सुनको मूल्य सेयर बजार कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरण विराजभक्त श्रेष्ठ दीपक खड्का ग्लोबल आइएमई बैंक नीति तथा कार्यक्रम पूर्वाधार इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पेट्रोल प्रतिलिटर २० र डिजेल ३० रुपैयाँले सस्तो, एलपी ग्यासमा १०० रुपैयाँ घट्याे

जलसरोकार
बुधबार, असार १७, २०८३ | ०९:४८:१३ बजे

 

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटाएको छ। निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको नयाँ मूल्य निर्धारण गरेको हो।

नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटाइएको छ। त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाइएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौंका लागि) प्रतिकिलोलिटर २६५ अमेरिकी डलरले सस्तो भएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको छ।

नयाँ मूल्यसूचीअनुसार तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा अब पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँमा बिक्री हुनेछ। यसअघि यी क्षेत्रमा पेट्रोल २१७ रुपैयाँ र डिजेल २२५ रुपैयाँ प्रतिलिटर थियो।

यस्तै, पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेलको मूल्य १९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ तथा डिजेल र मट्टितेल १९४ रुपैयाँमा बिक्री हुनेछ।

आन्तरिक हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ। अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य काठमाडौंका लागि प्रतिकिलोलिटर १,५६६ अमेरिकी डलर, पोखराका लागि १,१०० अमेरिकी डलर र भैरहवाका लागि १,०८५ अमेरिकी डलर निर्धारण गरिएको छ।

एलपी ग्यासको मूल्य घटेसँगै अब १४.२ किलोग्राम क्षमताको एक सिलिन्डर ग्यास २,०६० रुपैयाँमा उपलब्ध हुनेछ। यसअघि यही ग्यासको मूल्य २,१६० रुपैयाँ थियो।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको परिवर्तन तथा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो।

प्रकाशित मिति : बुधबार, असार १७, २०८३ | ०९:४८:१३ बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया