बाढीसम्बन्धी पूर्वसूचना दिन मर्स्याङ्दी नदी क्षेत्रमा साइरन जडान
जलसरोकार
मनाङ: नासोँ गाउँपालिका–१ तालगाउँमा मर्स्याङ्दी नदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन मानव विकास तथा सामुदायिक सेवा केन्द्र (एचडिसिएस) ले बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ । गाउँपालिका र एचडिसिएसको सहकार्यमा रु २६ लाखको लागतमा तालगाउँमा साइरन जडान गरेपछि स्थानीय विपद्बाट बच्ने भन्दै खुसी भएका छन् ।
विसं २०७८ असार १ मा मनाङमा भीषण वर्षा भयो । वर्षासँगै आएको बाढीले मर्स्याङ्दी नदी किनारका कैयौँ स्थानीयलाई घरबारविहित बनायो । बाढीले क्षतिग्रस्त भएपछि लामो समयसम्म गाउँले पालमुनि बस्न बाध्य भएका थिए ।
बाढीले सबैभन्दा बढी नासोँ गाउँपालिका–१ ताल गाउँमा क्षति पु-याएको थियो । नासोँ–१ का वडाध्यक्ष मीनरासी गुरुङका अनुसार तालगाउँमा ६३ परिवार छन् । मस्र्याङ्दी नदी किनारसँगैको बस्ती भएकाले यहाँका अधिकांश घरमा बाढी पसेको थियो । पटकपटक बाढी आउँदा लाखौँको धनमाल गुमाएका तालगाउँवासीले अब विपद् आउनु पूर्व सूचना पाउने भएपछि खुसी भएका हुन् ।
वडाध्यक्ष मीनरासी गुरुङले साइरन जडानपछि वर्षाको समयमा गाउँले ढुक्कसँग निदाउन पाउने भएको भन्दै खुसी व्यक्त गरे । लमजुङसँग सीमा जोडिएको तालगाउँलाई विपद्बाट जोगाउन पूर्व सूचना दिने साइरन जडान गरिएको एचडिसीएसका मनोसामाजिक परामर्शदाता शोभा ठकुरीले जानकारी दिए । उनका अनुसार नासोँ–८ को धारापानीमा राखिएको एक यन्त्रले मस्र्याङ्दी नदीमा पानीको सतह मापन गर्नेछ ।
स्वचालित उक्त यन्त्रले मस्र्याङ्दी नदीमा खतराको सतह पार गरेको सङ्केत गर्नासाथ साइरन बज्न थाल्ने ठकुरीले बताए । साइरन तालगाउँभरि सुनिने गरी राखिएको छ । साइरनसँगै खतराको सङ्केतको सूचना मोबाइल एसएमएसबाट पनि जाने प्रबन्ध गरिएको उनले उल्लेख गरिन् ।
यदी विद्युत् आपूर्ति बन्द भएमा, इन्टरनेट बन्द भएमा पनि कटुवालमार्फत खतरासम्बन्धी सूचना गाउँलेले थाहा पाउने छन् । स्थानीय सुरक्षित स्थानतर्फ जान सक्ने प्रबन्ध गरिएको ठकुरीले जानकारी जानकारी दिए । सुरक्षित स्थानका लागि स्थानीय फुटबल खेल मैदानलाई प्रयोग गर्नेगरी स्थानीय गाउँमा रहेको मस्र्याङ्दी युवा क्लबसँग समन्वय गरिएको छ । यसअघिको डुबानका बेलामा पनि उक्त ठाउँमा पानी सतह पुग्न सकेको थिएन ।
साइरन जडानपछि स्थानीय जनप्रतिनिधि, आमा समूह, युवा क्लबका पदाधिकारी, प्रहरी र स्वास्थ्य चौकी तथा स्थानीय बासिन्दालाई एक दिने प्राथमिक मनोसामाजिक सहयोगसम्बन्धी तालिम पनि दिइएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मीपूजामा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको विशेष तयारी
-
जलविज्ञान र हिमाली जोखिमसम्बन्धी विज्ञ कार्यशाला : प्रविधिमा आधारित एकीकृत पूर्वसूचना प्रणाली बनाउने निष्कर्ष
-
सरकारको एक साता : ठूला जलविद्युत् आयोजनामा अर्बौँ लगानी अघि बढ्यो
-
सामान्य अंकले बढ्यो नेप्से, ३ अर्ब ४६ करोडको कारोबार; जलविद्युत् कम्पनीमा पनि उल्लेख्य सक्रियता
-
मिड सोलु हाइड्रोपावरको नाफा ३७ प्रतिशतले बढ्यो
-
नेपालको ऊर्जा क्षेत्रको वर्तमान अवस्था, भावी कार्यदिशा र समृद्ध नेपालको राष्ट्रिय आकांक्षा