जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

लगानी सम्मेलनका लागि भारतीय उद्योगपतिलाई डाक्न दिल्लीमा ‘प्रि नेपाल इन्भेष्टमेन्ट समिट’

जलसरोकार
शुक्रबार, चैत ३०, २०८० | १७:५०:०० बजे

लगानी सम्मेलनका लागि भारतीय उद्योगपतिलाई डाक्न दिल्लीमा ‘प्रि नेपाल इन्भेष्टमेन्ट समिट’

काठमाडौं–लगानी सम्मेलनको पूर्वसन्ध्यामा भारतीय उद्योगपतिहरुलाई लगानी सम्मेलनको जानकारी दिन लगानी बोर्ड नेपालले भारतको राजधानी नयाँ दिल्लीमा ‘प्रि इन्भेष्टमेन्ट समिट गरेको छ ।
भारतस्थित नेपाली दूतावासको आयोजनामा बिहीबार दिल्लीमा ‘प्रि नेपाल इन्भेष्टमेन्ट समिट २०२४ः इन्डष्ट्री आउट रिच मिट’ आयोजना गरेको हो । आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुन लागेको तेश्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा  भारतका सम्भाव्य लगानीकर्ता र उद्यमी, व्यवसायीसँग लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अन्र्तक्रिया गरेका थिए । कार्यक्रममा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्माले भारत नेपालको प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख स्रोत मुलुक रहेको भन्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गरी लाभ लिने प्रशस्त अवसर रहेको बताए । 
उनले जलविद्युत, आइसीटी, पर्यटन, कृषि प्रशोधन, म्यानुफ्याक्चरिङ लगायत सबै क्षेत्रमा लगानी गर्न खुला रहेको भन्दै लगानी सम्मेलनलाई नेपाल सरकारले व्यावसायिक वातावरण सुधार गरी प्रतिस्पर्धी लगानी गन्तव्यका रूपमा विकास गर्न भएका प्रयासहरूबारे जानकारी गराउने र लगानीकर्ताको सुझाव अनुसार व्यवसाय गर्ने प्रक्रियामा सरलीकरण गर्ने, अवरोधहरू हटाउने प्रतिवद्धता गर्ने मञ्च भएकाले लगानी सम्मेलनमा सहभागी भइ नेपालमा लगानीका अवसर पहिल्याउन भारतीय लगानीकर्ताहरूलाई आग्रह गरे।
उक्त कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले नेपालमा भारतीय लगानीका विभिन्न परियोजनाहरूको चर्चा गर्दै नेपाल सरकार र लगानी बोर्डबाट प्रभावकारी सहजीकरण भैइरहेको बताए । सार्वजनिक–निजी साझेदारीका परियोजनाहरूमा परियोजना विकास सम्झौताले कानुनी दस्तावेजकै रूपमा सरकार र विकासकर्ताका जिम्मेवारी परिभाषित गर्ने हुँदा यसमा उल्लिखित विहंगम विषयवस्तुले परियोजना कार्यान्वयन र सञ्चालनलाई निर्दीष्ट गर्ने बताए । 
उनले भारतीय लगानीका कम्पनीहरूले नेपालमा राम्रो प्रतिफल आर्जन गरिरहेको भन्दै पुनर्लगानीका लागि आएका प्रस्तावहरूलाई स्वागत गर्नुका साथै अन्य लगानीकर्तालाई पनि पुनर्लगानीका लागि उत्प्रेरित गरिरहेको बतए । लगानी सम्मेलनमा भारतबाट ठूलो संख्यामा उद्यमी व्यवसायीहरूको सहभागिता रहने जानकारी प्राप्त भएको भन्दै स्वागत गर्न आतुर रहेको उल्लेख गरे । 
नेपालका लागि भारतीय पूर्व राजदूत रणजीत रायले कानुनी सुधारले लगानीकर्तालाई अनुमानयोग्यता र पारदर्शिता प्रदान गर्ने भन्दै उनले लगानी सम्बन्धी कानुन सुधारका लागि नेपालले गरेको पहलको प्रशंसा गरे । उनले बौद्धिक सम्पत्तिको अधिकारसम्बन्धी कानुनसमेतलाई समयसापेक्ष बनाउन सुझाव दिए । अर्का पूर्व राजदूत मञ्जीवसिंह पुरीले साना मझौला उद्यमदेखि ऊर्जा क्षेत्रसम्म भारतीय लगानीकर्ताहरूको ठूलो लगानी रहेको चर्चा गर्दै नेपालको द्रुत आर्थिक विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने विषय सरकारको प्राथमिकतामा रहनुपर्नेमा जोड दिए ।  
भारतको पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीसँगको सहकार्यमा आयोजित उक्त कार्यक्रममा नेपालका लागि भारतका पूर्वराजदूतद्वय रञ्जित रे तथा मञ्जिवसिंह पुरीका साथै सुनिल हेल्थ केयर लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक अनिल खेतान, सिनर्जी इलेक्ट्रोनिक्सका प्रबन्ध निर्देशक अजय पोद्दार, वेदान्ता लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वैभव अग्रवाल, भारतका लागि सीएलएएसपी वरिष्ठ निर्देशक विशाल थापा, वर्ल्ड एशोसिएसन अफ इन्भेष्टमेन्ट प्रोमोशन एजेन्सीज –वाप) का उपकार्यकारी निर्देशक दुश्यन्त ठाकुर लगायतको उपस्थिति रहेको थियो । 
 

प्रकाशित मिति : शुक्रबार, चैत ३०, २०८० | १७:५०:०० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया