सुनको मूल्य कुलमान घिसिङ सेयर बजार दीपक खड्का नेपाल विद्युत प्राधिकरण ग्लोबल आइएमई बैंक नबिल बैंक पूर्वाधार सिक्टा सिँचाइ प्रधानमन्त्री कार्की
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

भारतबाट ६५४ मेगावाट विद्युत आयात अनुमति नविकरण

जलसरोकार
बुधबार, पुस १६, २०८२ | १४:५२:२६ बजे

 

काठमाडौं : भारत्ले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आईएक्स) मार्फत प्रतिस्पर्धी दरमा आयात गर्न नेपाललाई दिँदै आएको अनुमति नवीकरण गरेको छ ।

भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले आईएक्सको डे–अहेड मार्केट (डिएएम) र रियल–टाइम मार्केट (आरटिएम) बाट चौबीसै घण्टा (आरटिसी मोड) ६५४ मेगावाट विद्युत् आयात गर्न नेपाललाई पुनः अनुमति दिएको हो । यसअघि दिइएको अनुमतिको म्याद बुधबार सकिन लागेकाले समयमै नवीकरण गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार ढल्केवर–मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत ६०० मेगावाट र टनकपुर–महेन्द्रनगर प्रसारण लाइनमार्फत थप ५४ मेगावाट गरी कुल ६५४ मेगावाट विद्युत प्रतिस्पर्धी दरमा आयात गर्न अनुमति प्राप्त भएको छ ।

प्राधिकरणले पुस १७ गतेदेखि चैत १७ गतेसम्म (१ जनवरीदेखि ३१ मार्च २०२६) का लागि विद्युत आयातको अनुमति पाएको जनाएको छ । चैत १८ गतेदेखि भदौ १५ गतेसम्म (१ अप्रिलदेखि ३१ अगस्ट २०२६) को अवधिका लागि अनुमति नवीकरण प्रक्रिया भने पछि गरिने प्राधिकरणको भनाइ छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मंगलबार भारतको विद्युत मन्त्रालयका अधिकारीहरूसँग टेलिफोन संवाद गरी आरटिसी मोडमा विद्युत् आयात गर्न पाउने गरी अनुमति नवीकरण गरिदिन आग्रह गरेका थिए ।

मन्त्री घिसिङले आरटिसी मोडमा विद्युत् आयातको अनुमति नवीकरण भएपछि हिउँदयाममा हुने विद्युत् माग–आपूर्ति व्यवस्थापन गर्न सहज हुने बताएकाछन् ।  उनका अनुसार स्वदेशी जलविद्युत उत्पादन घट्ने हिउँदमा प्रतिस्पर्धी दरमा आयात हुने विद्युतले लोडसेडिङको जोखिम न्यूनीकरण गर्न सहयोग पुग्नेछ ।

नेपाल विद्युत प्राधिकरणले आन्तरिक उत्पादन पर्याप्त नभएको समयमा भारतीय बजारबाट विद्युत् आयात गर्दै आएको छ भने वर्षायाममा अतिरिक्त विद्युत् भारत निर्यातसमेत गर्दै आएको छ ।

प्रकाशित मिति : बुधबार, पुस १६, २०८२ | १४:५२:२६ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया