मितेरी पुल बग्दा रसुवा भन्सारको राजस्व लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व सङ्कलन
जलसरोकार
काठमाडौं : रसुवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा १३ अर्ब ६४ करोड ६० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ। गत वर्ष ल्हेन्दे खोलामा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएपछि व्यापारिक गतिविधि प्रभावित हुँदा लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुङ्गानाका अनुसार गत आर्थिक वर्षका लागि ४० अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो। तर मितेरी पुल बगेर आयात–निर्यात गतिविधि लामो समय अवरुद्ध भएपछि लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको हो।
उनका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ का लागि रसुवा भन्सार कार्यालयलाई २५ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको छ।
रसुवागढी नाकाबाट गत आर्थिक वर्ष ४३ अर्ब ७३ करोड रुपैयाँ बराबरका विभिन्न वस्तु नेपाल भित्रिएका थिए। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भने सो नाकाबाट ८५ अर्ब २३ करोड रुपैयाँ बराबरका सामग्री आयात भएको थियो। यसले बाढीपछिको अवरोधका कारण आयात व्यापारमा उल्लेख्य गिरावट आएको देखाएको छ।
चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङबाट दैनिक उपभोग्य वस्तु, तयारी पोसाक, विद्युतीय सामग्री, जलविद्युत् आयोजनाका उपकरण, विद्युतीय सवारीसाधन तथा औद्योगिक सामग्री यही नाकामार्फत नेपाल भित्रिने गरेका छन्।
भन्सार कार्यालयका अनुसार रोल कपडा, तयारी पोसाक, जुत्ता–चप्पल, थर्मस, खेलौना, अदुवा, लसुन, अङ्गुर, ओखर, स्याउ, कुकर, विद्युतीय सवारीसाधन तथा बालबालिकाका विभिन्न सामग्री रसुवागढी नाकाबाट आयात हुने प्रमुख वस्तु हुन्।
सूचना अधिकारी करवीर गैह्रेका अनुसार प्राकृतिक विपद्का कारण सडक सञ्जाल कहिले र कहाँ अवरुद्ध हुन्छ भन्ने अनिश्चितता रहे पनि चालु आर्थिक वर्षका लागि २५ अर्ब ५० करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको छ।
वर्षायाममा हुने अवरोध न्यूनीकरणका लागि यस वर्ष सडक सुधारमा चिनियाँ ठेकेदार कम्पनी उपकरणसहित तयारी अवस्थामा रहेको तथा रसुवागढी नाकामा बेली ब्रिज निर्माण भइसकेकाले सडक लामो समय अवरुद्ध नहुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माण्डु हाइड्रोपावरको नाफा ४१५ प्रतिशत वृद्धि, विद्युत बिक्री आम्दानी ७९ करोड नाघ्यो
-
राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक : अर्थमन्त्री वाग्ले
-
मितेरी पुल बग्दा रसुवा भन्सारको राजस्व लक्ष्यको करिब एक तिहाइ मात्र राजस्व सङ्कलन
-
सुनको मूल्य सामान्य घट्यो, चाँदीको मूल्य बढ्यो
-
एनएमबी बैंकको खुद नाफा ४० प्रतिशतले बढ्यो, ४ अर्ब रुपैयाँ नाघ्यो
-
भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै