सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति

जलसरोकार
बुधबार, असोज १४, २०८३ | ११:४१:३९ बजे

 

काठमाडौं : नेपाल धितोपत्र बोर्डले पुँजी बजारको समग्र सुधारका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणमा सुधार अघि बढाउने रणनीति सार्वजनिक गरेको छ ।

बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले संसदीय समितिको बैठकमा बजारका सहभागीको सहभागितामा नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बोर्डले प्राथमिक र दोस्रो बजार सुधारका लागि छुट्टाछुट्टै समिति गठन गरेको छ । ती समितिमा नेपाल स्टक एक्सचेन्ज, सिडिएस एन्ड क्लियरिङ, नेपाल उद्योग वाणिज्य महासंघ र मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधि सहभागी छन् ।

सुधार प्रक्रियालाई पारदर्शी बनाउने उद्देश्यले बोर्डले पहिलो चरणमा अवधारणापत्र तयार गर्ने, त्यसपछि समितिमार्फत छलफल गर्ने र सार्वजनिक परामर्शबाट सुझाव लिएर नीति कार्यान्वयनमा लैजाने विधि अपनाएको छ ।

प्राथमिक बजारतर्फ प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ), मूल्य निर्धारण, योग्य संस्थागत लगानीकर्ता र सेयर बाँडफाँट प्रणालीसँग सम्बन्धित नीतिहरू तयार भइसकेका छन् । ती नीतिलाई बजारको तयारी र सहभागीको सहभागितालाई ध्यानमा राख्दै क्रमशः कार्यान्वयनमा लैजाने बोर्डको योजना छ ।

दोस्रो बजार सुधारमा भने ब्रोकर संस्थाको पुनर्संरचनालाई प्राथमिकतामा राखिएको छ । ब्रोकर व्यवसायलाई पारिवारिक प्रकृतिको साँघुरो संरचनाबाट व्यवस्थित औद्योगिक मोडलमा विकास गर्ने नीति बोर्डले पारित गरिसकेको अध्यक्ष भट्टले जानकारी दिए । अब ब्रोकरलाई कार्यक्षमता र सेवाका आधारमा चार श्रेणीमा विभाजन गरी स्टक डिलरसिपसहितको विस्तृत संरचनामा लैजाने योजना रहेको छ ।

अध्यक्ष भट्टका अनुसार दोस्रो बजारका प्रमुख पूर्वाधारका रूपमा रहेको नेपाल स्टक एक्सचेन्जको सुधारलाई पनि प्राथमिकता दिइएको छ । नेप्सेको ट्रेडिङ तथा अर्डर व्यवस्थापन प्रणाली, साइबर सुरक्षा र सूचना प्रविधिसहितका क्षेत्रमा सुधार गर्न करिब ३१ देखि ३२ वटा नियामकीय व्यवस्था तयार पारिएको छ ।

‘प्राथमिक र दोस्रो बजार सुधारका लागि धितोपत्र बोर्डले छुट्टाछुट्टै सुधार समिति गठन गरी काम अघि बढाएको छ । सुधारका नीतिहरू तयार गर्दा सम्बन्धित बजार सहभागी र सरोकारवालाको सहभागिता सुनिश्चित गर्दै सार्वजनिक परामर्शमार्फत सुझाव लिने व्यवस्था गरिएको छ,’ अध्यक्ष भट्टले भने ।

उनका अनुसार प्राथमिक बजारतर्फ आईपीओ, मूल्य निर्धारण, योग्य संस्थागत लगानीकर्ता, सेयर बाँडफाँट र म्युचुअल फन्डलगायतका विषयमा सुधारका नीति अघि बढाइएका छन् । दोस्रो बजारतर्फ ब्रोकर व्यवसायलाई पारिवारिक प्रकृतिबाट व्यवस्थित उद्योगका रूपमा विकास गर्ने तथा क्षमता अभिवृद्धि गर्ने नीति ल्याइएको छ ।

नेप्सेको प्राविधिक पक्ष, अर्डर व्यवस्थापन र साइबर सुरक्षामा देखिएका कमजोरी सुधार्न नियामकीय निर्देशनलाई थप व्यवस्थित बनाउने तयारीसमेत गरिएको छ । सरकारी स्वामित्वका संस्थाबीचको समन्वय अभाव तथा क्षेत्राधिकारसँग सम्बन्धित समस्यालाई सम्बोधन गर्न नेप्सेका लागि तयार पारिएका ३१ देखि ३२ वटा नयाँ नियमन क्रमशः कार्यान्वयनमा लैजाने बोर्डको तयारी छ ।

प्रकाशित मिति : बुधबार, असोज १४, २०८३ | ११:४१:३९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया