सानिगाड हाइड्रोको आईपीओ जेठ १४ गतेदेखि खुल्ने, सर्वसाधारणका लागि ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन
जलसरोकार
काठमाडाैं : सानिगाड हाइड्रो लिमिटेड ले आगामी जेठ १४ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँट सम्पन्न गरिसकेको छ । अब बाँकी रहेको शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गर्न लागिएको हो ।
कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको थियो ।
जसमध्ये पहिलो चरणमा २८ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि तथा ५ लाख ७० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ ।
त्यस्तै, १ लाख ७१ हजार कित्ता शेयर कर्मचारीका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।
अब कम्पनीले बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँ बराबरको ४६ लाख ७४ हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि आवेदन दिन सकिनेछ भने अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । निष्काशन छिटोमा जेठ २० गते बन्द हुनेछ भने मागअनुसार आवेदन नपरे ढिलोमा जेठ २८ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा इक्रा नेपाल ले कम्पनीलाई “इक्रएनपी इस्यूअर रेटिङ डबल बी माइनस” प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने जनाइएको छ ।
कम्पनीले ३८.४६ मेगावाट क्षमताको माथिल्लो कालंगागाड जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।
आयोजनाको विद्युत उत्पादन अनुमतिपत्र अवधि अझै २५ वर्ष ३ महिना बाँकी रहेको छ । कम्पनीका अनुसार आयोजनाको साधारण लगानी फिर्ता अवधि ८.२५ वर्ष तथा डिस्काउन्ट गरिएको लगानी फिर्ता अवधि १४.६९ वर्ष रहेको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयमार्फत “सी–आस्बा” प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भूकम्पीय जोखिम सामना गर्न नेपालले विपद् बन्डको सम्भाव्यता अध्ययन गर्ने
-
विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा
-
एनएमबी बैंक र र्यापिड टेकबीच डिजिटल बैंकिङ सेवा विस्तार गर्न साझेदारी
-
सम्पर्कविहीन प्राधिकरणका ६ कर्मचारीका परिवारले पाए राहत
-
सङ्खुवासभाको विकट हटियामा पुग्यो राष्ट्रिय प्रसारण लाइनको विद्युत्
-
सुनकोशी-मरिनको बाँकी संरचना निर्माणका लागि तीन कम्पनीको प्राविधिक प्रस्ताव ग्राह्य