जापानी सहयोगमा बिपी राजमार्गअन्तर्गत पिप्लेदेखि बर्खेखोलासम्मको सडकखण्ड पुनःनिर्माण सुरु, दुई लेनमा स्तरोन्नति गरिने
जलसरोकार
काभ्रेपलाञ्चोक : जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोलासम्मको सडकखण्ड पुनःनिर्माण कार्य आजदेखि औपचारिक रुपमा सुरु गरिएको छ ।
नेपालका लागि माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रुपमा परियोजनाको शिलान्यास गरेका हुन् ।
जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा तीन दशमलव दुई किलोमिटर सडकखण्ड पुनःनिर्माण सुरु गरिएको सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए ।
उनकाे अनुसार २०८१ असोज १२ गतेको बाढीपहिरोका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीका करिब ३० किलोमिटर सडकखण्डमा ठूलो क्षति पुगेको थियो । सोही क्षतिग्रस्त खण्डको पुनःनिर्माण तथा स्तरोन्नतिको काम अहिले तीव्र रुपमा अघि बढाइएको हो ।
पिप्ले–बर्खेखोला सडकखण्ड निर्माणको जिम्मा जापानस्थित सिमिजु निर्माण कम्पनीले लिएको छ । जापान सरकारले दुई अर्ब ८० करोड येन अनुदान उपलब्ध गराउने गरी २०८२ कात्तिक १३ गते नेपाल–जापानबीच द्विपक्षीय सम्झौता भएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछि निर्माण कार्य सुरु गरिएको जनाइएको छ ।
यसअघि जाइका टोलीले क्याम्प निर्माण, अस्थायी सडक निर्माणलगायत पूर्वतयारीका काम सम्पन्न गरिसकेको थियो । हाल बिपी राजमार्गका क्षतिग्रस्त चारवटा सडकखण्डमा पुनःनिर्माण कार्य जारी रहेको छ ।
सडक डिभिजन कार्यालयका अनुसार काभ्रेपलाञ्चोकतर्फ ठेक्का लागेका तीनवटा सडकखण्डमा हालसम्म करिब २५ प्रतिशत प्रगति भएको छ । गत वर्षको बाढीपहिरो र यस वर्षको वर्षाले थप क्षति पुर्याएपछि गत मङ्सिरदेखि स्थायी पुनःनिर्माण प्रक्रिया अघि बढाइएको हो ।
क्षतिग्रस्त क्षेत्रमा आरसिसी पर्खाल निर्माण, खोलाबाट प्लम्प पर्खाल लगाउने तथा सडक चौडा बनाउने कामसमेत भइरहेको छ । डालाबेँसी, मङ्गलटार, चारसयबेँसी र नार्के क्षेत्रका सडकलाई थप सुरक्षित र फराकिलो बनाइँदैछ ।
बाढीले पूर्ण रुपमा बगाएका स्थानमा भविष्यमा पुनः क्षति नपुग्ने गरी नयाँ संरचनात्मक डिजाइन अपनाइएको कार्यालयले जनाएको छ । यस वर्ष संरचना निर्माण र सडक चौडाइको अधिकांश काम सम्पन्न गर्ने तथा आगामी वर्ष कालोपत्रेसहित बाँकी काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
पुनःनिर्माणसँगै बिपी राजमार्गलाई दुई लेनमा स्तरोन्नति गरिने भएको छ । हाल रहेका पुलसँगै थप पुल निर्माण गरी पाँच वटा पुललाई दुई लेनमा विस्तार गरिने योजना रहेको इन्जिनियर योगेशले बताए ।
डालाबेँसीदेखि चारसयबेँसीसम्मको ८ दशमलव ५ किलोमिटर सडक निर्माणका लागि खानी–एवन–कमलजीत जेभीसँग रु एक अर्ब ४२ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको छ । यस्तै चारसयबेँसीदेखि भकुण्डेबेँसीसम्मको ११ दशमलव ०८ किलोमिटर सडक लामा–नवकान्तिपुर जेभीले रु एक अर्ब ३३ करोड ५३ लाखमा निर्माण गर्नेछ । नेपालथोकदेखि बर्खेखोलासम्मको ४ दशमलव ९० किलोमिटर सडक खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीले रु ६१ करोडमा निर्माण गर्ने गरी सम्झौता गरिएको छ ।
सरकारले क्षतिग्रस्त सडकखण्ड पुनःनिर्माणका लागि रु आठ अर्ब ५० करोड स्रोत सुनिश्चित गरिसकेको छ । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डका लागि रु एक अर्ब विनियोजन गरिएको छ ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट सुरु भएको १६० किलोमिटर लामो बिपी राजमार्ग २०७२ असार १८ गते औपचारिक रुपमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
इप्पानलाई ‘महासंघ’ बनाउने प्रक्रियामाथि कानुनी प्रश्न, अर्को कानुनी रायले भन्यो– हालको निर्णय कार्यान्वयन गर्न वैधानिक आधार कमजोर
-
नेप्से ९.२४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो
-
प्राधिकरणमा राजस्वपछि खाजस्व
-
काठमाडौंको मध्यभागमा १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण हुने
-
तोलामा १ हजार ३ सय रुपैयाँले सुन सस्तियो
-
नेप्सेमा कालिन्चोक हाइड्रोपावरको पहिलो कारोबार, प्रतिकित्ता मूल्य ३०० रुपैयाँ कायम