सेबोन अध्यक्ष भट्टले लिए शपथ, लगानीकर्ताको हितलाई प्राथमिकता दिन अर्थमन्त्रीको निर्देशन
जलसरोकार
काठमाडौं : नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अध्यक्ष भट्टलाई शपथ गराएका हुन् । मन्त्रिपरिषद्को असार ५ गते बसेको बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।
शपथपछि अर्थमन्त्री वाग्लेले लगानीकर्ताको लगानीको सुरक्षा र हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक काम गर्न नवनियुक्त अध्यक्षलाई निर्देशन दिनुभयो। उहाँले पुँजीबजारमार्फत पुँजी परिचालन बढाई आर्थिक वृद्धिलाई गति दिने वातावरण निर्माण गर्न विशेष ध्यान दिन आग्रह गरे ।
अर्थमन्त्री वाग्लेले कुनै पनि प्रकारको लोभ, दबाब वा प्रभावमा नपरी निष्पक्ष रूपमा नियामकीय जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै बजारमा लगानीकर्ताको विश्वास बढाउने गरी काम गर्नुपर्ने बताए ।
उनले पुँजीबजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिनाको तथा वार्षिक कार्ययोजना तयार गरी कार्यान्वयन गर्न निर्देशन दिँदै बजारमा फैलिने अनावश्यक हल्ला र भ्रमलाई चिर्दै साना लगानीकर्ताको मनोबल बढाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।
"धेरै बोलेर होइन, नतिजामुखी काम गर्नुहोस्। मन्त्रालयबाट कुनै हस्तक्षेप हुँदैन, तर मलाई हरेक हप्ता बजारको प्रगति सम्बन्धी ब्रिफिङ चाहिन्छ," अर्थमन्त्री वाग्लेले भने ।
नवनियुक्त अध्यक्ष भट्टले सरकारको नीति र निर्देशनअनुसार पुँजीबजारको विकास, लगानीकर्ताको हित संरक्षण तथा आर्थिक वृद्धिमा योगदान पुग्ने गरी आफ्नो ज्ञान, अनुभव र सीपको पूर्ण उपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले पुँजीबजार सुधारका लागि विगतमा भएका अध्ययन, सुझाव र सिफारिसलाई कार्यान्वयन गर्दै बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन निरन्तर काम गर्ने बताए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो
-
त्रिशूली थ्री–ए उद्धारमा चुनौती, चट्टान भेटिएपछि कर्मचारीको अवस्थाप्रति चिन्ता बढ्दै
-
भोटेकोशी बाढी : त्रिशूली– थ्री 'बी' जलविद्युत्को सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली
-
भोटेकोशी बाढीले जलविद्युत् आयोजनामा ठूलो मानवीय संकट, अझै ८९८ जना सम्पर्कविहीन