जलविद्युत् प्रवर्द्धक भानेन्द्रकुमार लिम्बुको ‘निर्झर’ कविता संग्रह लोकार्पण
जलसरोकार
काठमाडौं : नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा आयामेली साहित्यिक आन्दोलनका अग्रणी हस्ती वरिष्ठ कवि बैरागी काइँलाको प्रमुख आतिथ्यमा कवि भानेन्द्र सम्बाहाम्फे ‘जुझारु’द्वारा सिर्जित कवितासंग्रह ‘निर्झर’ को भव्य लोकार्पण सम्पन्न भएको छ।
कार्यक्रममा प्रा. डा. गोविन्दराज भट्टराई, सिक्किमेली साहित्यकार प्रा. डा. रुद्र पौडेल, डा. तुलसीप्रसाद भट्टराई, डा. तुलसी गौतम तथा डा. ज्ञानू अधिकारीले संयुक्तरूपमा ‘निर्झर’ कवितासंग्रह विमोचन गरेका थिए ।
कविता संग्रहको सन्दर्भमा कविता विधामा विद्यावारिधि गरेका डा. तुलसी गौतमले समालोचकीय मन्तव्य राख्ने क्रममा नेपाली साहित्यको कविता विधामा ‘निर्झर’ कविता संग्रह एक अब्बल कृतिको रुपमा दर्ज भएको बताए । ‘निर्झर’ कवितासंग्रहले जीवन भोगाई र अनुभूतिलाई अत्यन्तै सुन्दर रुपमा उतारेको उनले उल्लेख गरे ।
डा. गौतमले कविता संग्रहका कविता पढ्दा बडो मज्जा आउने बताए । ‘हामीले अनुभव गरेको तर व्यक्त गर्न नसकेको भावना, संवेदना, स्वरहरु र हामीले सहेका चोटहरु प्रतिम्विम्बित भएका छन् कवि भानेन्द्रका कवितामा,’ गौतमले भने ।

डा. गौतमका अनुसार मान्छेलाई तीनवटा पाटाबाट अध्ययन गर्न सकिन्छ, ती पाटाहरु हुन्- मन, वचन र कर्म । ‘भानेन्द्र सम्बाहाङफे ‘जुझारु’का कविता र उनको जीवनी हेर्दा मन, वचन र कर्ममा एकरुपता पाइन्छ जो ईमान्दार मान्छेहरुका लक्षण हुन्, उनी त्यस दर्जाका कवि हुन् जसले गुरु त्रय भनेर ‘दुस्ख, गरिबी र प्रकृति’लाई मानेका छन् र उनले ‘ब्रह्मा, विष्णु र महेश्वर’लाई विम्ब मानेर कविले आफ्नो जीवन हिडाएको छ र जीवनका भोगाई कवितामा आएको छ ,’ डा. गौतमले भने ।
डा. गौतमका अनुसार कविले जीवन बाँच्दै गर्दा आफूले भोगेका, आफूलाई लागेका र देखेका कुराहरुको सुन्दरतम रुपमा सार खिचेर प्रतीकहरुको प्रयोग गरेर जस्ताको तस्तै कवितामा व्यक्त गरेका छन् ।
कृतिका अर्का समालोचक साहित्यकार डा. ज्ञानू अधिकारिले ‘निर्झर’ कविता संग्रहका कविलाई व्यक्तिगत रुपमा चिन्नुभन्दा पहिले संग्रहका कविताहरुका शब्दहरुबाट चिनेको, कविता पढ्दा मज्जा पनि लागेको बताए ।
कविता संग्रहको शीर्षक ‘निर्झर’ जति सुन्दर छ, त्यति नै संग्रहभित्रका कविताहरुमा साधारण शब्द, स्वछन्द भाव र मीठासयुक्त सरल भाषा छ तर अर्थ गम्भीर पाइन्छ,' उनले भने ।
डा. अधिकारीका अनुसार कविताहरुमा विभिन्न प्रकारका प्रेमहरु विशेष रुपमा प्रस्तुत् भएको पाइन्छ, जस्तै देशप्रेम, मातृभूमीप्रतिको प्रेम, प्रकृतिप्रेम, प्रणयप्रेम र अस्तित्वप्रेम । समालोचक डा. अधिकारीको ठम्याइमा कवितामा फरक फरक व्यक्तित्वहरु प्रतिविम्बीत गर्न कवि सफल छन् । कविद्वारा रचित कविताहरुमा सरलताभित्र गम्भीर अर्थ छ ।
प्रकृति, देश र संस्कारसँग मान्छेलाई जोड्नु अनि मान्छे र समाजको बाहिरी पक्षभन्दा आन्तरिक पक्षलाई देखाउनु कविको विशेष पक्ष हुन् ।
डा. अधिकारीको दृष्टिमा कविता संग्रहभित्रका कविताहरुमध्ये ‘तिमी’ शीर्षकको कविता विशेष छ र धित् मर्नेगरी लामो पनि । यो कवितामा कविले संसारका नारीहरुको बाहिरी सुन्दरताको ठाउँमा उनीहरुको ‘आन्तरिक सौन्दर्य, महत्व र महानता’लाई उजागर गरेका छन् जो उच्चकोटीको कविता छ ।

प्रमुख अतिथि वरिष्ठ कबि बैरागी काइँलाले कविलाई निर्झर कविता संग्रह देश अनि संस्कृति तथा प्रेम र प्रकृतिलाई फ्युजन गर्दै उत्कृष्ट कृति नेपाली साहित्यिक जगतमा ल्याएकोमा शुभकामना व्यक्त गरे ।
उनले पूर्वी नेपालबाट नेपाली साहित्यमा धेरैले विशेष स्थान बनाइसकेको अवस्थामा कवि भानेन्द्र सम्बाहाङफे ‘जुझारु’ पनि एक भएको बताए । वरिष्ठ कवि बैरागी काइँलाका अनुसार कवि भानेन्द्र उद्देश्यसहितको कविता लेख्ने एक कवि भएको पाइन्छ किनकि कविले भनेका छन्– 'मेरो कविताको स्वउद्देश्य छ, म उद्देश्यविहीन कविता लेख्दिनँ ।'
उनका अनुसार कविको कविता लेख्नुको उद्देश्य प्रेम, करुणा र सद्भावनाको सकारात्मक उजागर गर्नु हो । वरिष्ठ कवि बैरागी काइँलाले भने, ‘यी तीन तत्व भयो भने मान्छेको जीवन सुखी,। सरल र सहज हुन्छ ।’
कार्यक्रमका सभाध्यक्ष प्रा. डा. गोविन्दराज भट्टराईले कवि भानेन्द्र सम्बाहाङफे ‘जुझारु’को निर्झरले कविता विधामा उज्यालो रंग लिएर आएको बताए । उनका अनुसार परम्परागत धार पक्रेर सुन्दरताले पूर्ण शब्दहरुको प्रयोग, कुनै नौलो प्रयोगतिर नलागेको र समाजलाई ध्यानमा राखेर कविता लेख्नेहरुमध्ये एक उत्कृष्ट कवि भानेन्द्र सम्बाहाङफे ‘जुझारु’ हुन् । ‘उनका कवितामा तीनवटा कुरा छन् ती हुन्–कोमलता, राष्ट्रप्रेम र कोमल प्रेम,’ भट्टराईले भने ।
शुभकामना दिने क्रममा डा. तुलसीप्रसाद भट्टराईले निर्झर कविता संग्रहमा संग्रहित कविताहरुमा देशको माटो बोलेको बताए । राष्ट्रिय भावनाले ओतप्रोत कविताहरुले नेपाली मन जुरुक्कै भएको डा. भट्टराईले उल्लेख गरे ।
सिक्किमेली वरिष्ठ लेखक तथा साहित्यकार प्राध्यापक डा. रुद्र पौडेलले नेपाली भाषी प्रवास साहित्यको बारेमा आफ्ना तर्क राखेका थिए भने निर्झर कविता संग्रहले नेपाली साहित्यमा एउटा थप आयाम थपेको बताए ।
ओरिएन्टल पब्लिकेशन हाउसले बजारमा ल्याएको ‘निर्झर’ कविता संग्रह विमोचन समारोह कार्यक्रमलाई जलविद्युत व्यवसायी, समाजसेवी, विशाल हृदयका धनी चौधरी दम्पती ई. सुदिप कुमार चौधरी तथा निता चौधरीले प्रायोजन गरेका थिए ।

कार्यक्रममा कवि भानेन्द्र सम्बाहाम्फे ‘जुझारु’ले निर्झर कविता संग्रहमा संग्रहित केही कविताहरु वाचन गरेका थिए ।
कार्यक्रम काठमाडौँको नागपोखरी स्थित मेरियट होटलमा आयोजना गरिएको थियो । कार्यक्रममा साहित्यानुरागी व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कवि भानेन्द्र सम्बाहाङफे ‘जुझारु’ले समारोहमा आमन्त्रित विशिष्ट व्यक्तित्व, कार्यक्रममा उपस्थित सहभागी साहित्यानुरागी, कार्यक्रमका आयोजक र प्रायोजक अनि कार्यक्रमलाई सफल बनाउन साथ दिने सबै सहयोगीहरुलाई धन्यवाद दिए ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
एनएमबी बैंकले ‘कार्ड पेमेन्ट गेटवे’ सेवा प्रारम्भ गर्यो, डिजिटल नेपालतर्फ अर्को महत्वपूर्ण कदम
-
नेप्से साताको पहिलो दिनमै ओरालो, २६४७ अंकमा झर्यो — कारोबार भने बढ्यो
-
मन्त्री कुलमान घिसिङबाट निर्माणाधीन कोशी अस्पताल भवनको निरीक्षण
-
अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
-
ऊर्जा क्षेत्रमा लगानी बढाउन नीतिगत हस्तक्षेप आवश्यक - वरिष्ठ उपाध्यक्ष डाँगी
-
अन्तरसरकारी वित्त परिषद्को ११औँ बैठक सम्पन्न, वित्तीय संघीयता कार्यान्वयनका चुनौती समाधानमा जोड