सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

ऋण तिर्नै ऋणको सहारा, सरकारको आन्तरिक ऋण ४ वर्षमै २८ प्रतिशत बढ्यो

जलसरोकार
बिहीबार, असोज २२, २०८३ | १४:०१:१० बजे

 

काठमाडौँ : सरकारले पछिल्लो समय लिएको आन्तरिक ऋणको ठूलो हिस्सा नयाँ विकास निर्माणमा खर्चिनुभन्दा पुरानो ऋणको साँवा भुक्तानीमै प्रयोग गर्न थालेको पाइएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदनले आन्तरिक ऋणको परिचालन बढ्दै गए पनि त्यसको ठूलो हिस्सा पुरानो ऋण तिर्नमै खर्च भइरहेको देखाएको हो।

आयोगका अनुसार यसरी ऋण सेवा खर्च बढ्दै जाँदा नयाँ पुँजी निर्माण र अर्थतन्त्र विस्तारमा आन्तरिक ऋणले अपेक्षित योगदान दिन सकेको छैन। मुलुकको कुल गार्हस्थ्य उत्पादनको तुलनामा आन्तरिक ऋणको अनुपात पछिल्ला वर्षमा करिब ५ प्रतिशतको हाराहारीमा रहे पनि ऋणको वास्तविक रकम भने निरन्तर बढ्दै गएको छ।

आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा आन्तरिक ऋण ४५ प्रतिशतले बढेको आयोगको प्रतिवेदनमा उल्लेख छ। तर परिचालित आन्तरिक ऋणको ठूलो हिस्सा नयाँ विकास आयोजनामा भन्दा पुरानो ऋणको साँवा भुक्तानीमा प्रयोग भइरहेको छ। आर्थिक वर्ष २०८१/८२ मा खुद आन्तरिक ऋण परिचालन कुल गार्हस्थ्य उत्पादनको १.४१ प्रतिशत मात्र रहेको आयोगले जनाएको छ।

आयोगले ऋण सेवा खर्च निरन्तर बढ्दै गएकाले परिचालित अधिकांश आन्तरिक ऋण पुरानो ऋण भुक्तानीमै प्रयोग भएको निष्कर्ष निकालेको छ। यसले नयाँ पुँजी निर्माण तथा अर्थतन्त्र विस्तारमा ऋण परिचालनबाट अपेक्षित प्रतिफल हासिल हुने अवस्था कमजोर बनाएको प्रतिवेदनमा उल्लेख छ।

नेपालको कुल सार्वजनिक ऋणको भारसमेत पछिल्ला वर्षमा बढ्दै गएको छ। आर्थिक वर्ष २०७७/७८ मा कुल तिर्न बाँकी सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४०.७२ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा बढेर ४३.७९ प्रतिशत पुगेको छ।

त्यस्तै, ऋणको साँवा तथा ब्याज भुक्तानीको दायित्व पनि बढेको छ। कुल गार्हस्थ्य उत्पादनको अनुपातमा ऋणको साँवा भुक्तानी आर्थिक वर्ष २०७७/७८ मा १.४१ प्रतिशत रहेकामा २०८१/८२ मा बढेर ४.७७ प्रतिशत पुगेको छ। सोही अवधिमा ब्याज तथा कमिसन भुक्तानीको हिस्सा ०.८१ प्रतिशतबाट बढेर १.१५ प्रतिशत पुगेको आयोगले जनाएको छ।

ऋण सेवा खर्च बढ्दै जाँदा बजेट घाटामा थप चाप पर्ने र पुँजीगत बजेट विनियोजनमा संकुचन आउने अवस्था देखिएको आयोगको विश्लेषण छ। सार्वजनिक ऋणको हिस्सा बढ्दै गए पनि आर्थिक वृद्धिदर र निर्यात कमजोर रहनुका साथै राजस्वको हिस्सा घट्दै गएकाले ऋण परिचालन गर्दा आर्थिक गतिविधि विस्तारमा सकारात्मक प्रभाव पर्ने सुनिश्चितता गर्न आयोगले जोड दिएको छ।

चार वर्षमा आन्तरिक ऋण दायित्व २८ प्रतिशत बढ्यो

सरकारले आयोगले सिफारिस गरेको सीमाभित्र रहेर आन्तरिक ऋण परिचालन गरे पनि तिर्न बाँकी आन्तरिक ऋण भने निरन्तर बढेको छ। आर्थिक वर्ष २०७८/७९ मा ९ खर्ब ८७ अर्ब रुपैयाँ रहेको तिर्न बाँकी आन्तरिक ऋण करिब २८ प्रतिशतले बढेर आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म १२ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ।

यो रकम कुल गार्हस्थ्य उत्पादनको २०.६८ प्रतिशत बराबर हो। आयोगका अनुसार आर्थिक वर्ष २०८१/८२ मा तोकिएका आयोजनामा बजेट अपुग भएको अवस्थामा तथा प्रदेश र स्थानीय तहले आन्तरिक ऋण परिचालन नगरेको अवस्थामा तोकिएको थप सीमाभित्र रहेर संघीय सरकारले आन्तरिक ऋण परिचालन गरेको थियो।

आन्तरिक ऋण परिचालनको आकारसमेत बढेको छ। आर्थिक वर्ष २०७७/७८ मा २ खर्ब २४ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन भएकामा ४७.३२ प्रतिशतले बढेर आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ।

कुल परिचालित आन्तरिक ऋणमा दीर्घकालीन उपकरणको हिस्सा आर्थिक वर्ष २०७७/७८ मा ५९.८२ प्रतिशत रहेको थियो। यो हिस्सा २०८०/८१ मा बढेर ७६.५० प्रतिशत पुगे पनि २०८१/८२ मा पुनः घटेर ६५.१५ प्रतिशतमा झरेको छ।

सरकारले आन्तरिक ऋण परिचालन गर्दा दीर्घकालीन उपकरणको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आयोगले सुझाव दिएको छ। सकेसम्म दीर्घकालीन उपकरणमार्फत आन्तरिक ऋण परिचालन गर्ने नीति निरन्तरता दिनुपर्ने आयोगको भनाइ छ।

चालु खर्च धान्न पनि ऋणकै भर

सरकारको चालु खर्च निरन्तर बढिरहे पनि त्यसअनुसार राजस्व सङ्कलन बढ्न नसकेको आयोगले जनाएको छ। आर्थिक वर्ष २०८०/८१ सम्म संघीय सरकारको राजस्व आम्दानीभन्दा आन्तरिक ऋणको वित्तीय व्यवस्थापन खर्च र चालु खर्चको योगफल बढी रहेको प्रतिवेदनमा उल्लेख छ।

यसले सरकारको नियमित खर्च धान्नसमेत ऋणमा निर्भरता बढ्दै गएको देखाएको छ। आयोगले चालु खर्चमा मितव्ययिता अपनाउनुका साथै राजस्वको दायरा विस्तार, कुशल राजस्व व्यवस्थापन तथा प्रशासनिक सुधारमार्फत राजस्व सङ्कलन बढाउन सरकारलाई सुझाव दिएको छ।

सरकारको समग्र वित्तीय अवस्था पनि पछिल्ला वर्षमा दबाबमा रहेको प्रतिवेदनले देखाएको छ। आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म सरकार निरन्तर बजेट घाटामा रहेको छ। सबै आर्थिक वर्षमा सरकारको कुल बचत ऋणात्मक रहेको आयोगले जनाएको छ।

आर्थिक वर्ष २०७९/८० मा कुल बचत सबैभन्दा बढी ५.८० प्रतिशतले ऋणात्मक रहेको थियो। आर्थिक वर्ष २०८२/८३ मा पनि कुल बचत ३.०८ प्रतिशतले ऋणात्मक रहेको छ।

प्राथमिक बचतको अवस्था पनि कमजोर बनेको छ। आर्थिक वर्ष २०८०/८१ मा १.०५ प्रतिशत सकारात्मक रहेको प्राथमिक बचत २०८२/८३ मा १.५६ प्रतिशतले ऋणात्मक भएको छ।

कुल बचत र प्राथमिक बचत दुवै ऋणात्मक रहनु तथा पछिल्ला वर्षमा वित्तीय अवस्था थप कमजोर बन्दै जानुले सरकारमाथि थप ऋण परिचालन गर्नुपर्ने दबाब बढाएको आयोगको प्रतिवेदनले देखाएको छ।

प्रकाशित मिति : बिहीबार, असोज २२, २०८३ | १४:०१:१० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया