सरकारको घोषणा : “गरिब पनि पुँजीमा साझेदार, घरधुरीलाई शेयर बाँड्दै समावेशी समृद्धिको बाटो”


चैनपुर, संखुवासभा : ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले अब गरिबलाई पुँजीमा साझेदार बनाउँदै समृद्धिको यात्रा अघि बढाउने घोषणा गरेका छन्।
शुक्रबार संखुवासभाको चैनपुरमा नवनिर्मित ‘सिंचाई तथा जलस्रोत व्यवस्थापन कार्यालय’को उद्घाटन गर्दै मन्त्री खड्काले भने, 'म सामान्य मान्छे हुँ, तिमीहरूको समर्थनले मन्त्री बनेको हुँ। अब शीर झुकाउने होइन, परिणाम देखाउने बेला आएको छ।'
कार्यक्रममा उनले सरकार जनताका अपेक्षा अनुरूप चल्ने दाबी गर्दै भने, 'सरकार पाँच वर्षको कार्यकाल पूरा गर्छ। आगामी वर्षसम्म केपी शर्मा ओली प्रधानमन्त्री रहनेछन्, त्यसपछि शेरबहादुर देउवाको नेतृत्वमा सरकार अगाडि बढ्छ। हामीले जनतालाई दिएका प्रतिबद्धता पूरा गर्छौं।'
संखुवासभासहित भोजपुर, धनकुटा र तेह्रथुम जिल्लालाई लक्षित गर्दै सञ्चालित नयाँ कार्यालयमार्फत जलस्रोत तथा सिचाई क्षेत्रको विकासमा तीव्रता ल्याइने जानकारी दिए।
उनका अनुसार हाल ११ वटा जलस्रोत तथा सिचाइ आयोजनाको ठेक्का खुलिसकेको छ भने अरुण तेस्रो जलविद्युत् आयोजना तीव्र गतिमा अगाडि बढिरहेको छ। '९०० मेगावाट क्षमताको अरुण तेस्रोबाट नेपालले २०० मेगावाट विद्युत् पाउनेछ,' उनले जानकारी दिए। साथै, अपर अरुण आयोजनाको काम पनि अगाडि बढिसकेको उल्लेख गरे।

जनताको प्रत्यक्ष सहभागितामार्फत समृद्धिको आधार निर्माण गरिने उल्लेख गर्दै उनले घरधुरीलाई शेयर दिनेतर्फ सरकारको तयारी रहेको बताए। 'अब गरिब पनि पुँजीमा साझेदार हुनेछन्,' उनले भने, 'बिपी कोइरालाको समाजवादी मार्गदर्शनलाई कार्यान्वयनमा लैजाने हाम्रो अठोट हो।'
सीमावर्ती क्षेत्र किमाथान्कामा पुल, भन्सार नाका लगायत पूर्वाधार निर्माणका लागि भारत र चीनसँग सहकार्य भइरहेको जानकारी दिँदै उनले रोकिएका सिचाई आयोजना पुनः सुरु गरिने बताए।
नीतिगत प्रगतिबारे जानकारी दिँदै उनले जलस्रोत तथा विद्युत्सम्बन्धी विधेयकहरू अगाडि बढिसकेको, मौसम नीति पारित भइसकेको र विपद् सूचना प्रवाह वडा स्तरमै पुर्याउने प्रणाली लागू भइसकेको बताए।
'मेरो कार्यकालमा बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिएको छ, जसबाट १ अर्ब २५ करोड रुपैयाँ आम्दानी भएको छ,' उनले भने।
कार्यक्रममा ऊर्जा मन्त्रालयकी सिचाइ सचिव सरिता दवाडीले 'चार जिल्लामा सेवा पुर्याउने यो कार्यालय मन्त्रीज्यूको दृढताले स्थापित भएको हो,' भन्दै यसले पूर्वी पहाडी क्षेत्रमा जलस्रोतको समुचित व्यवस्थापनमार्फत स्थानीय विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरिन्।
सिचाइ विभागका महानिर्देशक सञ्जिव बरालले संघीय संरचनाअनुसार सञ्चालनमा आएको यो कार्यालय चारै जिल्लाका लागि उपलब्धिमूलक भएको टिप्पणी गरे।
कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले मन्त्री खड्काको पहलमा जिल्लामा ठूलो बजेट भित्रिएको भन्दै आभार प्रकट गरेका थिए। खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले '५ अर्ब २० करोड रुपैयाँ बराबरको बजेट ल्याउनुभएकोमा धन्यवाद दिन चाहन्छु,' भने भने पाँछखपन नगरपालिकाका मेयर विपिन राईले 'मन्त्री खड्का हाम्रो लागि भगवानसरह नेता हुनुहुन्छ,' भन्दै प्रशंसा गरे।
कार्यक्रममा आयोजना प्रमुख धिरज लम्सालले ‘सिंचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय’ ले पूर्वी पहाडी जिल्लाहरूमा जलस्रोतको प्रभावकारी उपयोगमार्फत कृषि उत्पादन वृद्धि तथा समृद्धिमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।
लेखकको बारेमा

प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षाले देशभर ११ राजमार्ग पूर्ण रूपमा अवरुद्ध
-
सन्धिमा नभएको कुरा खोज्दा पञ्चेश्वर बनेन : ई केशवध्वज अधिकारी (भिडियाे)
-
पर्वतको लाङ्दी पहिरो : एकजनाको शव फेला, श्रीमतीको खोजी जारी
-
सेउती, बूढी र खेसलिया खोलामा बाढीको जोखिम : जल तथा मौसम विभागको सतर्कता सूचना
-
२४ घण्टाको मौसम पूर्वानुमान : भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह
-
ऊर्जा मन्त्री दीपक खड्काको एक वर्षे कार्यकाल : के गरे, के गरेनन् ?