सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

वर्षाले देशभरका सडक प्रभावित, विभिन्न राजमार्गमा यातायात अवरुद्ध

जलसरोकार
बुधबार, भदौ ०३, २०८३ | ११:२९:१९ बजे

 

काठमाडौं : लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन्। पहिरो, बाढी, सडक भासिने तथा हिलो जम्ने समस्याका कारण केही प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

प्रहरी प्रधान कार्यालयले आज बिहान १०ः३० बजेसम्म सार्वजनिक गरेको विवरणअनुसार काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सडक वर्षाबाट प्रभावित भएका छन्।

खुर्कोट–नेपालथोक सडकमा राति सवारी बन्द

काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राखेर रातिको समयमा सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

उक्त सडकखण्डमा साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म यातायात बन्द गरिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन गर्न दिइएको प्रहरीले जनाएको छ।

मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

नुवाकोटको टोखा–छहरे सडकखण्डमा अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनलाई राति १० बजेदेखि बिहान ५ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा अर्को सूचना जारी नभएसम्म रातिको समयमा सवारीसाधन चलाउन नपाइने जनाइएको छ।

यी सडक पूर्ण रूपमा अवरुद्ध

वर्षाका कारण इलाम नगरपालिका–९ राजदुवालीमा हिलो जम्दा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्गमा इकु पहिरो खसेको छ। सोही गाउँपालिका–२ लिपिङमा सडक भासिएपछि उक्त राजमार्गसमेत पूर्ण रूपमा अवरुद्ध भएको छ।

रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेस्थित त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी सडकखण्ड त्रिशूली नदीले कटान गरेपछि पूर्ण रूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोका कारण पूर्ण रूपमा बन्द भएको छ।

त्यस्तै, सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडास्थित कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक करिब १० मिटर भासिएपछि पूर्ण रूपमा अवरुद्ध भएको छ।

लमजुङको बेँसीसहर–मनाङ सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

सावधानी अपनाउन प्रहरीको आग्रह

वर्षाका कारण सडक अवरुद्ध भएका स्थानमा पहिरो तथा बाढीको जोखिम अझै कायम रहेकाले प्रहरीले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयले सडकको अवस्था हेरेर मात्र यात्रा गर्न तथा आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

लगातार वर्षा भइरहेकाले सडक खुलाइएको स्थानमा समेत जुनसुकै बेला पहिरो तथा बाढी आउन सक्ने जोखिम रहेकाले अत्यावश्यक अवस्थामा बाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न सम्बन्धित निकायले आग्रह गरेका छन्।

प्रकाशित मिति : बुधबार, भदौ ०३, २०८३ | ११:२९:१९ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया