समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे
जलसरोकार
नवलपरासी : बर्दघाट सुस्ता पश्चिम नवलपरासीस्थित छिमेकी मित्रराष्ट्र भारतसँग जोडिएको महेशपुर मूल भन्सार सडक निर्माण कार्य पटक–पटक म्याद थपिँदा पनि सम्पन्न हुन सकेको छैन । निर्माण ढिलाइका कारण स्थानीयवासी धुलो र हिलोको सास्ती भोग्न बाध्य भएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको सडक डिभिजन कार्यालय बुटवलले महेशपुरदेखि हरपुरसम्मको एक किलोमिटर तथा सुनवल बजारको ५०० मिटर सडक निर्माणको जिम्मा गौरीशङ्कर हिमालयन कन्स्ट्रक्सन कम्पनीलाई दिएको थियो ।
विसं २०८० वैशाख २६ गते सम्झौता भई २०८१ वैशाख २६ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि हालसम्म करिब ६५ प्रतिशत मात्र काम सम्पन्न भएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर सुशील पौडेलले जानकारी दिए ।
उनका अनुसार सडक क्षेत्रमा रहेका बिजुलीका खम्बा तथा खानेपानीका पाइप सार्न ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको हो । निर्माण सम्पन्न गर्न जेठ मसान्तसम्म तेस्रो तथा अन्तिम पटक म्याद थप गरिए पनि हाल काम पुनः रोकिएको छ ।
निर्माण कम्पनीका प्रतिनिधि दिलीप लामाले अलकत्राको मूल्यवृद्धि र अभावका कारण काम प्रभावित भएको बताए । उनले आवश्यक निर्माण सामग्री सहज रूपमा उपलब्ध नहुँदा तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको दाबी गरे ।
निर्माण कार्य लामो समयसम्म अधुरै रहँदा स्थानीयवासी र यात्रुहरूले दैनिक समस्या भोगिरहेका छन् । पाल्हीनन्दन गाउँपालिका–२ का वडाध्यक्ष जगदीश गुप्ताले सडक धुलाम्मे र हिलाम्मे हुँदा सर्वसाधारणलाई आवतजावत गर्न कठिन भएको बताए ।
“पानी नपर्दा धुलोले बस्नै नसक्ने अवस्था छ, पानी पर्दा हिलोले सडक अवरुद्धजस्तै हुन्छ,” उनले भने, “भारतबाट आउने मालवाहक सवारीसाधनलाई समेत आवतजावतमा समस्या भइरहेको छ । निर्माण व्यवसायीको लापरबाहीले राज्यको रकम खेर गएको छ भने जनताले सास्ती खेप्नुपरेको छ ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपालमै बनेको कन्डक्टर भारत निर्यात : बदलिँदै औद्योगिक दिशा
-
समयमै निर्माण नसक्दा अलपत्र सडक, पानी पर्दा हिलाम्मे, नपर्दा धुलाम्मे
-
मेगावाटको गर्व, गुणस्तरको शून्यता
-
सुन र चाँदीको मूल्यमा घट्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
रानीजमरा कुलरिया सिँचाइ आयाेजनाबाट उत्पादित बिजुलीको हिसाब छैन, रकम असुल गर्न महालेखाको सुझाव
-
बाढीपहिरोले चार परिवार विस्थापित, जलविद्युत् आयोजनामा ठूलो क्षति