कोरला नाकाबाट ९ महिनामा साढे ६ अर्बभन्दा बढी राजस्व सङ्कलन
जलसरोकार
मुस्ताङ : उपल्लो मुस्ताङस्थित लोमान्थाङ–१ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको गत जेठ १६ गतेसम्म रु ६ अर्ब ६६ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ। गत वर्ष भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल–चीन उत्तरी कोरला नाका हुँदै भएको आयात–निर्यात कारोबारबाट उक्त राजस्व सङ्कलन भएको हो।
मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार कोरला नाका हुँदै चीनबाट नेपाल भित्रिएका विभिन्न मालवस्तुको आयातबाट रु १३ अर्ब ८७ करोड ७८ लाख बराबरको व्यापार भएको छ। विद्युतीय सवारीसाधन (इभी), चाडपर्व लक्षित लत्ताकपडा, कस्मेटिक सामग्री, इलेक्ट्रोनिक उपकरणलगायत वस्तु आयात हुँदा उल्लेख्य राजस्व सङ्कलन भएको उनले बताए ।
यसै अवधिमा नेपालबाट चीनतर्फ हस्तकलाका सामग्री तथा स्वदेशी उत्पादन निर्यात गर्दा रु २० करोड ५५ लाख ७४ हजार बराबरको व्यापार भएको भन्सार कार्यालयले जनाएको छ।
कोरला नाका सञ्चालनमा आएपछि विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको छ। भन्सार कार्यालयका अनुसार गत भदौदेखि जेठ १६ गतेसम्म चीनबाट कोरला नाका हुँदै दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। ती सवारीसाधनको आयातबाट मात्रै रु ६ अर्ब ७६ करोड दुई लाख भन्सार राजस्व सङ्कलन भएको छ।
यद्यपि पछिल्लो समय कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनको आयात प्रक्रिया विवादमा तानिएको छ। नाका हुँदै भित्रिएका ६४९ वटा इभीको भन्सार जाँचपास भइसके पनि सरकारले आयात प्रक्रियामा कुनै कैफियत भए–नभएको विषयमा अनुसन्धान सुरु गरेको छ।
सरकारले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारीसाधनको आयात प्रक्रियाको अध्ययन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले कास्कीको हेमजा, पर्वतको कुश्मा, मुस्ताङको जोमसोम तथा कोरला नाकामा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका विद्युतीय सवारीसाधनको स्थलगत अनुगमनसमेत सम्पन्न गरिसकेको जनाएको छ।
कोरला नाका सञ्चालनमा आएपछि नेपाल–चीन व्यापार विस्तारसँगै राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको देखिए पनि पछिल्लो इभी आयात विवादले नाकाको भन्सार प्रक्रिया थप निगरानी र परीक्षणको दायरामा आएको छ।
लेखकको बारेमा
प्रतिक्रिया
भर्खरै
-
नेप्से लगातार चौथो दिन घट्यो, कारोबार रकम ६ अर्ब ४४ करोड नाघ्यो
-
राहुघाटको २२० केभी स्विचयार्ड सञ्चालनमा, १२७.८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो
-
डेडिकेटेड र ट्रंक लाइन बक्यौता तत्काल असुल गर्न उनेपाका अध्यक्ष कुलमानको आग्रह
-
चार जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने सरकारको निर्णय
-
महाकाली सिँचाइ आयोजनामा कमाण्ड क्षेत्र विस्तार गर्ने तयारी
-
सुन र चाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ बजारमा किनबेच ?