१० महिनामा १ खर्ब ८१ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
जलसरोकार
वीरगञ्ज : वीरगञ्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको १० महिनामा रु. १ खर्ब ८१ अर्ब ७० करोड बराबरका विभिन्न पेट्रोलियम पदार्थ आयात भएका छन्।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो आयात मूल्यमा रु. २५ अर्ब ५३ करोड अर्थात् १६.३५ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको १० महिनामा यस नाकाबाट रु. १ खर्ब ५६ अर्ब १७ करोड बराबरका पेट्रोलियम पदार्थ आयात भएका थिए।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको १० महिनामा पेट्रोलियम पदार्थ आयातबाट मात्रै रु. ६७ अर्ब १९ करोड राजस्व सङ्कलन भएको छ।
यस अवधिमा सबैभन्दा बढी डिजेल आयात भएको छ। कार्यालयका अनुसार रु. १ खर्ब ५७ करोड मूल्य बराबरको आठ लाख ९५ हजार २४६ किलोलिटर डिजेल आयात गरिएको छ। गत आवको सोही अवधिमा रु. ७९ अर्ब ५७ करोड मूल्य बराबरको नौ लाख ८५७ किलोलिटर डिजेल आयात भएको थियो।
त्यसैगरी, चालु आवमा रु. ३५ अर्ब ७९ करोड मूल्य बराबरको तीन लाख ९० हजार ६१५ किलोलिटर पेट्रोल आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा रु. ३१ अर्ब ७१ करोड बराबरको तीन लाख ६७ हजार ३४४ किलोलिटर पेट्रोल आयात भएको थियो।
एलपीजी ग्यासतर्फ भने आयातमा कमी आएको देखिएको छ। चालु आवको १० महिनामा रु. २५ अर्ब ५४ करोड मूल्य बराबरको २४ करोड २७ लाख तीन हजार १५० किलोग्राम एलपीजी ग्यास आयात भएको छ। गत आवको सोही अवधिमा रु. ३० अर्ब २८ करोड मूल्य बराबरको २६ करोड ४१ लाख १४ हजार ३२६ किलोग्राम एलपीजी ग्यास आयात भएको थियो।
पेट्रोलियम पदार्थको बढ्दो आयातले मुलुकको इन्धन निर्भरता अझै उच्च रहेको देखाएको छ भने भन्सार राजस्वमा पनि यस क्षेत्रको ठूलो योगदान रहेको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
माथिल्लो त्रिशूली-१ मा महत्वपूर्ण प्रगति : कोरियन लगानीको २१६ मेगावाट आयोजना नयाँ चरणमा
-
ऊर्जा र सिँचाइका महत्वाकांक्षी योजना : कति पूरा भए, कति कागजमै सीमित ?
-
चिलिमे इन्जिनियरिङले कानूनविपरीत वितरण गरेको बोनस फिर्ता गर्न निर्देशन
-
१० महिनामा १ खर्ब ८१ अर्बभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
-
सुन र चाँदीको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ बजारमा खरिदबिक्री ?
-
आजदेखि लगातार चार दिन बन्द हुने भयो शेयर बजार