चुरे खण्डमा सडक चौडा होइन, सुरुङ आवश्यक : भूगर्भविद् दाहाल
जलसरोकार
काठमाडौँ : भूगर्भविद् रञ्जनकुमार दाहालले पूर्व-पश्चिम राजमार्गअन्तर्गत चुरे (शिवालिक) पहाडको संवेदनशील भू-भाग हुँदै जाने बनकासवास-सुराहीखोला-धानखोला-कालाकाँटे-लमही खण्डमा पहाड काटेर सडक चौडा गर्नु दीर्घकालीन समाधान नहुने भन्दै उक्त खण्डमा दुई लेनको सुरुङ निर्माण अपरिहार्य रहेको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै दाहालले दाउन्ने खण्डको अनुभवले चुरे क्षेत्रमा परम्परागत सडक विस्तार कति जोखिमपूर्ण र खर्चिलो हुन्छ भन्ने स्पष्ट देखाइसकेको उल्लेख गरेका छन्। उनका अनुसार चुरेजस्ता नाजुक भू-भागमा सडक चौडा गर्दा पहिरो, ढुंगा खस्ने घटना, निरन्तर सवारी अवरोध र वातावरणीय तथा आर्थिक क्षति झन् बढ्ने गरेको छ, जसको ठूलो भार राज्यले पटक-पटक व्यहोर्नु परेको छ।
दाहालका अनुसार बनकासवास-कालाकाँटे सुरुङ निर्माण भएमा पूर्व-पश्चिम राजमार्गको उक्त खण्ड पहिरो, मौसमजन्य अवरोध र सडक अवरुद्ध हुने समस्याबाट सुरक्षित हुनेछ। यसले चुरे क्षेत्रको भू-परिस्थितिक सन्तुलन संरक्षण गर्नुका साथै यात्रु र सवारीका लागि सुरक्षित, छिटो र भरपर्दो यातायात सुनिश्चित गर्ने उनको भनाइ छ।
उनले प्रस्तुत गरेको तथ्यांकअनुसार हाल दैनिक करिब ७ हजार सवारी साधन सञ्चालनमा रहेको बनकासवास-कालाकाँटे खण्डको दूरी १४ किलोमिटर छ, जुन सुरुङ निर्माणपछि ५.५ किलोमिटरमा सीमित हुनेछ। सुरुङ तथा पुलको कुल लम्बाइ करिब ४.१ किलोमिटर रहने र पहुँच सडकसहित अनुमानित लागत करिब १८ अर्ब रुपैयाँ हुने दाहालले उल्लेख गरेका छन्।
हाल यो १४ किलोमिटर खण्डमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा वार्षिक करिब २ अर्ब १२ करोड रुपैयाँ खर्च भइरहेको र त्यसको ठूलो हिस्सा भारततर्फ जाने गरेको दाहालको दाबी छ। सुरुङ सञ्चालनमा आएपछि वार्षिक खर्च घटेर करिब ३८ करोड रुपैयाँमा सीमित हुने र लगानी ८ वर्षमै उठ्ने सम्भावना रहेको उनले उल्लेख गरेका छन्।
सुरुङ निर्माणपछि हालको सडक खण्डलाई जियो-टुरिज्म र एड्भेन्चर रोडका रूपमा विकास गर्न सकिने सम्भावना समेत दाहालले औँल्याएका छन्। यसले शिवालिक चट्टानको वैज्ञानिक अध्ययन, पर्यटक आकर्षण र स्थानीय तहका लागि दिगो आम्दानीको स्रोत सिर्जना गर्ने उनको भनाइ छ।
“सडक आवश्यक छ, तर सुरक्षित, वैज्ञानिक र दिगो सडक अझ महत्वपूर्ण छ,” दाहालले लेखेका छन्, “आधुनिक प्रविधि र भू-इञ्जिनियरिङ समाधान अपनाउँदै बनकासवास-कालाकाँटे सुरुङ निर्माणका लागि तत्काल नीतिगत निर्णय गर्नुपर्छ।”
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नयाँ वैकल्पिक शक्तिहरूको एकताको नेतृत्व उज्यालो नेपालले गर्छ : कुलमान घिसिङ
-
चुरे खण्डमा सडक चौडा होइन, सुरुङ आवश्यक : भूगर्भविद् दाहाल
-
जलविद्युत् व्यवसायी सुमनकुमारी जोशी रास्वपाको समानुपातिक उम्मेदवार
-
ऊर्जामन्त्री घिसिङका सय दिन : बक्यौता असुलीदेखि ठूला जलविद्युत् आयोजनामा लगानीको सुनिश्चितता
-
उच्च मूल्य रेकर्डपछि घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?
-
मेला, महोत्सवले आर्थिक र पर्यटन विकासमा योगदान पुर्याउँछ :अध्यक्ष ढकाल