चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
विकास थापा
रसुवा : चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र थुप्रिएको लेदो हटाउने काममा महत्वपूर्ण प्रगति भएको छ। उद्धार तथा सफाइ टोलीले यसअघि हातैले खन्ने काम भइरहेको तर बगिरहेको लेदोका कारण मेसिन लैजान नसकिएको खण्डसम्म अहिले पहुँच बनाएको छ।
विशेष उपकरण सुरुङभित्र प्रवेश गराएपछि हिजो बगिरहेको लेदो हटाउन सम्भव भएको र त्यससँगै यसअघि पहुँचविहीन रहेको क्षेत्रमा समेत मेसिनबाट काम गर्न सकिने अवस्था बनेको विद्युत् प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार उक्त खण्डमा बालुवा, सिल्ट र माटो मिसिएको तथा आपसमा टाँसिएको प्रकृतिको कडा लेदो रहेको छ। अब एक्स्काभेटर सुरुङभित्र लगेर व्यवस्थित रूपमा उत्खनन गर्ने र हटाइएको लेदो सुरुङको भुइँतर्फ फैलाउँदै क्रमशः बाहिर निकाल्ने तयारी गरिएको छ।

हालसम्मको अवस्थाको मूल्यांकनका आधारमा यो बिन्दुभन्दा अगाडि ठूलो अवरोध भेटिने सम्भावना कम रहेको आकलन गरिएको छ। यसले चिलिमे सुरुङको सफाइ तथा पुनः पहुँच निर्माण कार्यमा महत्वपूर्ण चरण पार भएको संकेत गरेको छ।
यसअघि सुरुङभित्र ठूला ढुंगा, लेदो तथा फलामे डन्डी मिसिएको कडा भग्नावशेष भेटिएको थियो। सुरुङ विज्ञ प्रोफेसर अर्नोल्ड डिक्सले फलामे डन्डीहरू आफूहरूले अपेक्षा गरेको ‘ब्लास्ट ब्लकेज’ को हिस्सा भएको र त्यसलाई हटाउनु उद्धार योजनाकै भाग रहेको बताएका थिए।
चिलिमे सुरुङमा फसेका भनिएका व्यक्तिहरूको खोज तथा उद्धारसँगै सुरुङभित्रको लेदो र भग्नावशेष हटाउने काम पनि निरन्तर भइरहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
चिलिमे सुरुङमा लेदो हटाउने काममा महत्वपूर्ण प्रगति, मुख्य अवरोधपछि ठूलो समस्या नआउने आकलन
-
चिलिमे उद्धारमा महत्वपूर्ण प्रगति : मुख्य अवरोधस्थल नजिक पुग्दै टोली
-
चिलिमे सुरुङमा ठूला ढुंगा र लेदो हटाउँदै उद्धार टोली
-
चिलिमे सुरुङमा भेटिएका फलामे डन्डी उद्धार योजनाकै हिस्सा : प्राध्यापक डिक्स
-
एमसीसीको प्रसारणमा उल्टो तालमेल : लाइन तयार, सबस्टेसनका लागि २०२७ कुर्नुपर्ने
-
बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्ड निर्माण सम्पन्न