एमसीसी अन्तर्गत बन्ने प्रसारण लाइन दायाँ–बायाँ संरचना र रुख रोप्न रोक
जलसरोकार
काठमाडौं: सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत निर्माण हुने ४ सय केभी विद्युत् प्रसारण लाइनको दायाँ–बायाँ क्षेत्रमा संरचना निर्माण तथा रुख रोप्न नपाइने गरी तय स्थानको सूची सार्वजनिक गरेको छ ।
अर्थ मन्त्रालयका अनुसार प्रसारण लाइनको दायाँ–बायाँ २३/२३ मिटर क्षेत्रफलभित्र घर, टहरा, पर्खाललगायत कुनै पनि संरचना निर्माण गर्न तथा रुख रोप्न पाइने छैन । यो आयोजना अन्तर्गत कुल १ हजार ३ सय ८१ हेक्टर जमिनमा यस्तो रोक लगाइएको मन्त्रालयले जनाएको छ ।
सरकारले विद्युत् प्रसारण लाइनको सुरक्षा, मर्मतसम्भार सहजता र दुर्घटना न्यूनीकरणलाई ध्यानमा राख्दै ‘राइट अफ वे’ (Right of Way) क्षेत्र तोकेको हो ।
मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल विकास समितिले निर्माण गर्ने ४ सय केभी विद्युत् प्रसारण लाइनका लागि मन्त्रिपरिषद् बैठकबाट निर्णय गरिएको हो । निर्णयअनुसार तोकिएको क्षेत्रभित्र विद्युत् प्रसारण लाइनमा अवरोध पु-याउने गतिविधि रोक्न निर्देशन दिइएको छ ।
सरकारले रुख रोप्न तथा संरचना बनाउन रोक लगाइएका क्षेत्रको सूची सार्वजनिक गर्दै विभिन्न जिल्लाका प्रसारण लाइन आसपासका स्थानहरूलाई निषेधित क्षेत्रमा राखेको छ ।
सूची अनुसार बर्दघाट पूर्व, बर्दघाट सुस्ता पश्चिम, पाल्पा, तनहुँ, चितवन, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर र काठमाडौं जिल्लामा प्रसारण लाइन दायाँ–बायाँ तोकिएको क्षेत्रमा संरचना निर्माण गर्न नपाइने व्यवस्था गरिएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार तोकिएको क्षेत्रमा संरचना निर्माण तथा रुख रोपाइँ गरेमा आयोजना कार्यान्वयनमा बाधा पुग्ने भएकाले स्थानीय तह, नागरिक तथा सरोकारवालालाई नियम पालना गर्न आग्रह गरिएको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
आठ पासदेखि पीएचडी मन्त्रीसम्म: मूल्यवृद्धि उस्तै किन?
-
२०८२ सालमा सुनको मूल्य : वर्षभर निरन्तर वृद्धि र रेकर्ड उचाइ
-
नयाँ वर्षको पहिलो दिन सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा कारोबार ?
-
इन्धन महँगी र अभावले ठूला आयोजना संकटमा
-
दुई सातामै ऊर्जामन्त्री श्रेष्ठको ‘डेलिभरी ड्राइभ’ : नीतिगत सुधारदेखि सेवा प्रवाहसम्म तीव्रता
-
ऊर्जा उत्पादन, खपत विस्तार र निजी क्षेत्रको सहकार्यमा जोड