सुनको मूल्य सेयर बजार कुलमान घिसिङ विराजभक्त श्रेष्ठ नेपाल विद्युत प्राधिकरण दीपक खड्का ग्लोबल आइएमई बैंक पूर्वाधार नीति तथा कार्यक्रम इप्पान
जलसरोकार : नेपाल राष्ट्रको बिजुली र बिजुलीसँग सम्बन्धित प्रमुख समाचार पोर्टल

पाँचथर पावर कम्पनी ८ करोड ५१ लाख नाफामा, विद्युत् बिक्री आम्दानी चार गुणाभन्दा बढीले बढ्यो

जलसरोकार
आइतबार, साउन २४, २०८३ | ११:१८:४० बजे

 

काठमाडाै‌ं : पाँचथर पावर कम्पनी लिमिटेड (PPCL) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले विद्युत् उत्पादन तथा बिक्री पुनः सुरु गरेसँगै आम्दानी र नाफामा उल्लेख्य सुधार गरेको छ।

गत असार मसान्तसम्ममा कम्पनीले विद्युत् बिक्रीबाट ३७ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको विद्युत् बिक्री आम्दानी ८ करोड ९० लाख रुपैयाँ मात्र थियो।

कम्पनीका अनुसार २०८० असारमा आएको बाढीबाट आयोजनामा क्षति पुगेको थियो। त्यसपछि २०८१ असोज १२ गते आएको बाढीले आयोजनाको सिभिल संरचना, पावर हाउस तथा इलेक्ट्रोमेकानिकल उपकरणमा समेत क्षति पुर्‍याएको थियो। क्षतिका कारण अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले विद्युत् बिक्रीबाट आम्दानी गर्न सकेको थिएन।

क्षतिग्रस्त संरचनाको मर्मतसम्भार सम्पन्न गरी २०८१ चैत १६ गतेदेखि विद्युत् उत्पादन पुनः सुरु भएपछि कम्पनीको विद्युत् बिक्री आम्दानीमा उल्लेख्य वृद्धि भएको हो।

विद्युत् बिक्रीबाट आम्दानी बढेसँगै कम्पनी नाफामा फर्किएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ६ करोड १७ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ८ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत असार मसान्तसम्म कम्पनीको कुल नाफा ३७ करोड ७८ लाख रुपैयाँ रहेको छ। सो अवधिमा कम्पनीको वित्तीय खर्च १३ करोड ६४ लाख रुपैयाँ रहेको छ।

कम्पनीको वित्तीय सूचकसमेत सुधारिएको देखिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ८ रुपैयाँ ८५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ९८ रुपैयाँ ६५ पैसा कायम भएको छ। त्यस्तै, कम्पनीको मूल्य आम्दानी अनुपात (पीई रेसियो) ३७.३० गुणा रहेको छ।

कम्पनीको चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको जगेडा कोष १ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको वित्तीय विवरणमा उल्लेख छ।

 

 

प्रकाशित मिति : आइतबार, साउन २४, २०८३ | ११:१८:४० बजे

लेखकको बारेमा

जलसरोकार
जलसरोकारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया