चिलिमे हाइड्रोपावरलाई बाढीको धक्का, नाफा ९५ प्रतिशतभन्दा बढी घट्यो
जलसरोकार
काठमाडौं : बाढीले जलविद्युत् आयोजनाको भौतिक संरचनामा पारेको क्षति र विद्युत् उत्पादनमा आएको गिरावटको असर चिलिमे हाइड्रोपावर कम्पनीको वित्तीय विवरणमा देखिएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा जम्मा ९१ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५ प्रतिशतभन्दा बढी कम हो।
चिलिमे हाइड्रोपावरले गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा २० करोड ५८ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। तर चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा नाफा घटेर ९१ लाख ७३ हजार रुपैयाँमा सीमित भएको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीको आम्दानीमा आएको भारी गिरावटले नाफामा ठूलो धक्का पुगेको हो। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले ११ करोड ४२ लाख ७२ हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ३५ करोड ३० लाख ८२ हजार रुपैयाँ थियो। अर्थात् एक वर्षमै कम्पनीको आम्दानी करिब २४ करोड रुपैयाँले घटेको छ।
आम्दानी घटेसँगै कम्पनीको कुल नाफा पनि तीव्र रूपमा खुम्चिएको छ। चालु आवको पहिलो त्रैमासिकमा कम्पनीको कुल नाफा ४ करोड ६९ लाख ४ हजार रुपैयाँमा सीमित भएको छ, जबकि गत वर्षको सोही अवधिमा २६ करोड ९० लाख ८० हजार रुपैयाँ थियो।
कम्पनीको सञ्चालन खर्चसमेत उल्लेख्य रहेको छ। पहिलो तीन महिनामा कर्मचारी सुविधा खर्च २ करोड ६ लाख रुपैयाँ, प्रशासनिक खर्च ३ करोड ३४ लाख रुपैयाँ तथा ह्रासकट्टी र अमोर्टाइजेसन खर्च २ करोड ११ लाख रुपैयाँ पुगेको छ। यी खर्चका कारण कम्पनी सञ्चालनमै २ करोड ८५ लाख रुपैयाँभन्दा बढी घाटामा गएको वित्तीय विवरणले देखाउँछ।
कम्पनीले वित्तीय आम्दानीबाट ३ करोड १९ लाख रुपैयाँ तथा अन्य आम्दानीबाट ८४ लाख २८ हजार रुपैयाँ प्राप्त गरेको छ। सम्पत्ति बिक्रीबाट १ करोड १८ लाख रुपैयाँ घाटा व्यहोरेपछि करअघिको नाफामा पनि ठूलो दबाब परेको देखिन्छ। कर कट्टीपछि कम्पनीको खुद नाफा ९१ लाख ७३ हजार रुपैयाँ कायम भएको छ।
चिलिमे हाइड्रोपावरले पहिलो त्रैमासिकको वित्तीय विवरणमा बाढी र जलविद्युत् उत्पादनमा परेको प्रभावलाई प्रमुख चुनौतीका रूपमा औंल्याएको छ। गत भदौ १० गते भोटेकोशी नदी प्रणालीमा आएको आकस्मिक तथा भीषण बाढीका कारण कम्पनीको जलविद्युत् केन्द्रका भौतिक संरचना तथा विद्युत् उत्पादनमा गम्भीर असर परेको कम्पनीले जनाएको छ।
बाढीसँगै आएको लेदो, गेग्रान र ढुङ्गाका कारण आयोजनाको संरचनामा क्षति पुगेको र उत्पादन प्रभावित भएको कम्पनीको भनाइ छ। बाढीपछि विद्युत् उत्पादन पूर्ण रूपमा सुचारु हुन नसक्दा विद्युत् बिक्रीबाट हुने आम्दानीमा प्रत्यक्ष असर परेको छ।
कम्पनीका अनुसार बाढीबाट आयोजनाको संरचनामा भएको क्षति मर्मत तथा पुनःस्थापनाका लागि आवश्यक काम अघि बढाइएको छ। उत्पादन पुनः सामान्य अवस्थामा फर्काउन कम्पनीले प्राविधिक तथा व्यवस्थापकीय पक्षबाट काम गरिरहेको जनाएको छ।
चिलिमे हाइड्रोपावरको कुल सम्पत्ति भने असोज मसान्तसम्म १२ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता पुँजी ९ अर्ब ४८ करोड ४९ लाख रुपैयाँ रहेको छ। जगेडा तथा सञ्चित मुनाफासहित कम्पनीको कुल इक्विटी ११ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रहेको वित्तीय विवरणमा उल्लेख छ।
कम्पनीको चालु त्रैमासिकमा प्रतिशेयर आम्दानी ० दशमलव ३९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३६ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य १२९ रुपैयाँ ८ पैसा रहेको छ। कम्पनीको तरलता अनुपात १७ दशमलव ७१ रहेको छ।
चिलिमे हाइड्रोपावरले बाढीबाट भएको क्षतिसँगै आगामी दिनमा आयोजनाको उत्पादनलाई नियमित अवस्थामा फर्काउने, सञ्चालन लागत व्यवस्थापन गर्ने तथा वैकल्पिक आम्दानीका स्रोत बढाउने रणनीति अघि सारेको जनाएको छ।
कम्पनीले विद्युत् उत्पादनमा आएको अवरोधलाई अस्थायी समस्या माने पनि बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःस्थापना र नियमित उत्पादनमा फर्कन लाग्ने समय आगामी वित्तीय परिणामका लागि महत्वपूर्ण हुने देखिन्छ। पहिलो त्रैमासिकको विवरणले चिलिमेको नाफामा आएको तीव्र गिरावट प्राकृतिक विपत्तिको प्रत्यक्ष असरबाट जलविद्युत् कम्पनीको आम्दानी कति संवेदनशील हुन्छ भन्ने पनि देखाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
तिहारपछि सुनको मूल्यमा ठूलो गिरावट, तोलामै १२ हजार ६ सय रुपैयाँ सस्तियो
-
चिलिमे हाइड्रोपावरलाई बाढीको धक्का, नाफा ९५ प्रतिशतभन्दा बढी घट्यो
-
टक्सार पिखुवा खोला हाइड्रोपावरको पहिलो त्रैमासिक नाफा ३ करोड ९० लाख, आम्दानी बढ्दा वित्तीय अवस्था सुधारिँदै
-
पोखरामा भूमिगत विद्युत् तार बिछ्याउने काम ८२ प्रतिशत पूरा, वैशाखभित्र सक्ने लक्ष्य
-
पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा बदली; तराईमा मौसम सफा रहने
-
जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु, दीर्घकालीन समाधानका लागि दुई करोडभन्दा बढी बजेट दिने प्रतिबद्धता