सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

जलसरोकार
बुधबार, असार २४, २०८३ | १५:२४:०१ बजे

 

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले उद्योग व्यवसाय, लगानी वातावरण तथा आर्थिक सुधारका विषयमा निजी क्षेत्रका प्रतिनिधिहरूसँग उच्चस्तरीय छलफल गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको छलफलमा मुलुकको आर्थिक गतिविधिलाई चलायमान तथा सशक्त बनाउने, उद्योग व्यवसाय सञ्चालनलाई सहज बनाउने, लगानीमैत्री वातावरण निर्माण गर्ने, नीतिगत तथा प्रक्रियागत अवरोध हटाउने तथा रोजगारी सिर्जना र उत्पादन वृद्धि गर्ने विषयमा विस्तृत विमर्श भएको थियो।

छलफलका क्रममा प्रधानमन्त्री शाहले देशको आर्थिक विकास, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धिमा निजी क्षेत्र सरकारको महत्वपूर्ण साझेदार रहेको बताउनुभयो। उद्योगी–व्यवसायीहरूले भोगिरहेका व्यावहारिक समस्या समाधान गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे । 

निजी क्षेत्रका प्रतिनिधिहरूले उद्योग–व्यवसाय प्रवर्द्धन, लगानी विस्तार, नीतिगत स्थिरता, सेवा प्रवाहमा सरलता तथा सरकार र निजी क्षेत्रबीच नियमित तथा परिणाममुखी संवादको आवश्यकता औँल्याउँदै विभिन्न सुझाव प्रस्तुत गरेका थिए।

प्रधानमन्त्री शाहले प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक लिइएको बताउँदै सम्बन्धित निकायमार्फत आवश्यक सहजीकरण र सुधारका काम अघि बढाइने जानकारी दिए । आर्थिक सुधारको अभियानमा सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्ने उनकाे भनाइ थियो।

छलफलमा अञ्जन श्रेष्ठ, उज्ज्वलकुमार श्रेष्ठ, राजेशकुमार अग्रवाल, डा. घनश्याम ओझा, कमलेशकुमार अग्रवाल तथा दीपक मल्होत्रा सहभागी थिए । 

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, प्रमुख स्वकीय सचिव सुवास शर्मा तथा प्रतिनिधिसभा सदस्य विदुषी राणा को पनि सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच भएको उक्त छलफलले उद्योग व्यवसाय प्रवर्द्धन, लगानी वातावरण सुधार, सरकार–निजी क्षेत्र सहकार्यको विस्तार तथा निजी क्षेत्रमैत्री नीतिनिर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

प्रकाशित मिति : बुधबार, असार २४, २०८३ | १५:२४:०१ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया