डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा–मुग्लिन सडक निर्माण प्रभावित
जलसरोकार
पोखरा: पोखरा अन्तरराष्ट्रिय विमानस्थलका लागि जडान गरिएको ११ केभी डेडिकेटेड विद्युत् लाइनका पोल नहट्दा पोखरा–मुग्लिन सडक आयोजना अन्तर्गत पोखरा खण्डको निर्माण प्रभावित भएको छ । कुँडहरमा रहेको विद्युत् सबस्टेसनदेखि विमानस्थलको प्रवेशमार्गसम्म रहेका २९ वटा पोल नहट्दा सडकको सर्विस लेन र फुटपाथ निर्माण रोकिएको हो ।
सडक आयोजनाका प्रमुख इन्जिनियर कृष्णबहादुर कुँवरका अनुसार विद्युत्का पोल हटाउन पटक–पटक विमानस्थल कार्यालय र नेपाल विद्युत् प्राधिकरण लाई पत्राचार गरे पनि काम अघि बढ्न सकेको छैन । विमानस्थलले कुँडहरचोकबाट आफ्नै संरचना निर्माण गरी डेडिकेटेड लाइनमार्फत विद्युत् प्रयोग गर्दै आएको छ ।
प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका प्रमुख इन्जिनियर आनन्द सुवेदीकाले विमानस्थल क्षेत्रमा विद्युत् तार भूमिगत गर्न संरचना निर्माण भइसके पनि विमानस्थल कार्यालयबाट करिब रु १ करोड ६३ लाख भुक्तानी नआएकाले सेवा सञ्चालन गर्न नसकिएको बताए । भुक्तानी भएपछि मात्र भूमिगत लाइन सञ्चालनमा ल्याइने र त्यसपछि मात्र पोल हटाउन सकिने उनले बताए ।
यस विषयमा खड्कराज पौडेल सँग पोखरामा छलफल भएको र मन्त्रालयस्तरबाट समाधान हुने अपेक्षा रहेको प्राधिकरणले जनाएको छ ।
कुँडहरचोकदेखि विमानस्थल प्रवेशमार्गसम्म करिब एक किलोमिटर क्षेत्रमा तार भूमिगत गर्नका लागि संरचना तयार भइसकेको छ । तर भूमिगत प्रणाली सञ्चालनमा नआउँदा पुरानै संरचनाबाट विद्युत् सेवा सञ्चालन भइरहेको छ ।
सडक आयोजनाको पश्चिम खण्ड (पोखरा–जामुने) चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । मापदण्डविपरीतका संरचना, खानेपानीका पाइप, रुखलगायत हटाउन ढिलाइ हुँदा निर्माण कार्यमा समस्या भइरहेको इन्जिनियर कुँवरले बताए ।
हालसम्म आयोजनाको भौतिक प्रगति ७७.४७ प्रतिशत र वित्तीय प्रगति ६२.२० प्रतिशत पुगेको छ। कुल ३८.७१ किमि दूरीमध्ये ३७.२८ किमिमा दोस्रो चरणको कालोपत्र भइसकेको छ भने ३६.३२ किमि सर्विस लेनमध्ये १७.६६ किमिमा कालोपत्र सम्पन्न भएको छ ।
उता पोखरा सहरका विभिन्न क्षेत्रमा भूमिगत विद्युत् लाइन विस्तारको काम पनि भइरहेको छ । विमानस्थल प्रवेशद्वारदेखि पृथ्वीचोक को सेती पुल सम्म तार बिछ्याएर घरघरमा विद्युत् वितरण सुरु भइसकेको छ भने सिर्जनाचोक, सभागृह, जिरो किलोमिटर र लेकसाइड क्षेत्रमा तार बिछ्याउने काम जारी रहेको छ ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
भोटेकोशी बाढीपीडितका लागि हाइड्रो प्रवर्द्धक दिनेश गुरुङको दुई कम्पनीबाट २५ लाख सहयोग
-
विपद् प्रभावित जलविद्युत् आयोजनामा उद्धारका लागि हेलिकप्टर सहज बनाउन सात पेशागत संस्थाको अपिल
-
रसुवा बाढीपछि जियोटेक्निकल सोसाइटी उद्धार र प्राविधिक सहयोगमा जुट्ने
-
माथिल्लो त्रिशूली-३ एमा सुरुङभित्र हावा र प्रकाश पठाउन थालियो, उद्धार टोली प्रवेशका लागि प्वाल ठूलो पारिँदै
-
माथिल्लो त्रिशूली–१ मा फसेकाका आफन्तकाे थापाथलीस्थित कार्यालयमा धर्ना
-
माथिल्लो त्रिशूली-३ 'ए' मा उद्धारको महत्वपूर्ण प्रगति, ४० मिटर अपस्ट्रिमबाट ७ मिटर तल सुरुङको मुख भेटियो