पोखरामा भूमिगत विद्युत् तार बिछ्याउने काम ८२ प्रतिशत पूरा, वैशाखभित्र सक्ने लक्ष्य
जलसरोकार
गण्डकी : पोखराका सडक र आकाशमा अस्तव्यस्त देखिने विद्युत्का तार क्रमशः जमिनमुनि पुग्न थालेका छन्। नेपाल विद्युत् प्राधिकरणले चार वर्षअघि सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने अभियानअन्तर्गत पोखरामा २२३ किलोमिटरमध्ये १६५ दशमलव ७ किलोमिटर क्षेत्रमा तार बिछ्याइसकिएको छ। आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ भने आगामी वैशाखभित्र बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत पोखरामा भूमिगत तार बिछ्याउने काम तीव्र रूपमा अघि बढिरहेको आयोजना प्रमुख इन्जिनियर आनन्द सुवेदीले जानकारी दिए। बिछ्याइसकिएको तारमध्ये ५५ दशमलव २ किलोमिटर क्षेत्रमा विद्युत् प्रवाहसमेत सुरु भइसकेको छ।
पोखराको मुख्य सहरी क्षेत्र र पर्यटकीय आवागमन बढी हुने सडकलाई प्राथमिकतामा राखेर आयोजनाले काम अघि बढाएको छ। पोखरा महानगरपालिका–१४ चाउथेदेखि कुँडहर, अमरसिंहचोक, बुद्धचोक हुँदै सेतीपुलसम्म पृथ्वी राजमार्ग क्षेत्रमा रहेका चार सयभन्दा बढी घरधुरीले भूमिगत प्रणालीबाट विद्युत् सेवा पाउन थालेका छन्।
सेतीपुलदेखि पृथ्वीचोक, सभागृहचोक, सिर्जनाचोक, जिरो किलोमिटर हुँदै लेकसाइडसम्मको मुख्य सडकमा पनि तार बिछ्याउने काम सम्पन्न भइसकेको छ। लेकसाइडका भित्री सडकमा समेत भूमिगत तार बिछ्याइसकिएको छ। अब ती क्षेत्रमा विद्युत् प्रवाह गर्न मात्र बाँकी रहेको आयोजनाले जनाएको छ।
सभागृहचोकदेखि न्युरोड हुँदै चिप्लेढुङ्गा तथा सिर्जनाचोकदेखि नागढुङ्गा हुँदै लेकसाइडस्थित तालबाराही मन्दिरतर्फ जाने सडकका केही खण्डमा भने अहिले पनि तार बिछ्याउने काम जारी छ।
सेतीपुल निर्माणाधीन रहेकाले पृथ्वीचोकतर्फ बिछ्याइएको तारमा तत्काल विद्युत् प्रवाह गर्न नसकिएको सुवेदीले बताए। उनका अनुसार पुल निर्माणको काम अन्तिम चरणमा पुगेकाले त्यसपछि उक्त क्षेत्रमा पनि भूमिगत प्रणालीबाट विद्युत् सेवा सञ्चालन गरिनेछ।
आयोजनाले मुख्य राजमार्गसँगै पोखराका सहायक सडकमा समेत भूमिगत तार बिछ्याइरहेको छ। विद्युत्का तारसँगै टेलिफोन, केबल टेलिभिजन र इन्टरनेट सेवाका लागि अप्टिकल फाइबरसमेत जमिनमुनि राखिएको छ। भूमिगत प्रणाली सञ्चालनमा आएका क्षेत्रमा पुराना विद्युत् पोल र तार हटाउने कामसमेत भइरहेको छ।
पोखरामा करिब छ हजार घरधुरीलाई भूमिगत प्रणालीबाट विद्युत् सेवा उपलब्ध गराउने लक्ष्य छ। सडक किनारमा रहेका जीर्ण पोल र अव्यवस्थित तार हटेपछि सहरी सौन्दर्य बढ्नुका साथै विद्युत् दुर्घटनाको जोखिमसमेत घट्ने अपेक्षा गरिएको छ।
पोखरासँगै भरतपुरमा पनि आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। भरतपुरमा कुल १५६ दशमलव ३३ किलोमिटर क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने योजना रहेकामा १५५ दशमलव ३७ किलोमिटरमा तार बिछ्याइसकिएको छ। तीमध्ये १३७ दशमलव ८७ किलोमिटर क्षेत्रमा विद्युत् प्रवाह भइसकेको छ।
भरतपुरमा आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ। आगामी मङ्सिरभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। भरतपुरका एक हजार दुई सय घरधुरीलाई भूमिगत प्रणालीबाट विद्युत् सेवा उपलब्ध गराउने योजना छ।
सन् २०२२ जनवरीमा भारतीय कम्पनी टाटा प्रोजेक्ट्सले आयोजनाको निर्माण ठेक्का पाएको थियो। एसियाली विकास बैंकको करिब तीन अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहयोगमा नेपाल विद्युत् प्राधिकरणले पोखरा र भरतपुरमा वितरण प्रणाली सुदृढीकरणको काम अघि बढाएको हो।
भूमिगत विद्युत् प्रणालीलाई केवल तार हटाउने परियोजनाका रूपमा मात्र नभई सहरी पूर्वाधारलाई व्यवस्थित बनाउने योजनाका रूपमा हेरिएको छ। आयोजना पूरा भएपछि पोखराको सडक र आकाशमा देखिने विद्युत्का पोल तथा तारको जालो घट्नेछ भने भरतपुरमा पनि सुरक्षित, व्यवस्थित र आधुनिक विद्युत् वितरण प्रणाली स्थापित हुने अपेक्षा गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तिहारपछि सुनको मूल्यमा ठूलो गिरावट, तोलामै १२ हजार ६ सय रुपैयाँ सस्तियो
-
चिलिमे हाइड्रोपावरलाई बाढीको धक्का, नाफा ९५ प्रतिशतभन्दा बढी घट्यो
-
टक्सार पिखुवा खोला हाइड्रोपावरको पहिलो त्रैमासिक नाफा ३ करोड ९० लाख, आम्दानी बढ्दा वित्तीय अवस्था सुधारिँदै
-
पोखरामा भूमिगत विद्युत् तार बिछ्याउने काम ८२ प्रतिशत पूरा, वैशाखभित्र सक्ने लक्ष्य
-
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बदली; तराईमा मौसम सफा रहने
-
जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु, दीर्घकालीन समाधानका लागि दुई करोडभन्दा बढी बजेट दिने प्रतिबद्धता