अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
जलसरोकार
काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल इन्डोनेसिया सरकारबाट सम्मानित भएका छन् ।
नेपाल र गणतन्त्र इन्डोनेसियाबिच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउन अध्यक्ष ढकालले निर्वाह गरेको भूमिकाको कदर गर्दै इन्डोनेसिया सरकारले उनलाई विशिष्ट अवार्ड ‘करका बुवाना अवार्ड’ बाट सम्मानित गरेको हो ।
इन्डोनेसियाको परराष्ट मन्त्रालयद्धारा प्रदान गरिएको उक्त अवार्ड इन्डोनेसियासँगको सम्बन्धमा उल्लेख्य भूमिका निर्वाह गर्ने विदेशी विशिष्ठ व्यक्तित्वलाई प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।
इन्डोनेसियाली परराष्ट्रमन्त्रीका तर्फबाट नेपालका लागि इन्डोनेसियाली राजदूत हेरु एच. सुवोलोले ढकाललाई काठमाडौँमा मंगलबार आयोजित एक कार्यक्रममा उक्त सम्मान हस्तान्तरण गरेका हुन् ।
यो सम्मानले नेपाल र इन्डोनेसियाबीच पर्यटन प्रवर्द्धन, साँस्कृतिक आदानप्रदान र दुई देशबिचको आर्थिक सम्बन्ध प्रवर्द्धन गर्न ढकालले गरेका प्रयासलाई उजागर गरेको छ ।
समारोहमा बोल्दै राजदूत सुवोलोले ढकालको प्रयासले दुई देशबिचको सम्बन्ध सुदृढ हुनुका साथै दुबै देशलाई आर्थिक, सांस्कृतिक र कुटनीतिक सहकार्य विस्तारमा फाइदा पुगेको बताए ।
ढकालले सम्मानका लागि इन्डोनेसियाली सरकारलाई आभार व्यक्त गर्दै यस पुरस्कारले आफूलाई नेपाल र इन्डोनेसियाबिच आपसी सहकार्य, विकास र समृद्धिको लागि काम गर्न थप प्रेरणा मिलेको बताए ।
नेपाल र इन्डोनेसियाबिच हालै द्विपक्षीय परामर्श संयन्त्र तथा दुई देशका सरकारी अधिकारीहरुलाई भिसा फ्रि सम्झौता भएकोमा दुबै देशका सरकारलाई धन्यवाद दिदैँ ढकालले ती सम्झौताले दुई राष्ट्रबिचको कूटनीतिक सम्बन्धलाई सुदृढ गर्ने, दुई देशबिच हुने सरकारी भ्रमणहरुलाई सहज बनाउनुका साथै आर्थिक तथा क्षेत्रीय सहयोगलाई आधार तयार गर्ने विश्वास व्यक्त गरे ।
उनले इन्डोनेसियाको भ्रमण गर्ने नेपाली पर्यटकहरुको संख्यामा विगत केही वर्षमा उल्लेख्य वृद्धि भएको प्रसंग उल्लेख गर्दै कोरोना महामारी अघि इन्डोनेसिया जाने नेपालीहरुलाई अन अराइभल भिसा प्रदान गर्ने गरिएकोमा अहिले रोकिएकाले यसलाई पुन: सुचारु गर्न इन्डोनेसिया सरकारसँग आग्रह गरे ।
यस अघि पनि सन् २०१५ को भूकम्पको समयमा उद्दार तथा राहत प्रयासमा गरेको योगदानको कदरस्वरुप इन्डोनेसिया सरकारले ढकाललाई सम्मान गरेको थियो ।
ढकाल सन् २०१० देखि नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत हुनुहुन्छ ।
कार्यक्रममा विभिन्न देशका राजदूतहरु, परराष्ट्र मन्त्रालयका उच्च पदस्थ कर्मचारी तथा अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियाे ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?