकाशित मिति : बिहीबार, माघ १५, २०८२ | १६:१७:४८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया