भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नवीकरण
जलसरोकार
काठमाडौं : भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स) मार्फत प्रतिस्पर्धी दरमा आयात गर्न नेपाललाई दिँदै आएको अनुमति नवीकरण गरेको छ ।
भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आईएक्सको डे-अहेड मार्केट (डिएएम) र रियल-टाइम मार्केट (आरटिएम) बाट चौबीसै घण्टा (आरटिसी मोड) ६५४ मेगावाट विद्युत् आयात गर्न नेपाललाई पुनः अनुमति दिएको हो । यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिन लागेकाले समयमै नवीकरण गरिएको हो ।
नेपाल विद्युत प्राधिकरणका अनुसार ढल्केवर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर-महेन्द्रनगर प्रसारण लाइनमार्फत थप ५४ मेगावाट गरी कुल ६५४ मेगावाट विद्युत प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति प्राप्त भएको छ ।
प्राधिकरणले पुस १७ गतेदेखि चैत १७ गतेसम्म (१ जनवरीदेखि ३१ मार्च २०२६) का लागि विद्युत आयातको अनुमति पाएको जनाएको छ । चैत १८ गतेदेखि भदौ १५ गतेसम्म (१ अप्रिलदेखि ३१ अगस्ट २०२६) को अवधिका लागि अनुमति नवीकरण प्रक्रिया भने पछि गरिने प्राधिकरणको भनाइ छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मंगलबार भारतको विद्युत मन्त्रालयका अधिकारीहरूसँग टेलिफोन संवाद गरी आरटिसी मोडमा विद्युत् आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गरेका थिए ।
मन्त्री घिसिङले आरटिसी मोडमा विद्युत् आयातको अनुमति नवीकरण भएपछि हिउँदयाममा हुने विद्युत् माग-आपूर्ति व्यवस्थापन गर्न सहज हुने बताएकाछन् । उनका अनुसार स्वदेशी जलविद्युत उत्पादन घट्ने हिउँदमा प्रतिस्पर्धी दरमा आयात हुने विद्युतले लोडसेडिङको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।
नेपाल विद्युत प्राधिकरणले आन्तरिक उत्पादन पर्याप्त नभएको समयमा भारतीय बजारबाट विद्युत् आयात गर्दै आएको छ भने वर्षायाममा अतिरिक्त विद्युत् भारत निर्यातसमेत गर्दै आएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
जीडीपीको अनुपातमा बजेट सानो, विद्युत् पूर्वाधार विस्तारका लागि कर आवश्यक : अर्थमन्त्री वाग्ले
-
विद्युत् प्रणाली अपग्रेड नगरी विद्युतीय युग सम्भव छैन : प्रधानमन्त्री शाह
-
खानेपानीमा सरकारकाे बजेट : तराई–मधेशमा डिप बोरिङ, मेलम्ची अन्तर्गत याङ्ग्री र लार्के खोलाबाट थप पानी पथान्तरणका लागि अध्ययन
-
बजेट २०८३/८४ : ऊर्जा क्षेत्रका अवसर र कमजोरीहरू
-
सुनको मूल्यमा भारी वृद्धि, तोलामा २० हजार ५०० रुपैयाँले उकालो
-
आगामी आवदेखि ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनालाई ठेक्कामा लैजाने सरकारको घोषणा