दोदोधरालाई ‘पावर हब’ बनाउने योजना, १३० अर्ब लगानी आवश्यक
जलसरोकार
काठमाडौँ : सुदूरपश्चिम क्षेत्रमा विद्युत् प्रसारण पूर्वाधार विस्तार गर्दै कैलालीको दोदोधरालाई देशकै प्रमुख ‘पावर हब’ बनाउने योजना अघि बढाइएको छ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड का कार्यकारी अधिकृत सागर श्रेष्ठ का अनुसार हुम्लाबाट सुरु हुने प्रसारणलाइन बझाङ हुँदै दैजी–दोदोधरा जोड्ने र कर्णाली करिडोरमार्फत डोल्पा–जाजरकोट–सुर्खेत हुँदै विद्युत् दोदोधरामा संकलन गर्ने तयारी भइरहेको छ।
उनका अनुसार पश्चिम सेतीबाट दोदोधरासम्म प्रसारणलाइन निर्माणका लागि कम्पनी स्थापना भइसकेको छ भने बेतन कर्णालीको विद्युत् समेत दोदोधरामै ल्याउने गरी अर्को प्रसारणलाइन अघि बढाइएको छ। “दोदोधरालाई प्रमुख हब बनाउँदै त्यहाँबाट भारतको बरेलीसम्म विद्युत् निर्यात गर्न छोटो र सहज मार्ग तयार हुन्छ,” श्रेष्ठले बताए।
प्रस्तावित सबै प्रसारणलाइन निर्माणका लागि करिब १३० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने बताइएको छ। पश्चिम सेती ४०० केभी प्रसारणलाइन (१४५ किमी) बझाङ, डोटी, डडेलधुरा र कैलाली जोड्ने परियोजना हो, जसको अनुमानित लागत करिब २० अर्ब रुपैयाँ छ। उक्त लाइनमा २५०० मेगावाट क्षमतामध्ये हालसम्म ६०० मेगावाट ‘बुक’ भइसकेको जनाइएको छ।
त्यस्तै, कर्णाली करिडोर प्रसारणलाइन कालिकोटको फुकोटबाट सुरु भई बेतन कर्णाली हुँदै दोदोधरा पुग्नेछ। ९१ किलोमिटर लम्बाइको यस लाइनमा भारततर्फ क्रसबोर्डर जोड्न थप ३० किलोमिटर विस्तार गरिनेछ। करिब २२ अर्ब लागतको यस आयोजनाको एक खण्डको ठेक्का प्रक्रिया अघि बढिसकेको छ।
श्रेष्ठले ठूला पूर्वाधार आयोजनामा बजेट अभाव प्रमुख चुनौती बनेको उल्लेख गर्दै अर्बौं लागतका योजनामा करोडौं मात्र विनियोजन हुने अवस्थाले निर्माणमा ढिलाइ भइरहेको बताए। उनले संघीय सरकारसँगै प्रदेश र स्थानीय तहको सहलगानी आवश्यक रहेकोमा जोड दिए।
उनका अनुसार ४०० केभीका करिब ४०२ किलोमिटर प्रसारणलाइन निर्माण गर्न ७० अर्ब रुपैयाँ आवश्यक पर्छ। यदि ८ हजार मेगावाट विद्युत् उत्पादन भई त्यसको ५० प्रतिशत निर्यात गर्न सकिए वार्षिक करिब ११२ अर्ब रुपैयाँ आम्दानी हुन सक्ने अनुमान गरिएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेपाल-भारत ऊर्जा सहकार्यले मार्यो नयाँ फड्को, सीमापार विद्युत् व्यापार क्षमता १६५० मेगावाटसम्म विस्तार हुने
-
काठमाडौंका अव्यवस्थित तार हटाउने फेरि घोषणा, अन्तिम समयसीमा भने अझै छैन
-
बाढीले क्षति पुर्याएपछि रेलेखोला जलविद्युत् आयोजना बन्द
-
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान
-
चार दिनको गिरावटपछि नेप्सेमा सुधार, परिसूचक ६.११ अंकले बढ्यो
-
नेपालको जलविद्युत् : सही दिशामा सरकार कि नीतिगत अलमल?