त्रिभुवन विमानस्थलमा हवाई उडान नियमित सञ्चालन
जलसरोकार
काठमाडौँ: त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार साँझदेखि आन्तरिक र अन्तरराष्ट्रिय दुवै हवाई उडान नियमित रूपमा सञ्चालन भइरहेको छ ।
विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेका अनुसार विगतका दिनझैँ उडानहरू सामान्य रूपमा भइरहेका छन् । यात्रु आवागमन सहज बनाउन सुरक्षा निकायसँग समन्वय गरिएको छ । उनले भने,“विगतका दिनहरूमा जस्तै आन्तरिक र अन्तरराष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन भइरहेको छ । यात्रुलाई कुनै असुविधा नहोस् भनेर आवश्यक व्यवस्था मिलाइएको छ ।”
हालको उडान तालिका भन्दा थप उडान गर्न नसकिने भए पनि नियमित क्षमतामा उडान भैरहेको विमानस्थलले जनाएको छ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी रहेकाले यात्रुलाई परिचय खुल्ने कागजातका आधारमा आवतजावत सहज बनाइएको छ । नेपाल पर्यटन बोर्डले विदेशी पर्यटकका लागि सटल बसको व्यवस्था मिलाएको छ भने वायुसेवा कम्पनीहरूले आफ्ना यात्रुलाई गन्तव्यसम्म पु¥याउने व्यवस्था गरिरहेका छन् ।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार आज बिहानदेखि नै नियमित रूपमा उडानहरू सञ्चालन भइरहेका छन् । पछिल्ला दिनमा रोकिएका यात्रुलाई प्राथमिकताका आधारमा गन्तव्यसम्म लैजाने कार्य भइरहेको उनले बताए ।
‘जेनजी पुस्ता’का कारण उत्पन्न विषम परिस्थितिअनुसार भदौ २४ गतेदेखि विमानस्थल बन्द गरिएको थियो । तर विमानस्थल सुरक्षा समितिको निर्णयअनुसार बुधबार दिउँसो ३ः३० बजेदेखि उडान पुनः सुरु गर्ने निर्णय गरिएपछि साँझदेखि उडानहरू सञ्चालनमा आएका हुन् ।
विमानस्थलले यात्रुलाई आधिकारिक टिकट र परिचय खुल्ने कागजातसहित समयमै विमानस्थल पुग्न आग्रह गरेको छ ।
त्रिभुवन विमानस्थल हुँदै दैनिक तीन सयभन्दा बढी उडान हुने गर्छ । यसमध्ये आन्तरिकतर्फ करिब २५० भन्दा बढी र अन्तरराष्ट्रियतर्फ १०० हाराहारी उडान हुन्छन् । हाल आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनी र अन्तरराष्ट्रिय क्षेत्रमा तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले नियमित सेवा दिइरहेका छन् ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्यमा भारि गिरावट, आज कतिमा हुँदैछ बजारमा किनबेच ?
-
विद्युत् लाइन मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
लोडसेडिङ अन्त्यबाट विद्युत् निर्यातसम्मको यात्रा साझा सफलता : कुलमान घिसिङ
-
पहिरो र कटानले नौ सडकखण्ड पूर्ण अवरुद्ध
-
विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष धितालद्वारा शपथ ग्रहण
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना