सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै सञ्चालन गर्ने तयारी

जलसरोकार
शुक्रबार, असार २६, २०८३ | ०९:३९:१८ बजे

 

काठमाडौं : पटकपटकको बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब सडक अवरुद्ध भए आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। डिभिजन सडक कार्यालय भक्तपुरले पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको र केही दिनभित्रै पुनर्निर्मित ट्रयाकबाट पूर्ण रूपमा सवारी सञ्चालन गरिने जनाएको छ।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीको महत्वपूर्ण सडकमार्ग बिपी राजमार्ग वर्षायाममा बारम्बार अवरुद्ध हुने गरेको थियो। यस वर्ष भने सडक अवरुद्ध हुन नदिने र अवरुद्ध भइहाले पनि तत्काल सञ्चालनमा ल्याउने गरी आवश्यक तयारी गरिएको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार वर्षायामलाई ध्यानमा राख्दै आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएको छ। “विपद्का कारण सडक अवरुद्ध भएमा आधा घण्टाभित्रै खुलाउने व्यवस्था मिलाइएको छ,” उले बताए । 

उनका अनुसार साविककै स्थानमा पुनर्निर्माण गरिएका अधिकांश सडकखण्डबाट हाल सवारी सञ्चालन भइरहेको छ। यसअघि रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सन बाढीले बगाउने गरेकाले सडक पटकपटक अवरुद्ध हुने समस्या थियो। अहिले भने स्थायी ट्रयाक पुनःस्थापना गरिएकाले आवागमन सहज बन्दै गएको छ।

चौकीडाँडादेखि कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्म पुरानै ट्रयाकबाट सवारी सञ्चालन भइरहेको छ। चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरिएको छ। ती क्षेत्रमा ग्राभेल बिछ्याउने तथा ठूला ढुङ्गा राखेर सडक सुदृढीकरणको काम गरिएको छ।

विसं २०८१ असोजमा आएको बाढीपहिरोले भकुन्डेबेँसीदेखि नेपालथोकसम्मको करिब ३० किलोमिटर सडकखण्डमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसबेला रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सनसमेत बाढीले बगाउँदा यातायात सेवा प्रभावित भएको थियो।

क्षतिग्रस्त चार खण्डमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक पुनर्निर्माणको काम जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गरिरहेको छ। उक्त खण्डमा माटो भर्ने तथा बोल्डर राख्ने काम जारी रहेको छ। काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेजमा पुनर्निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ।

पुनर्निर्माणपछि सडक दुई लेनको बनाइनेछ। हाल सञ्चालनमा रहेको पुलसँगै नयाँ पुल निर्माण गरिने र पाँचवटा पुललाई दुई लेनमा स्तरोन्नति गर्ने योजना रहेको कार्यालयले जनाएको छ।

कुल २९.५ किलोमिटर क्षतिग्रस्त सडकमध्ये बर्खेखोला–पिप्ले खण्ड पुनर्निर्माणका लागि जाइकाले करिब दुई अर्ब ६३ करोड रुपैयाँ अनुदान सहयोग उपलब्ध गराउने समझदारी भएको छ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण सुरु गरिएको १६० किलोमिटर लामो धुलिखेल–सिन्धुली–बर्दिबास सडक अर्थात् बिपी राजमार्ग देशको महत्वपूर्ण रणनीतिक सडकमार्गका रूपमा परिचित छ।

प्रकाशित मिति : शुक्रबार, असार २६, २०८३ | ०९:३९:१८ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया